रिपोर्टशुक्रबार, आषाढ ६, २०७१
मिलेमतोमा जडीबुटी तस्करी
-तुफान न्यौपाने, नेपालगञ्ज

जिल्ला वन कार्यालय, बझाङबाट निकासी फुकुवा भएका जडीबुटी छूटपुर्जी बनाई नेपालगञ्ज ल्याउँदै गर्दा बाँके प्रहरीले प्रतिबन्धित झ्याउ र छूटपुर्जी नलिएको जीवन्ती पन्चाङ जस्ता जडीबुटी फेला पारेको ट्रक। तस्वीरहरुः तुफान न्यौपाने
ज्ञान हर्बल प्रोडक्ट्स प्रालि बाँकेका प्रतिनिधि उत्तमप्रसाद कलौनी, लेकगाउँ―४ बझाङका वसन्त थापा र घण्टेश्वरी―४ डोटीका छवेस मल्लले ११ जेठ २०७१ मा जिल्ला वन कार्यालय बझाङबाट निकासी फुकुवा भएका जडीबुटी रिट्ठो, वनसूडो, सेतकचिनी, चुत्रो बोक्रा, सुगन्धवाल, पावन बोक्रा, तेजपातको छूटपुर्जी बनाए। तिनलाई आठ वटा ट्रकमा नेपालगञ्ज ल्याउने क्रममा बाँके प्रहरीले बर्दियाको सीमामा पर्ने मानखोलाबाट नियन्त्रणमा लिएर जाँचबुझ् गर्दा प्रतिबन्धित झ्याउ र छूटपुर्जी नलिएको जीवन्ती पन्चाङ जस्ता जडीबुटी पनि फेला पर्यो।
वन कार्यालय रोल्पाबाट चम्लानी फल, काउलो बोक्रा, बुकी फूल र पाषाणभेद जरा जस्ता फुकुवा भएका जडीबुटीको छूटपुर्जी लिएका रोल्पाली जडीबुटी तथा खाद्यान्न खरीद–बिक्री केन्द्र रोल्पाका प्रोप्राइटर लीलाबहादुर थापाको ट्रकमा पनि प्रहरीले त्यसैगरी प्रतिबन्धित जडीबुटी भेट्टायो। सुराकीको सूचना पाएर प्रहरीले चेकजाँच गर्दा यसरी नै कैयौं पटक प्रतिबन्धित जडीबुटी फेला पार्ने गरेको छ।
‘सेटिङ’ मा तस्करी
सवारी साधनमा जडीबुटी लोड गर्नुअघि वन कार्यालयका कर्मचारीले चेकजाँच तथा नापतौल गरेपछि मुचुल्का प्रतिवेदन बनाएर सिल गर्छन्। वनले छूटपुर्जी दिने त्यसैको आधारमा हो। त्यसअघि पनि जडीबुटी संकलन गर्ने क्षेत्र खुलाएर वनसँग संकलन पुर्जी लिनुपर्छ। सामुदायिक वन भित्रबाट संकलन गर्न समितिबाट अनुमति लिई राजस्व पनि बुझाउनुपर्छ। तर, प्रतिबन्धित जडीबुटी निकासी गर्नेहरूले भने वनका कर्मचारीलाई मिलाएर संकलन र निकासीका सबै कागजी प्रक्रिया पुर्याउने गरेका छन्।
उत्तमप्रसाद कलौनीलाई जिल्ला वन कार्यालय बझाङले चलानी नम्बर १०३६ को पत्रबाट सेतकचिनी दुई हजार किलो चुत्रो बोक्रा दुई हजार ५०० किलो; चलानी नम्बर १०३७ को पत्रबाट सुगन्धवाल ६०० किलो तथा वसन्त थापालाई चलानी नम्बर १०३५ को पत्रबाट पावन बोक्रा, तेजपात र पाषाणभेद सबै चार हजार ९०० किलोको दरले निकासी गर्न छूटपुर्जी दिएको थियो। यसैगरी, छवेस मल्ललाई चलानी नम्बर १०३८ को पत्रबाट रिट्ठो पाँच हजार, तेजपात तीन हजार, वनसूडो चार हजार ९०० र पाषाणभेद दुई हजार ५०० किलो निकासीका लागि छूटपुर्जी दिएको थियो।
उनीहरूले ना ३ ख ३१९४, ना ३ ख १०८, ना ३ ख ४४६३, ना ३ ख ६९०४, ना ३ ख ५४६२, ना ३ ख ६७१३, ना ३ ख ९२६२ र से १ ख ८२८ नम्बरका ट्रकमा जडीबुटी ल्याएका थिए। वनका कर्मचारीले कुन ट्रकमा कुन जडीबुटी छ भन्ने नखुलाई एकै ठाउँमा उल्लेख गरेका थिए।
