रिपोर्टबुधबार, आषाढ ११, २०७१

राम्रा टेन प्लस् टु छनोटका आधार

हिमालखबर

– रामजी दाहालसन्त गाहा मगर

२८ जेठमा प्रकाशित २०७० सालको एसएलसी परीक्षामा उत्तीर्ण १ लाख ७३ हजार ४३६ विद्यार्थी र तिनका अभिभावक राम्रा उच्च माध्यमिक विद्यालयको खोजीमा छन्। करीब साढे तीन हजार विकल्पबाट ‘राम्रा’ छान्न सजिलो भने छैन। किनभने, विद्यार्थी र अभिभावकलाई आफूतिर तान्न उमाविहरूले आकर्षक भवन, विगतका नतीजा लगायतको तामझाम देखाउने वेला पनि यही हो। त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्व उपकुलपति डा. कमलकृष्ण जोशी ठूला भवन, वातानुकूलित कक्षा, लिफ्टलाई नभई कलेजले कस्तो शिक्षा दिएको छ भन्ने आधारमा उमावि छनोट गर्न सल्लाह दिन्छन्।

त्रिविकै अर्का पूर्व उपकुलपति केदारभक्त माथेमा शिक्षक स्वयं कमजोर छन् भने त्यस्तो उमाविबाट स्तरीय शिक्षाको आशा गर्न नसकिने बताउँछन्। त्यसैले योग्य, अनुभवी र प्रतिबद्ध शिक्षकहरूले राम्रो शिक्षण विधि अपनाएको उमावि छान्नुपर्ने उनको सल्लाह छ। त्यस्ता उमावि कसरी चिन्ने त? यसको लागि त्यहाँ पढेका जेहेन्दार विद्यार्थी र तिनका अभिभावकसँग सोधीखोजी गर्नु सबभन्दा उपयुक्त बाटो हो। माथेमा भन्छन्, “कलेजका राम्रा नराम्रा पक्षबारे त्यहाँ पढिसकेका विद्यार्थी र तिनका अभिभावकलाई जति जानकारी अरू कसैलाई हुँदैन।”

शिक्षाविद् मनप्रसाद वाग्ले भरसक घर नजिकको, तडकभडक नगर्ने तर प्रयोगशाला, इमेल–इन्टरनेट, लाइब्रेरीको सुविधा भएको उमाविलाई प्राथमिकता दिनुपर्ने बताउँछन्। कक्षा १२ सम्म विद्यालय शिक्षा नै भएकाले पोशाक अनिवार्य भएको, विद्यार्थी अनुपस्थित हुँदा सोधखोज गर्ने र गृहकार्य गराउने उमाविलाई अन्यथा मान्न नहुने वाग्लेको धारणा छ। उच्च माध्यमिक शिक्षा परिषद् (उमाशिप) का पूर्व उपाध्यक्ष डा. उपेन्द्र कोइराला कलेज र पढ्ने विषय छान्दा लहैलहैमा लाग्न नहुने बताउँछन्। “सल्लाह सबैको लिने, तर निर्णय आफ्नै विवेकले गर्ने हो”, डा. कोइराला भन्छन्।

‘हेल्मेट’ को समस्या

पूर्णकालीन विषयगत शिक्षक नहुनु उमावि शिक्षामा देखिएको एउटा प्रमुख समस्या हो। एकाध बाहेक देशभरका उमाविहरू चारचौरास भ्याउने ‘हेल्मेट टीचर’ को भरमा छन्। जानकारहरू यसको सीधा असर विद्यार्थीको पढाइमा परेको बताउँछन्। ४५ मिनेटको पिरियड सकिन पाएको हुँदैन मोटरसाइकलमा दौडेर अर्को कलेजको कक्षा भ्याउन ‘हेल्मेट’ खोज्न थाल्ने यस्ता शिक्षकहरूलाई विद्यार्थीका जिज्ञासा शान्त पार्ने त कुरै छाडौं कुरा सुन्ने फुर्सदसम्म हुँदैन। उमाशिपका पूर्व उपाध्यक्ष कोइराला उमाविहरूले प्रचार गरेका प्रा.डा.हरू विज्ञापनमा राखिएका नाम मात्र हुन् कि साँच्चै पढाउँछन् भन्ने बुझेर मात्र भर्ना हुन सल्लाह दिन्छन्।

