रमझमशनिबार, आषाढ ७, २०७१
अमेरिकामा ब्यस्त नेपाली गायिका
६ वर्षदेखि न्यूयोर्कको ज्याक्सन हाइटमा बस्दै आएकी उदयपुरकी पविता यहाँका नेपाली संघ–संस्थाले गर्ने कार्यक्रममा प्रमुख आकर्षण बन्ने गरेकी छन्।
अढाइ वर्षअघि न्यूयोर्कबाटै ‘तीजको सम्झना आयो बरिलै’ नामक एकल अल्बम निकालेकी उनी अहिले अर्को अल्बमको लागि आधुनिक गीतहरू रेकर्डिङ गरिरहेकी छन्। सात वटा गीतको यो अल्बमको म्युजिक ट्रयाक भने नेपालमै तयार गरिएको हो। “एक डेढ महीनामै अल्बम आउँदैछ”, उनले सुनाइन्।
पविता अमेरिका बसी–बसी नेपाली चलचित्रमा पनि गीत गाइरहेकी छन्। नेपालमा डेढ महीनाअघि प्रदर्शित चलचित्र ‘आधी बाटो’ को ‘मायाको डोलीमा…’ उनैको गीत हो, जुन निकै लोकप्रिय बन्यो।
न्यूयोर्क आउनासाथ विभिन्न नेपाली र भारतीय रेस्टुरेन्टमा साढे चार वर्ष गाएकी पविता अहिले व्यस्त कलाकारमा पर्छिन्– स्टेज कार्यक्रमको हिसाबले पनि।
उनी हरेक साता कहिले भर्जिनिया र बाल्टिमोर त कहिले कोलोराडो र मिचिगन लगायतका शहरमा पुगिरहन्छिन्।
दुई वर्षअघि उनी यूरोपको डेढ महीने ‘म्युजिकल टुर’ मा थिइन्। “विदेशमा नेपाली गीत गाएर अडिन सकेकी छु”, पविता भन्छिन्, “खुशी छु।”
१० कक्षामा पढ्दा सगरमाथा अञ्चलस्तरीय गायन प्रतियोगितामा प्रथम बनेर काठमाडौंमा २०५८ बाट गुरुदेव कामतसँग औपचारिक संगीत शिक्षा लिएपछि उनको कलायात्रा शुरु भएको थियो।
रेडियो नेपालमा भ्वाइस टेष्ट पास गरेकी पविताले अमेरिका आउनुअघि दुई दर्जन गीत रेकर्ड गराएकी थिइन्। बिहेपछि गायनमा पारिवारिक बन्देज भए पनि अमेरिकामा यही विधा काम लागेको उनले बताइन्।
ङिमा पाख्रिन न्यूयोर्क, अमेरिका