ब्लगबिहीबार, आषाढ ५, २०७१
तातो तावा, तराई
पत्रकार किशोर नेपालले २०३४ सालमा सुर्खेत शहरमा पूर्वाधार निर्माण शुरू हुँदाताकाको रिपोर्टिङ अनुभव आफ्नो संस्मरण मेरो समय मा समेटेका छन्। त्यो किताबमा सुर्खेत क्षेत्र नगर विकास समितिले घर बनाउन लागू गरेको मापदण्डको अंश पढेपछि मैले तातो तावा झैं बनेका मधेशका बस्ती सम्झिएँ।
भित्री मधेशमा पर्ने विशाल सुर्खेत उपत्यका यतिवेला मधेशका अरू शहरभन्दा बढी तातेको छ। पाका पत्रकार नेपालले स्लेट र खरलाई टीनको तुलनामा ‘महँगा र दुर्लभ’ भने पनि ती सामग्रीको महत्व वेग्लै छ। त्यही कुरालाई ध्यानमा राखेर नगर विकासले मापदण्ड बनाएको सजिलै बुझन सकिन्छ।
शीतल सकिएको शहर
उहिलेको मधेश गर्मी छल्न साँच्चै सिपालु थियो। बस्तीपिच्छेका ठूल्ठूला बगैंचा, चौतारा, पार्टी–पौवा र धर्मशालाले स्थानीयलाई मात्र हैन, बटुवा र यात्रीहरूलाई पनि सहज बनाउँथ्यो। घर पनि गर्मी छल्न सहज हुने गरी बनाइन्थ्यो। माटोको भुईं, बाँसको टाटीमा गोबर, भुस र माटो लिपिएका भित्ता, काठका तला र टायल वा खरको छानाले घरलाई शीतल बनाउँथ्यो।
आजकाल यस्तो मौलिक वास्तु पूरै खारेजमा परेको छ। व्यावसायिक र संस्थागत प्रयोजनका लागि सिमेन्ट र छडका बहुतले भवन आवश्यक होलान्, तर आवासीय घरहरूमा समेत मौलिक प्रविधि र स्थानीय सामग्रीको प्रयोग छाड्नु गलत हो। आधुनिक निर्माण पद्धतिलाई मौलिक वास्तुकलासँग नजोड्दा तराईका घर गर्मीमा हीटर झैं ताता र जाडोमा हिउँ झैं चिसा भएका छन्।
मधेशका नगरोन्मुख क्षेत्रमा बगानहरू मासेर शहरीकरण गरिएकोले ती ठाउँहरू छहारीविहीन भएका छन्। चितवन, बारा, कपिलवस्तु, रौतहट आदि जिल्लाका अधिकांश शहरमा सडक विस्तार र विकास निर्माणका नाममा रूख काटेर उजाड पारिएको छ। सम्पदाका रूपमा रहेका पोखरी, बगैंचा, ऐतिहासिक स्थल र अरू सार्वजनिक स्थल हडप्ने प्रवृत्ति बढेको छ। पत्रपत्रिकामा आएका समाचार अनुसार, हपहपी तातेको चितवनको नारायणगढमा एउटा पनि सार्वजनिक बगैंचा छैन।
शीतल बनाउने उपाय
खनिज तेलका धनी खाडी मुलुकहरूले घर, बस, स्कूल, अस्पताल, व्यावसायिक भवन र रंगशालादेखि घोडाको तबेलासम्ममा एसी जोडेर जनजीवन सहज बनाएका छन्। हामी जस्ता पंखा चलाएर हावा खान सक्ने आर्थिक हैसियतमा नभएकाहरूले भने केही सहज उपाय अपनाएरै घर र बस्तीलाई शीतल बनाउने हो। पहिलो र मुख्य उपाय बस्तीलाई कंक्रिटको जंगल बन्नबाट बचाउनु हो। त्यसका लागि सडकको दायाँ–बायाँ प्रशस्त रूख–बिरुवा रोप्नुपर्यो र भएका रूख–बिरुवाको संरक्षण गर्नुपर्यो।
घर बनाउँदा परम्परागत प्रविधिमा अधिकतम जोड दिनुपर्छ। आधुनिक शैलीको घर बनाउँदा पनि तलाको उचाइ बढी राख्ने, क्रस भेन्टिलेसन हुने गरी कोठाहरू बनाउने, झयाल ठूल्ठूलो राख्ने, दक्षिणपट्टि भर्याङ, स्टोर, शौचालय आदि बनाएर शयनकक्ष र बैठक उत्तरतिर राख्ने जस्ता सहज उपाय अपनाउन सकिन्छ। सिमेन्ट र छडकै घरलाई पनि माटोले लिपेर मौलिक, शीतल र सुन्दर बनाउन सकिन्छ।
मधेशलाई यतिवेला लूले समेत लपेटेको छ। लूबाट स्थानीयले ज्यान गुमाएका खबर नियमित जस्तो बन्न थालेका छन्। जनजीवन थप कष्टकर बन्न नदिन मधेशले आफ्नो समृद्ध निर्माण संस्कृतिलाई सम्झनुपर्छ। तातो तावा जस्तै बनेको मधेशलाई फेरि शीतल बनाउन आफ्नो समृद्ध निर्माण संस्कृति बचाउनेहरूको जय होस्।
साप्ताहिक खबरपत्रिका हिमालबाट