टिप्पणीशुक्रबार, आषाढ ६, २०७१
पुण्यवादी रक्तदान
कुनै पनि वेला जोसुकैलाई रगत चाहिन सक्छ। आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो। त्यसकारण, गत शनिबार मनाइएको रक्तदान दिवसको विशेष महत्व छ।
नेपालमा वर्षेनि करीब तीन लाख युनिट रगत चाहिन्छ, तर जहिल्यै अभावको समाचार आइरहेका हुन्छन्। अधिक रक्तस्रावका बिरामी, प्रसूति, मुटु–मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ। थालासेमिया, ल्यूकेमिया लगायतका रक्त क्यान्सर, हेमोफिलिया र रक्त अल्पता जस्ता समस्यामा तारन्तार रगत चाहिरहन्छ।
जटिल खालको शल्यक्रिया बढिरहेको नेपालमा रगतको अभाव हुँदा अपरेशन नै सारिरहनुपर्ने अवस्था छ। सडक दुर्घटना पनि अचाक्ली बढेका छन्। बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अपरेशन पनि पहिलेको तुलनामा बढेको छ। यी सबै अवस्थाले रगतको माग आकाशिएको छ।
रक्तदान विधि
आधुनिक चिकित्सा विज्ञानले धेरै प्रगति गरे पनि कृत्रिम तरीकाले रगत बनाउने सूत्र फेला पारेको छैन। त्यसैले, कसैलाई रगत चाहिएको वेला अर्को व्यक्तिले रक्तदान गर्नु एक मात्र विकल्प भएको छ। मानव शरीरमा पुरानो रगतको क्षय प्रक्रिया लगातार चलिरहने हुनाले खेर जाने रगत नियमित दान गर्दा केही पनि हानि हुँदैन।
ख्याल गर्नुपर्ने कुरा के मात्र हो भने, रक्तदान गर्नेको उमेर १८–६० वर्ष बीचमा र तौल ४५ किलोभन्दा माथि हुनुपर्छ। साथै मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय, यौनरोग तथा एचआईभी/एड्स नलागेको हुनुपर्छ। गर्भवती र महीनावारीको समयमा रक्तदान गर्नुहुँदैन। महिलाले सुत्केरी भएको ६ महीनापछि रक्तदान गर्नुपर्छ। रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन र दान अगाडि धुम्रपान गर्नुहुँदैन। रक्तदानको २४ घन्टा अघि र पछि रक्सी वा अन्य लागूपदार्थ सेवन गर्नुहुँदैन।
एक पटकमा ३५० मिलिलीटरभन्दा बढी रगत निकाल्नुहुँदैन। यति रगत शरीरले २४ घन्टामा स्वतः परिपूर्ति गर्छ। रक्तदानभन्दा तीन घन्टा अगाडि पोषिलो खाना खानुपर्छ। रगत दिइसकेपछि ताजा खाजा र जूस ख्वाउने राम्रो चलन छँदैछ। झोलिलो पौष्टिक खानेकुरा खाँदा रक्तदानपछि थकाइ पनि लाग्दैन। रक्तदानबाट रक्त अल्पता हुने वा एड्स सर्छ भन्ने कुरा पनि भ्रम मात्र हो। तीन महीनाको फरकमा रक्तदान गर्दा राम्रो हुन्छ।
रगतको प्रकार
रगतको वर्गीकरण ए, बी, ओ तथा एबी र पोजिटिभ तथा नेगेटिभ भनेर गरिएको हुन्छ। रेसस माकासस बाँदरको रगतमा पाइने तत्व भएको रक्त समूहलाई आरएच पोजिटिभ र नभएकालाई आरएच नेगेटिभ समूह भनिन्छ। अरू समूह रगतमा पाइने एन्टिजेनको आधारमा विभाजन गरिएको हुन्छ। कुनै एन्टिजेन नभएमा ओ, एन्टिजेन अनुसार ए, बी र दुवै प्रकारको एन्टिजेन भएमा एबी भनिन्छ।
३५ देखि ४० प्रतिशत नेपाली ए पोजिटिभ, २९ प्रतिशत ओ पोजिटिभ, २७ प्रतिशत बी पोजिटिभ र १० देखि १२ प्रतिशत एबी पोजिटिभ रक्त समूहका छन्। ९९.४ प्रतिशत नेपाली पोजिटिभ समूहको छन् भने ०.६ प्रतिशत (अहिले बढेर २ प्रतिशत) आरएच नेगेटिभ। अर्थात् हाल नेपालमा १०० व्यक्तिमा दुई जनाको रक्त समूह नेगेटिभ छ। यो समूह विरलै भएकोले फ्रेन्ड्स अफ आरएच नेगेटिभ ब्लड ग्रुप गठन गरिएको छ।
नेपाल रक्तसंचार केन्द्रले यो रगत समूहका व्यक्तिहरूको नाम, ठेगाना र सम्पर्क नम्बर लगायतको लगत राख्ने गरेकोले आवश्यक पर्दा मोबाइल वा एसएमएसबाट यो समूहको रगतको खोजी गर्न सकिन्छ। यसमा पनि ओ नेगेटिभ समूहको रगत पाउन निकै गाह्रो छ। ‘युनिभर्सल डोनर’ भनिने यस्तो समूहका व्यक्तिले आपतमा जुनसुकै रगत समूहको बिरामीलाई नजाँचिकनै रगत दिन सक्छन्। यस्तो अवस्थामा यौन तथा अन्य सरुवा रोग सर्ने सम्भावना भने रहन्छ।
_____________________________________________________________________________
रगत के हो?
रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्बनडाइअक्साइड, युरिया जस्ता विकार ओसार–पसार गर्छ। रगतको रातो रक्तकणले अक्सिजन तथा कार्बनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ। शारीरिक तौलको ७ प्रतिशत भाग रगत हुन्छ भने त्यसमध्ये ६० प्रतिशत भाग प्लाज्मा (९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्व) हुन्छ। रगतको बाँकी ४० प्रतिशत भागमा भने ठोस पदार्थ (रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स) हुन्छन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट