थप समाचारआइतबार, आषाढ ८, २०७१
बैतडी–दार्चुला सडक खुल्यो
बैतडी गोकुलेश्वरको बाँगाबगडमा पहिरो खसेर ५० मिटर सडकखण्ड पुरिँदा सडक अवरुद्ध भएको थियो पनि तीन वटा सवारी साधन पुरिएका थिए ।
प्रहरीको सहयोगमा स्काभेटरको प्रयोग गरेर सडक सुचारु गरिए पनि पहिरो बगिरहेकाले अझै पानी पर्नेबित्तिकै सडक अवरुद्ध हुने खतरा कायमै रहेको छ ।
यातायात सुचारु भएपछि तराईका जिल्लाबाट दार्चुला जाने तथा दार्चुलाबाट बैतडी, डडेल्धुरालगायत तराईका लागि हिँडेका यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
सडकमा गुड्दै गरेका अवस्थामा पहिरोमा फसेर आधा पुरिएका तीन वटा सवारी साधन निकालिसकिएको छ ।
गोकुलेश्वरबाट बैतडी हिँडेको म१ख ४३० जिप तथा दार्चुलाबाट तराईका लागि हिँडेका ग१ज ५१७५ र म१ख ५३३ नम्बरको मिनीटाटा पुरिएको बैतडीका प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए ।
बैतडी–दार्चुला सडकको गोकुलेश्वरस्थित बाँगाबगडमा ५० मिटरजति सडक माथिबाट वर्षौंदेखि पहिरो खस्ने गरेकाले हालसम्म एक दर्जन घर विस्थापित भएका छन् भने सयौँ रोपनी खेतीयोग्य जमिन पुरिएको छ ।
निरन्तर पहिरो खसिरहेका कारण चमेलिया नदीमा रहेको एउटा झोलुङ्गे पुलसमेत खतरामा रहेको र नदीको सतह पनि बढ्दै गएको स्थानीयवासीले बताएका छन् ।
———————————————————————————————————————————-
बैतडी दार्चुला सडक अवरुद्ध, दुईवटा गाडी पुरिए
बैतडी–दार्चुला राजमार्गको गोकुलेश्वर सडकखण्डमा पहिरो गएपछि ७ असार बेलुकादेखि अवरुद्ध भएको छ ।
बैतडी–दार्चुला सडकखण्डको गोकुलेश्वरस्थित बाँगाबगडमा ५० मिटरजति सडक पुरिएर यातायात अवरुद्ध भएको छ । पहिरोमा दुईवटा गाडी पुरिएका छन् ।
दार्चुलाबाट बैतडीका लागि हिँडेको जिप र तराईतर्फ जाँदै गरेको मिनीटाटा पहिरोमा पुरिएका हुन् । ती सवारी साधन सडकमा फसेको अवस्थामा पुरिएकाले मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।
पुरिएका सवारी साधनको नम्बर खुल्न नसकेको घटनास्थलमा उद्धारका लागि खटिएका प्रहरी जवान गोपाल भट्टले बताए ।
७ असार दिउँसोदेखि नै पहिरो जान थालेपछि सडक अवरुद्ध बनेको हो । अवरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन नम्बर ३ पाटनले सहयोग नगरेको प्रहरीले बताएको छ ।
प्रशासन र प्रहरीको सहयोगमा झुलाघाट सडकमा कार्यरत जेसिबी चालक बोलाएर गोकुलेश्वरतर्फ पठाइएकोले छिट्टै सडक खुलाउन काम थालिने बैतडीका प्रहरी निरीक्षक भरत शाहले बताए ।
सडक अवरुद्ध हुँदा दार्चुलाबाट तराईका लागि हिँडेका र बैतडीलगायत तराईबाट दार्चुला हिँडेका सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
