रमझमशनिबार, आषाढ ७, २०७१
तेरियाले जितिन् डिआईडी लिटल मास्टर्सको उपाधि
रुपन्देही रुद्रपुरकी ११ वर्षीया बालिका तेरिया फौजा मगरले भारतीय टेलिभिजनको ‘रियालिटी शो’ को फाइनलमा भारतकै नेपाली भाषी अनुष्का क्षेत्री, हार्दिक रुपारेल र सद्विन शेट्टीलाई पछि पार्दै शिल्ड, भारु. १० लाख र अन्य उपहारहरु प्राप्त गरेकी छन् ।
भारत पूणेको बलेवाडी स्पोर्टस कम्पेल्क्समा आयोजित ग्राण्ड फिनालेमा विजेता घोषणा भएपछि तेरियाले आफू अत्यन्तै खुशी भएको बताइन् । “दर्शक र मास्टरहरु आफूप्रति निकै सहयोगी हुनुभयो, मेरो प्रस्तुतिलाई सबैले निकै मन पराए” तेरियाले भनिन् ।
प्रतियोगितामा उनलाई नृत्य प्रशिक्षण दिइरहेका स्किपर ओमकार सिन्देले तेरियालाई सबै प्रकारको नृत्यमा पोख्त बनाउन आफूले प्रयास गरेको र उनी बहुआयामिक नृत्यांगना भएको बताए ।
बालबालिकाहरुको डान्स रियालिटी शोको फाइनलमा भारतीय अभिनेता वरुण धवनले पनि नृत्य प्रस्तुत गरेका थिए । शोका ग्राण्ड मास्टर मिथुन चक्रवर्ती, निर्णायकहरु गीता कपुर र अहमद खानले संयुक्तरुपमा ट्रफी प्रदान गरेका थिए ।
आफ्नी छोरीको फाइनल प्रतियोगिता हेर्न बैदेशिक रोजगारमा दुबई गएका तेरियाका बाबु पनि पुगेका थिए भने रुपन्देहीबाट उनका आफन्त र प्रशंसकहरुको समूह पनि पुणे पुगेको थियो ।
डिआइडीकी तेरिया जिटीभीको टोलीसँगै घरमा (तस्वीर सहित)
जीटीभीमा नेपाली छोरीको कमाल