रिपोर्टआइतबार, आषाढ ८, २०७१

उपनिर्वाचनः प्रतिष्ठाको लडाइँ

हिमालखबर

४ मंसीरमा भएको निर्वाचनमा दुई क्षेत्रबाट विजयी चार जना नेताले छाडेका क्षेत्रमा ८ असारमा भइरहेको उप–निर्वाचनको सरगर्मी खासै देखिएन । बर्खे झरी लागेकाले किसानहरू खेतीपातीको चटारोमा छन् । संविधानसभा–व्यवस्थापिका संसद्को समीकरणलाई पनि खासै असर नपार्ने भएकाले दलहरूले यसलाई प्रतिष्ठाको लडाइँभन्दा बढी मानेको देखिंदैन । यद्यपि, चारवटै निर्वाचन क्षेत्रमा प्रमुख दलका शीर्ष नेताहरूले चुनावी अभियानमा सहभागिता जनाएका छन् ।

गत निर्वाचनमा कांग्रेस सभापति सुशील कोइराला चितवन–४ र बाँके–२, वरिष्ठ नेता शेरबहादुर देउवा डडेल्धुरा र कैलाली–६, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं–२ र रौतहट–१ तथा उपाध्यक्ष वामदेव गौतम प्युठान–१ र बर्दिया–१ बाट निर्वाचित भएकोमा कोइरालाले चितवन–४, नेपालले काठमाडौं–२, गौतमले बर्दिया–१ र देउवाले कैलाली–६ मा छाडेका थिए । ती क्षेत्रमा विद्युतीय मतदान (इलेक्ट्रोनिक भोटिङ) भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

संविधानसभा सदस्यका लागि उप–निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–४ मा मतदान गर्दै मतदाता । तस्वीरः सविता श्रेष्ठ

२०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–१ मा प्रयोग भएको विद्युतीय मेशीन राजधानी बाहिर पहिलो पटक प्रयोग हुँदैछ । तर, सर्वोच्च अदालतको आदेश बमोजिम निर्वाचन आयोगले यो निर्वाचनमा ‘नेगेटिभ भोटिङ’ (राइट टु रिजेक्ट) को व्यवस्था गर्नुपर्नेमा समय अपुग भएको भन्दै गरेन ।

प्रतिस्पर्धामा कांग्रेस–एमाले

कोइरालाले छाडेको चितवन–४ मा एक स्वतन्त्र सहित १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । एमालेले गत निर्वाचनमा उम्मेदवार रहेकी दिलकुमारी रावल (पार्वती) लाई नै उठाएको छ भने कांग्रेसले पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे र एमाओवादीले २०६४ मा समानुपातिकतर्फ सभासद् रहेका खुसीराम पाख्रिनलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले आफ्नो गढ मान्दै आएको ७ गाविस र भरतपुर नगरपालिकाका ५ वडा रहेको यो क्षेत्रमा कांग्रेस र एमाले दुवैले जित्ने दाबी गरेका छन् । गत निर्वाचनमा कांग्रेस सभापति कोइरालाले २० हजार ७६० मत ल्याएर विजयी भएका थिए भने एमाओवादीका चित्रबहादुर श्रेष्ठले १० हजार ७३९ र एमालेकी रावलले १० हजार ६० मत पाएका थिए । तर, यो पटक घिमिरे र रावलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गत निर्वाचनपछि थपिएका ५ हजार ६०६ गरी ६५ हजार २९९ मतदाता रहेको यो क्षेत्रमा ३१ स्थानका ८१ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

नेपालले छाडेको काठमाडौं–२ मा एमाओवादीले गत निर्वाचनकै उम्मेदवार लीलामणि पोखरेललाई उठाएको छ भने एमालेले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ र कांग्रेसले दीपक कुईंकेललाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा नेपाल २१ हजार ७४८ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसकी प्रतिमा गौतमले १२ हजार ४७५ र एमाओवादीका पोखरेलले ७ हजार १५४ मत ल्याएका थिए । तीनै जना उम्मेदवारले आफूले जित्ने दाबी गरे पनि मुख्य प्रतिस्पर्धा श्रेष्ठ र कुईंकेलबीचमा हुने देखिन्छ ।

देउवाले छाडेको कैलाली–६ मा एमालेले गत निर्वाचनकै उम्मेदवार महेश्वर पाठकलाई उठाएको छ भने कांग्रेसले पुष्करनाथ ओझा र एमाओवादीले सुन्दरराज रेग्मीलाई उम्मेदवार बनाएको छ । थारू समुदायको उल्लेख्य संख्या रहेको यो क्षेत्रमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का लक्ष्मण थारू र राप्रपा नेपालका राजेश भण्डारीको पनि प्रभाव देखिन्छ । तर, मुख्य प्रतिस्पर्धा ओझा र पाठककै बीचमा हुनेछ । धनगढी नगरपालिकासहित दुई गाविस उर्मा र फूलबारी रहेको यो क्षेत्रमा ६१ हजार ८१७ मतदाता छन् । गत निर्वाचनमा यहाँबाट देउवा १६ हजार ४८९ मत ल्याएर विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी एमालेका पाठकले ८ हजार ५६३ मत पाएका थिए ।

गौतमले छाडेको बर्दिया–१ मा एमाओवादीले गत निर्वाचनकै उम्मेदवार भुवनकुमार थारूलाई उठाएको छ भने एमालेले श्याम ढकाल र कांग्रेसले सोदे बिष्टलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा गौतम १८ हजार ३४७ मत ल्याएर विजयी हुँदा एमाओवादीका थारूले ११ हजार ५२८ र कांग्रेसका भुवनेश्वर चौधरीले ८ हजार ५९८ मत ल्याएका थिए । थारू समुदायको उल्लेख्य संख्या रहेको यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । थारूलाई ३० फागुन २०६० मा बर्दियाको कालिका—४ मुनालबस्तीका नारायण सापकोटा र डिलबहादुर खड्कालाई घरबाट अपहरण गरी हत्या गरेको आरोप छ । उनी विरुद्धको जाहेरी प्रहरीले दर्ता नगरेपछि मृतक खड्काकी पत्नी लक्ष्मीले पुनरावेदन अदालत नेपालगञ्जमा रीट दायर गरेकी छन् ।

सविता श्रेष्ठ चितवन, तुफान न्यौपाने नेपालगञ्ज, बच्चु विक धनगढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>