रमझमबुधबार, आषाढ ४, २०७१
महिलाका परम्परागत ब्याण्ड
पाटन सतुङ्गल बाँसुरी खलः भसाटोल–८ की सुनकुमारी श्रेष्ठले आफ्नो समूहमा २० जना महिलाको समूहले तीन वर्षदेखि पुर्ख्यौली परम्परा धानिआएको बताइन्।
“हामीमध्ये १७ जनाले बाँसुरी र तीन जना खिः बजाउँछौं”, सुनकुमारीले भनिन्।
यी २० चेलीले गुरु सन्तबहादुर र कुलनारायण महर्जनसँग खिः तथा देवकुमार र हरि महर्जनसँग बाँसुरी बजाउन सिकेका हुन्।
बाँसुरीभन्दा खिः बजाउन कठिन हुन्छ। खिः बजाउँदा पैतालादेखि तालुसम्म पसिना आउने समूहकी सानु महर्जनले बताइन्। उनको अनुभवमा, शुरुमा बाजा बजाउन जति कठिन भयो, समाजमा मान्यता पाउन त्यत्ति नै गाह्रो।
“शुरुमा त समूह संचालन गर्न पनि गाह्रो थियो”, सानु भन्छिन्, “गुरुहरुले समूहका विवाहित सदस्यहरुको घर–घर गएर उनीहरुका श्रीमान्सँग अनुमति लिनुपरेको थियो।”
अहिले उनीहरु समाजमा स्थापित सांस्कृतिक समूह भइसकेका छन्। सबैतिर स्वागत–सम्मान हुन्छ। कार्यक्रमको समय अनुसार पारिश्रमिक पनि राम्रो पाउँछन्।
न्यूनतम रु.१० हजार लिने यो समूहले त्यसमध्येको ३० प्रतिशत कोषमा राखेर बाँकी बराबर बाँड्छन्। कोषको रकमले नयाँ बाजा किन्ने र पुरानो मर्मत गर्ने काम हुन्छ। “देख्दा सानो भए पनि एउटै बाँसुरीलाई रु.१७०० पर्छ”, सुनकुमारी भन्छिन्।
समूहमा २० देखि ४५ वर्षसम्मका महिला छन्। बीबीएस पढ्दै गरेकी कान्छी सदस्य रफिया नकर्मी यो समूहमा आवद्ध भएर सांस्कृतिक संगीतिक ‘ब्याण्ड’ मा काम गर्न पाउँदा आफू गौरवान्वित भएको बताउँछिन्।