अन्तर्वार्ता/विचारमंगलबार, आषाढ १०, २०७१

‘एक व्यवस्थापन, एक कार्यक्रमबाट सफल’

हिमालखबर

तपाईंलाई के कुराले सफलता दिलाइरहेको हो?

शिक्षामा मेरो संलग्नता भएको दुई दशक पूरा भएको छ भने प्रसादी एकेडेमी शुरु भएको १६ वर्ष। प्रसादीको भर्ना दर स्थिर छ। हामी विद्यार्थीमा पढ्ने बानी विकास गराउँछौं भनेर अभिभावकलाई विश्वस्त पार्छौं। अभिभावकले बुझाएको फर्म लिंदैनौं, विद्यार्थी आफैं आउनुपर्छ।

विद्यार्थी जिम्मा लिएपछि अध्ययनका लागि राम्रो वातावरण बनाउँछौं र पढ्ने संस्कार बसाउनेतिर लाग्छौं। एक व्यवस्थापन, एक कार्यक्रम प्रसादीको विशेषता हो। प्रसादीको एउटै व्यवस्थापन छ र प्लस टु मात्र पढाउँछ। उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षामा हरेक वर्ष उत्कृष्ट हुनुको कारण यही हो।

विद्यार्थी र अभिभावकले राम्रो कलेज कसरी छान्ने?

सबभन्दा पहिला कलेज कति पुरानो हो, संचालक को–को छन्, उनीहरूको लगानी पूर्ण रुपमा शिक्षामा छ कि अन्यत्र पनि छ भन्ने कुरा थाहा पाउनुपर्छ। घर नजिकको राम्रो कलेज छान्नु राम्रो निर्णय हुन्छ। प्रमाणपत्र तह ‘फेज आउट’ भएपछि गाउँ–गाउँमा उमावि खुलेका छन्। यो कुरालाई पनि ध्यानमा राखौं। पढ्नलाई शहरबजारै पुग्नुपर्छ भन्ने होइन।

निजी उमाविबीच अस्वस्थ प्रतिस्पर्धा छ भनिन्छ नि!

आफूले भर्ना लिएका विद्यार्थीहरूलाई सक्षम बनाउनु उमाविको दायित्व भएकाले स्तर वृद्धिमा प्रतिस्पर्धा हुनु राम्रो हो। तर, गुणस्तरमा नभई एसएलसी परीक्षामा उत्कृष्ट विद्यार्थीलाई अनेक प्रलोभनमा पारेर आफ्नो कलेजमा भर्ना गराएर तिनैलाई देखाउँदै अरु धेरै विद्यार्थी तान्ने अस्वस्थ प्रतिस्पर्धा भएकै हो।

निजी कलेज ज्यादै महँगा भए; संचालकहरूले व्यापारीकरण गरे भन्ने गुनासो छ नि?

व्यापारीकरण होइन, व्यवसायीकरण भएको छ। व्यापारमा मुनाफा मात्र हेरिन्छ, तर शिक्षामा सेवा पनि हुन्छ। मुलुकको शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको निजी क्षेत्रप्रति नीति निर्माताको ध्यान पुग्न भने सकेको छैन। सरकारी कलेजमा सरकारले राहत कोटाको व्यवस्था गरेको छ, निजीमा एउटा पनि छैन। सरकारले राहत कोटा दिए हामी न्यून शुल्कमा शिक्षा दिन सक्छौं। निजी कलेज चल्ने मुख्य स्रोत भनेकै विद्यार्थीबाट उठाएको शुल्कबाट हो। यो सन्दर्भमा निजी शैक्षिक संस्था व्यापारीकरणमा गयो भन्नु उपयुक्त हुँदैन।

दश जोड दुईको अहिलेको पाठ्यक्रममा सुधारको आवश्यकता देख्नुहुन्छ?

आजको कुरा भोलि पुरानो हुने हुनाले पाठ्यक्रममा समय अनुसार पुनरावलोकन गर्नुपर्छ। तर, सरकारी ढिलासुस्तीका कारण पाठ्यक्रम परिमार्जनमा अलमल भएको छ। सबभन्दा खट्केको कुरा, उच्च माध्यमिक शिक्षा परिषद्ले आफ्नै ‘टेक्स्ट बुक’ निकालेको छैन। परिषद्सँग पर्याप्त स्रोतसाधन छ, विज्ञहरू बोलाएर जतिसक्दो छिटो ‘टेक्स्ट बुक’ निकाल्नुपर्छ।

परीक्षाको विश्वसनीयतामाथि उठ्ने गरेको प्रश्नबारे के भन्नुहुन्छ?

परीक्षामा पहिलाभन्दा धेरै सुधार भएको छ। रिजल्ट भने समयमै हुनसकेको छैन र प्रश्नपत्र पनि पुरानै ढाँचाको छ। यसमा सुधार आवश्यक छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>