खेलकुदमंगलबार, आषाढ १०, २०७१

ब्राजिल क्यामरुनलाई हराउँदै नकआउट चरणमा

हिमालखबर

९ असार राति भएको विश्वकप फुटबल अन्तर्गत समूह–ए को र आफ्नो तेस्रो खेलमा ब्राजिलका स्टार खेलाडी नेयमारले खेलको १७ औं मिनटमा गोल गरे ।

२६ औं मिनटमा क्यामरुनका माटिपले गोल गरेर खेललाई बराबारीमा पुर्‍याएको केही बेरमै नेयमारले फेरि ३५ औं मिनटमा अर्को गोल गरेर टोलीलाई २–१ को अग्रता दिलाए ।

निकै तिव्र गतिमा खेलिएको रोमाञ्चक खेलमा ब्राजिलियन खेलाडी २२ वर्षीय नेयमार ‘हिरो’ सावित भए ।

ब्राजिलले यो विश्वकपमा अहिलेसम्म ७ गोल गरिसकेको छ भने ऊ विरुद्ध दुई गोलमात्रै भएको छ ।

यो खेलमा ब्राजिलका फ्रेडले ४९ औं मिनटमा गोल गरेर टोलीलाई ३–१ को अग्रता दिलाए भने ८४ औं मिनटमा फर्नाडिन्होले अर्को गोल थप्दा  ब्राजिलका प्रशंसकहरुको उत्साह चरममा पुग्यो ।

खेल समाप्त भएलगत्तै ब्राजिलियन प्रशंसकहरु त्यहाँको परम्परागत साम्बाको धुनमा नाच्न थालेका थिए । ब्राजिलको डिफेन्स अलि फितलो देखिए पनि उसले गरेको गोल बर्षाले त्यो सबै विर्साइदिएको छ ।

अब अर्को चरणको खेल ब्राजिलले चिलीसँग खेल्ने छ ।

१०० औं खेलमा नेयमारले गरे १०० औं गोल

तस्वीर: गेट्टी इमे

नेयमारले विश्वकप–२०१४ मा जम्मा ४ गोल गरेर अहिलेसम्मका ‘टप स्कोरर’ बनेका छन् । ब्राजिलको जीतमा उनको महत्वपूर्ण भूमिका छ ।

नेमारले अहिलेसम्म खेलेका ५२ अन्तर्राष्ट्रिय खेलमा ३५ गोल गरिसकेका छन् । ९ असारमा ब्राजिलमा भएको खेल विश्वकपमा ब्राजिलको १०० औं खेल थियो । क्यामरुन विरुद्ध हाइ स्कोरर नेयमारले गरेको दोस्रो गोल पनि यो विश्वकपको १०० औं गोल थियो ।

मेक्सिकोले क्रोएशियालाई हरायो

समूह–ए को आफ्नो तेस्रो म्याचमा मेक्सिकोले क्रोएशियालाई ३–१ ले हराउँदै अन्तिम १६ मा आफ्नो स्थान बनाएको छ ।

त्यसैगरी ब्राजिलले दुई जीत र एक ड्र बाट ७ अंक हासिल गरेर गोल औषतका आधारमा शीर्षमा रहँदै अर्को चरणमा स्थान बनाएको छ भने मेक्सिकोले पनि दुई जीत र एक ड्र का साथ ७ अंक हासिल गरेको छ ।

क्रोएशिया र मेक्सिको बीच अघिल्लो चरणमा पुग्नका लागि पहिलो हाफमा दुबै टिम बराबरीमा थिए ।

दोस्रो हाफमा मेक्सिकोले राम्रो प्रदर्शन गर्दै क्रोएशियालाई टिक्न दिएन । मेक्सिकोका लागि गुआरडाडो, राफेल मारक्वेज र हरनांडेजले गोल गरे भने क्रोएशियाका पेरिसिसले एकमात्र गोल गर्न सके ।

आखिरमा मेक्सिकोले क्रोएशियालाई ३–१ले हराउँदै अर्को चरणमा आफ्नो स्थान बनाएको छ । अब नकआउट चरणमा मेक्सिकोले नेदरल्याण्ड्सको सामना गर्ने छ ।

मेक्सिकोले अहिलेसम्म चार गोल गरेको छ भने ऊ विरुद्ध एक गोल भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...