प्रहरीले नियन्त्रणमा लिई हेर्दा ५४० वटा बोरामा १२ हजार ३३६ किलो झयाउ फेला पार्यो। त्यसबाहेक ती ट्रकमा छूटपुर्जीमा उल्लेख नभएका एक हजार ८९९ किलो जीवन्ती (४९ बोरा), ४५ किलो लोक्ता (७ बोरा), १४ किलो बज्रदन्ती (एक बोरा), १७ किलो कालादाना (एक बोरा), बोझो १५ किलो, अमला १६ किलो र ६२ किलो रैजपात (६ बोरा) फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सुशीलसिंह राठौर बताउँछन्।
जिल्ला वन कार्यालय रोल्पाले चलानी नम्बर १४७२ को पत्र मार्फत लीलाबहादुर थापालाई चम्लानी फल दुई हजार ५००, काउलो बोक्रा ५००, बुकीफूल ५०० र पाषाणभेद जरा ४०० किलो निकासीका लागि छूटपुर्जी दिएकोमा उनले ती जडीबुटी ल्याएको लु १ ख ५११४ नम्बरको ट्रक १८ जेठमा प्रहरीले बाँकेको गनापुरबाट नियन्त्रणमा लिंदा १७० किलो झयाउ (६ बोरा) र एकहजार ८२२ किलो जीवन्ती (४० बोरा) फेला पर्यो।
प्रहरीले १७ जेठ साँझ् बाँकेको पार्वतीपुरमा स्थानीय सलिम हलवाईको ना ३ ख ५०४१ नम्बरको ट्रक खानतलासी गर्दा दुई हजार ९०६ किलो झयाउ (११४ बोरा) भेटियो। हलुवाईसँग छूटपुर्जी पनि थिएन।
यसरी संकलनमा प्रतिबन्ध लगाइएका उच्च हिमाली क्षेत्रमा हुने झयाउ ठूलो परिमाणमा तराईमा आइपुग्नुले व्यापारीले मिलाउने सेटिङमा कर्मचारी र सुरक्षाकर्मी पनि संलग्न रहेको देखाउँछ। गाउँघरमा एक किलोको रु.५० पर्ने झयाउ संकलन गर्न व्यापारीले हिमाली क्षेत्रका बेरोजगार युवाहरूलाई लगाउने गरेका छन्। जुन, नेपालगञ्ज कटाएर भारतको रुपैडिहा पुर्याउँदा एक किलोको रु.४०० पर्छ। दक्षिण भारतमा मासुमा हाल्ने मसला बनाउन प्रयोग हुने झयाउबाट सुगन्धित अत्तर पनि बन्छ। मसला र अत्तर बनाउन नमिल्ने झयाउ पनि रङ बनाउन प्रयोग हुन्छ। झयाउ निकासीलाई वैधानिक बनाउन व्यापारीहरूले लबिङ पनि गरिरहेका छन्।
२६ पुस २०६७ मा राजपत्रमा सूचना निकालेर वन मन्त्रालयले एक महीनाका लागि झयाउ निकासी फुकुवा गरेको थियो। तर, प्रक्रिया मिलाउँदा व्यापारीले दुई दिनभन्दा बढी निकासी गर्ने समय पाएनन्। त्यो दुई दिनमा पनि १९७ टन ५ क्वीन्टल २८ किलो झयाउ भारत निकासी भयो। उद्योग वाणिज्य संघ नेपालगञ्जले दिएको उत्पत्तिको प्रमाणपत्रका आधारमा झयाउ निकासी गरिएको थियो। त्यत्रो झयाउ नेपालगञ्जका व्यापारीको गोदाममा कसरी पुग्यो भन्ने प्रश्न त्यतिवेलै उठे पनि कोही व्यापारी औपचारिक रूपमा बोल्दैनन्। त्यसबेला धेरै झयाउ लैजानेमा दुगड ग्रुप थियो। निकासी रोकिएको जडीबुटी वन मन्त्रालयले फुकुवा गर्नुले तस्करीको सञ्जालमा माथिसम्मकै संलग्नता देखाउँछ।

एउटा जडीबुटीको छूटपुर्जी लिई प्रतिबन्धित जडीबुटी बोकेको ट्रकलाई जिल्ला वन कार्यालय बझाङले चेकजाँच गरी 'उचित देखिएकोले' लाहाछाप लगाई दरपीठ गरिदिएको पत्र ।
जडीबुटीका एक व्यवसायी गत वर्ष पनि नेपालगञ्जबाट करीब ३०० टन झयाउ भारत निकासी भएको बताउँछन्। यो वर्ष पक्राउ परेका कारण व्यापारीहरूले झयाउको निकासी फुकुवा गराउन नसकेको उनको भनाइ छ। अहिले पनि केही व्यापारीले मध्य र सुदूरपश्चिमका पहाडमा कम्तीमा ४०―५० टनका दरले झयाउ संकलन गरेको र ‘सेटिङ’ मिल्ने प्रतीक्षा गरिरहेको उनी बताउँछन्।
