थप समाचारमंगलबार, आषाढ १०, २०७१

एमाओवादीलगायत १२ उम्मेदवारको जमानत जफत

हिमालखबर

कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत (धरौटी) जफत हुने कानूनी व्यवस्था अनुसार कैलाली–६ का १२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

क्षेत्र नं ६ मा खसेको ३९ हजार ६६३ मतमध्ये सबै मत सदर भएकामा दश प्रतिशत अर्थात् तीन हजार ९६६ मत प्राप्त गर्न नसक्नेको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा जमानत जोगाउन नसक्ने प्रत्यासीमा फोरम लोकतान्त्रिकका लक्ष्मण थारु (३ हजार ५८९ मत), एमाओवादीका सुन्दरराज रेग्मी (१ हजार ७६६), थरुहट तराई पार्टीका भानुराम चौधरी (१ हजार २८८) लगायतका छन् ।

यसअघि ४ मंसीरमा भएको निर्वाचनमा क्षेन नं ६ बाट नै प्रत्यासी रहेका फोरम लोकतान्त्रिकका थारुले ४ हजार ४७३ मत र एमाओवादीकी प्रत्यासी लीला भण्डारीले ४ हजार ७६४ मत प्राप्त गरी धरौटी जोगाएका थिए ।

उपनिर्वाचनमा थरुहट तराई पार्टीका प्रत्यासी भानुराम चौधरी मंसीरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नं ३ बाट प्रत्यासी भई तेस्रो स्थानमा आएका थिए । उपनिर्वाचनमा एमाओवादी र फोरम लोकतान्त्रिकले अघिल्लो निर्वाचनभन्दा कम मत पाएका छन् ।

यसैगरी नेकपा मालेकी अम्बिका विष्ट (४०६ मत), सद्भावना पार्टीका मुनिन्द्र सिंह (१०३), राप्रपाका गङ्गाराम राना (३१९), राष्ट्रिय जनमोर्चाका सूर्यप्रकाश साउद (३६५), नेकपा संयुक्तकी डम्मरादेवी धानुक (१३३), सङ्घीय सद्भावनाका अर्जुनप्रसाद चौधरी (१२०), नेमकिपाका रमेशकुमार रावल (१०३), नेपाल कम्युनिस्ट पार्टीका हरिमोहन चौधरी (२१०) र सबैभन्दा कम ६१ मत पाएका नेपाल परिवार दलका रामप्रसाद चौधरीको पनि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उपनिर्वाचनमा १४ हजार ७८४ मत प्राप्त गरी विजयी भएका नेपाली कांग्रेसका पुष्करनाथ ओझाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश्वर पाठकले ११ हजार ९५९ मत प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा मतपरिणामका आधारमा पाँचौँ स्थानमा आएको राप्रपा नेपाल भने यसपालिको उपनिर्वाचनमा एमाओवादी र फोरम लोकतान्त्रिकलाई उछिन्दै तेस्रो स्थानमा आएको छ । राप्रपा नेपालका प्रत्यासी राजेश भण्डारीले ४ हजार ३६७ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>