दुगड ग्रुपको संलग्नता
मुलुकको प्रतिष्ठित व्यापारिक घराना केएल दुगड ग्रुप पनि प्रतिबन्धित जडीबुटी तस्करीमा संलग्न रहेको बाँकेको पार्वतीपुरमा उक्त ग्रुपको स्वामित्वमा रहेको ज्ञान हर्बल प्रोडक्ट्स प्रालि अवैध जडीबुटी ओसारपसारमा लाग्नुले देखाउँछ। ११ जेठ २०७१ मा पक्राउ परेको ट्रकमा जडीबुटी ल्याउने उत्तमप्रसाद कलौनी ज्ञान हर्बलका प्रतिनिधि हुन्। तर, केएल दुगड गु्रपको नेपालगञ्ज कार्यालयका प्रबन्धक प्रदीप छाजेडले कलौनीलाई ६०० किलो सुगन्धवाल मात्र ल्याउन भनेकोले अन्य जडीबुटीबारे थाहा नभएको बताए।

दुगड ग्रुपको ज्ञान हर्बल प्रालिले सेतकचिनी र चुत्रो बोक्रा जडीबुटी निकासीका लागि जिल्ला वन कार्यालय, बझाङबाट ल्याएको छूटपुर्जी। तर ज्ञानले प्रतिबन्धित झ्याउ ल्याएको भेटियो।
तर घटनाक्रम र प्राप्त कागजातले त्यसमा दुगड ग्रुपकै संलग्नता पुष्टि गर्छन्। जिल्ला वनले दुगड ग्रुपको ज्ञान हर्बलका लागि छूटपुर्जी दिएको पत्रमा चलानी नम्बर १०३६ र १०३७ प्रयोग गरेको छ। वन कार्यालय अन्तर्गतका चेकपोष्टले ट्रकका सिल जाँच गरी दरपीठ गर्दा पनि प्रतिबन्धित जडीबुटी बोकेको ट्रकमा ज्ञान हर्बलको जडीबुटी भएको नै प्रमाणित गरेका छन्।
चालक मात्रै फन्दामा
प्रहरीले १६ जेठमा प्रतिबन्धित जडीबुटी ओसारपसार गरिरहेको सूचनाका आधारमा ८ वटा ट्रक नियन्त्रणमा लिंदा तिनका चालकलाई मात्र समात्यो। उनीहरूलाई थप अनुसन्धान गर्न प्रहरीले जिल्ला वन कार्यालय बाँकेमा बुझ्ाएको छ। अदालतबाट म्याद थपेर उनीहरूको बयान लिइएको वन कार्यालयबाट खटिएका अनुसन्धान अधिकृत नारायण पार्छे बताउँछन्।
जिल्ला वन कार्यालय बझाङबाट जडीबुटी छूटपुर्जी लिएका ज्ञान हर्बलका कलौनी, डोटीका छवेस मल्ल र बझाङका वसन्त थापालाई प्रहरीले पक्राउ गरेन। जिल्ला प्रहरी प्रवक्ता एसपी राठौर वन मुद्दामा सबै अधिकार वनको भएकोले उसले माग्दा मात्र प्रहरीले सहयोग दिने बताउँछन्।
पक्राउ परेका सबै जडीबुटी कलौनीको व्यक्तिगत भएको देखाएर अहिले ज्ञान हर्बललाई बचाउने प्रयास थालिएको छ। कलौनी आफैं पनि सबै समानलाई सकारेर जिल्ला वन कार्यालय बाँकेमा हाजिर भएका छन्। छवेस र वसन्तले ल्याएको जडीबुटी पनि कलौनीले किनेको कागजपत्र मिलाइएको छ। बाँकेका एक जडीबुटी व्यवसायी भने सबै ट्रक ज्ञान हर्बलको भएको बताउँछन्।
जिल्ला वन कार्यालय बझाङका प्रमुख रमेश चन्द भने व्यापारीसँग मिलेमतो गरेको आशंकामा दुई जना रेन्जरमाथि छानबिन गरिएको बताउँछन्। बझाङका बुंगलसन्स्यु पोष्टमा कार्यरत रेन्जर हेमराज पाठक र झोता मालुमेला पोष्टका रेन्जर कमलकान्त खरेलमाथि छानबिन भइरहेको छ। जिल्ला वन प्रमुख चन्दले सहायक वन अधिकृत महेन्द्र चौधरीको नेतृत्वमा रेन्जर राजीव चौधरी सहितको अनुसन्धान टोली गठन गरिएको बताए पनि छूटपुर्जीमा उनकै हस्ताक्षर छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