ओमेगा उच्च मावि एण्ड कलेज, कुमारीपाटी। तस्वीरहरुः बिक्रम राई

‘हेल्मेट’ हरूले पठनपाठन सम्बन्धी सामान्य तालिम समेत लिएका हुँदैनन्। जहिल्यै हतारमा हुने उनीहरूलाई उमाविहरूले कुनै वर्कशप वा सेमिनारमा सहभागी गराएको पनि पाइँदैन। अरू त अरू, उमाशिपले पनि शिक्षकहरूको निश्चित मापदण्ड बनाएको देखिंदैन। अर्कातिर, उमाविहरूले वर्षौंदेखि पढाइरहेका शिक्षकहरूलाई नियुक्तिपत्र दिएका छैनन्। त्रिविका पूर्व उपकुलपति माथेमा यसलाई उमाविहरूको ठूलो व्यवस्थापकीय कमजोरी भन्छन्। “यसले पनि ‘हेल्मेट’ लाई बढावा दिएको छ”, माथेमा भन्छन्।

शिक्षाविद् विष्णु कार्की भर्ना हुनुअघि कुन कलेजमा, कस्ता शिक्षकले, कति वर्षदेखि निरन्तर पढाइरहेका छन् भनेर बुझनुपर्ने बताउँछन्। कार्कीको भनाइमा, शिक्षकहरू बारम्बार फेरिइरहने कलेज राम्रो कोटिमा पर्दैन।

स्तरीयता मापनको आधार

नेपालमा वर्षभरिको पढाइको स्तर मापन गर्ने एक मात्र आधार विद्यार्थीले परीक्षामा पाएको अंक हो। यसकारण अधिकांश शिक्षण संस्थाहरूको पढाइ परीक्षाकेन्द्रित हुन्छ। शिक्षक–विद्यार्थी परीक्षामा कसरी धेरै नम्बर ल्याउने भन्ने ध्याउन्नमा लाग्छन्। परिणाम, विषयवस्तुको गहिरो ज्ञानभन्दा शिक्षकले बनाइदिएको नोट र बजारमा पाइने गेसपेपर महत्वपूर्ण बन्न पुग्छ। काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. सुरेशराज शर्मा परीक्षामा कसरी राम्रो अंक ल्याउने भन्ने ध्याउन्न आफैंमा समस्या भएको ठान्छन्। “विद्यार्थीको समग्र क्षमता अभिवृद्धिमा ध्यान दिने कलेज कमै छन्”, शर्मा भन्छन्, “अंकको महत्व कति बढेको छ भने, परीक्षामा नसोधिने कुरा पढाउँदै पढाइन्न।”

क्यानभास इन्टरनेशनल कलेज, बसुन्धरा।

त्रिविका पूर्व उपकुलपति माथेमा साँघुरो बनाइएको पाठ्यक्रममा शिक्षकहरूले परीक्षालाई मात्र मध्यनजर गरेर पढाउने गरेको बताउँछन्। यसरी पढाउने कलेजले ९८–९९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु मुश्किल छैन। विद्यार्थीले पनि राम्रै नम्बर ल्याउन सक्छन्, तर उनीहरूमा न विश्लेषणात्मक कौशल हुन्छ न त अरूको भनाइको खण्डन गरेर आफ्नो विचार राख्ने क्षमता। शिक्षाविद् डा. विद्यानाथ कोइराला विद्यार्थीलाई यसरी पढाइमा पास तर जीवनमा फेल हुने गरी पढाउनुलाई शैक्षिक संस्था, शिक्षा पद्धति र शिक्षकहरूको असफलता मान्छन्। पाठ्यपुस्तकका कुरालाई विद्यार्थीको जीवनसँग जोड्न सक्नुपर्ने बताउँदै कोइराला भन्छन्, “जसले विद्यार्थीलाई जिज्ञासु र तार्किक बनाउँछ, त्यही उमावि राम्रो हो।”

अहिलेको परीक्षा प्रणालीले विद्यार्थीको क्षमता मापन गर्न नसक्ने बताउने शिक्षाविद् धनञ्जय शर्मा यसमा आमूल सुधारको खाँचो देख्छन्। शर्माको बुझाइमा, अहिले शिक्षण संस्थाहरूले विद्यार्थीलाई सूचना मात्र दिएका छन्, जबकि स्तरीय शिक्षाको मूलभूत कुरा विद्यार्थीले सिकेको कुरा कसरी र कति व्यवहारमा उतार्न सकेका छन् भन्नेमा निहित छ। शर्मा भन्छन्, “परीक्षामा सोधिने प्रश्नपत्रमा त झ्न् कुनै सुधार गरिएको छैन।”

हुन पनि, दुई–तीन वर्षका प्रश्नपत्र जम्मा गरेर हेर्दा कुनै न कुनै दोहोरिएको पाइन्छ। यसले गर्दा विद्यार्थीहरू नयाँ कुराको जानकारी राख्नुमा भन्दा पुराना प्रश्नपत्र हल गरिएको सामग्रीमा केन्द्रित हुन्छन्। सिर्जनशीलतालाई भन्दा परीक्षालाई महत्व दिने शिक्षकहरू विद्यार्थीलाई त्यही खालको मद्दत गर्छन्। कारण, विद्यार्थी अनुत्तीर्ण हुँदा त्यसको पहिलो दोष विषय–शिक्षकमा जान्छ। अभिभावकको ध्यान पनि आफ्ना छोराछोरीले कुनै विषयमा कतिसम्म गहिरो जानकारी राखेका छन् भन्नेमा भन्दा परीक्षामा कति प्रतिशत अंक ल्याए भन्नेतिर केन्द्रित हुन्छ। ज्ञानको दायरा बढाउने प्रश्नपत्र नबनाउने परिपाटीका कारण कुनै पनि विषयमा विद्यार्थीले मौलिक जवाफ दिन पाउँदैनन्। परिणाम, विद्यार्थीको विश्लेषणात्मक क्षमता कमजोर बन्छ।

स्तरीयता, तर कसरी

‘स्तरीय शिक्षा’ हिजोआज हरेक शैक्षिक संस्थाको बिकाउ नारा भएको छ। उनीहरू स्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापनमा भने लागेका देखिंदैनन्। कतिसम्म भने, शिक्षा मन्त्रालय र उमाशिपले पनि शिक्षकको मापदण्ड नबनाउँदा स्नातकोत्तर उत्तीर्ण जो–कोहीले पढाएका छन्– दश जोड दुईमा। जबकि, माध्यमिक तहमा पढाउने शिक्षकले शिक्षक सेवा आयोगको परीक्षा दिएर आफूलाई योग्य प्रमाणित गर्नुपर्छ।

प्रसादी एकेडेमी, मानभवन।

स्तरीय शिक्षाको पहिलो शर्त शिक्षकलाई मान्ने त्रिविका पूर्व उपकुलपतिद्वय माथेमा र जोशी असल शिक्षक नभएका उमाविहरूले विद्यार्थीलाई स्तरीय शिक्षा दिनै नसक्ने बताउँछन्। उनीहरूको भनाइमा, अपरिपक्व शिक्षकले पढाएका विद्यार्थी ज्ञानले परिपक्व र सिर्जनात्मक हुन पाउँदैनन्। तर अहिलेका शिक्षकहरूले विद्यार्थीलाई टाट्नामा राखिदिएको घाँस खान बाध्य बनाएको बताउँछन् शिक्षा बीटका पत्रकार सुदर्शन घिमिरे। घिमिरे ‘घाँस ल्याइदिने होइन, विद्यार्थीलाई चर्न लगाउने’ शिक्षक योग्य हुने बताउँछन्।

दश जोड दुई शिक्षाले विद्यालय शिक्षा पूरा गरेर आएका विद्यार्थीलाई विश्वविद्यालय तहको शिक्षा लिन तयार र योग्य बनाउनुपर्छ। पाठ्यपुस्तकको ज्ञान विद्यार्थीको टाउकोमा राखिदिंदा त्यो उद्देश्य पूरा हुँदैन। ज्ञानको फराकिलो दायरासँगै विद्यार्थीमा सकारात्मक सोच विकास गराउनु पनि उमावि र त्यहाँका शिक्षकहरूको दायित्व हो। तर, उनीहरूले सकारात्मक सोचको विकास गराउन नसक्दा प्लस टुहरूबाट नेपालको स्रोत, साधन र सम्भावनाप्रति आशावादी हुन नसक्ने समूह उत्पादन भइरहेको छ, उमाविहरूबाट। शिक्षाविद् धनञ्जय शर्मा यस किसिमको सोचाइमा परिवर्तन ल्याउन पाठ्यक्रममा पनि सुधारको खाँचो देख्छन्।

बाहिरबाट आएका विद्यार्थी र अभिभावकले काठमाडौंका कुन कलेजमा कस्ता शिक्षक छन् र कलेजको वातावरण कस्तो छ भन्ने कुरा तत्काल थाहा नपाउन सक्छन्। आफ्ना छोराछोरी भर्ना गर्ने जतिसुकै हतार भए पनि अभिभावकहरूले सम्बन्धित कलेजमा पढेका विद्यार्थी र तिनका अभिभावकसँग बसेर कुरा गर्दा धेरै जानकारी पाउन सक्छन्। यसैगरी, कुन कलेज राम्रो भन्ने थाहा पाउन हिजोका दिनमा सम्बन्धित कलेजमा अध्ययन गरेका विद्यार्थी अहिले कहाँ, के गर्दैछन् भनेर पनि हेर्नुपर्छ।

अधिकांश शिक्षण संस्था पुरानै ढर्राको शिक्षण पद्धतिमा छन्। यो समयमा कक्षाकोठामा चक–डस्टर चलाउने स्कूल/कलेज काम नलाग्ने शिक्षाविद् कार्की बताउँछन्। यस्ता शैक्षिक संस्थाहरूले समय अनुसारको योग्यता नदिने एकोहोरो पढाइ गर्छन्। सैद्धान्तिकसँगै व्यावहारिक पढाइमा जोड दिने कार्की विद्यार्थीलाई अनुसन्धानका काममा सहभागी गराउने कलेजलाई राम्रो हुने बताउँछन्। विद्यार्थीमा आत्मविश्वासको विकासलाई महत्वपूर्ण पक्ष मान्ने अर्का शिक्षाविद् धनञ्जय शर्मा भन्छन्, “क्षमता केही कम भए पनि आत्मविश्वास भएका विद्यार्थी जीवनमा माथि पुग्छन्।”

शिक्षाविद्हरू कलेजको पढाइसँगै अतिरिक्त क्रियाकलाप जरूरी ठान्छन्। केयुका पूर्व उपकुलपति डा. शर्मा अतिरिक्त क्रियाकलापलाई पढाइसरह महत्व दिनुपर्ने बताउँछन्। हुन पनि टीममा सहभागीहरूको समन्वय बिना खेलकुद र गीत–संगीतमा सफलता हात लाग्दैन। “खेलको नियममा बस्नुपर्ने भएकोले यसले विद्यार्थीबीच मिलेर काम गर्नुपर्ने भावनाको विकास गराउँछ” डा. शर्मा भन्छन्, “यसबाट एकले अर्काको महत्व बुझने मौका पाउँछन्, जसले गर्दा भविष्यमा अघि बढ्न मद्दत पुर्‍याउँछ।”

व्यापारीकरण कि व्यवसायीकरण

पछिल्लो समय शैक्षिक क्षेत्रमा व्यापारिक लगानी विस्तार भएको छ। व्यापारीको उद्देश्य कुनै पनि क्षेत्रमा लगानी गरेपछि नाफा कमाउनु नै हुन्छ। भौतिक पूर्वाधारमा जोड दिएर विद्यार्थी आकर्षित गर्ने अधिकांश कलेज व्यापारिक उद्देश्यबाट संचालित छन्। त्यस्ता कलेज संचालकहरूबीच भवन लगायतका भौतिक सुविधा देखाएर विद्यार्थी तान्ने होडबाजी छ। कार्पेट, लिफ्ट, स्वीमिङ पुललाई कलेजको विशेषतामा राखेर विद्यार्थी तान्ने प्रवृत्तिले स्तरीय पठनपाठनलाई महत्व नदिने शिक्षाविद् डा. तीर्थ खनिया बताउँछन्।

लिटिल एन्जेल्स उमावि हात्तीवन, ललितपुर।

भौतिक पूर्वाधार प्रशस्त छ, तर शैक्षिक गुणस्तर छैन भने त्यसको कुनै अर्थ नहुने बताउने धनञ्जय शर्मा भौतिक पूर्वाधार कम भएका कलेजमा पनि स्तरीय पढाइ हुनसक्ने बताउँछन्। कतिपय संचालकहरू कलेज ‘पपुलर’ हुने बित्तिकै विद्यार्थी र अभिभावकका कुरा सुन्न तयार हुँदैनन्। उनीहरू ‘मन नपरे अर्कै कलेज जाऊ’ भन्न समेत पछि पर्दैनन्। भौतिक आकर्षणमा परेका अभिभावकहरू भने जसरी भए पनि तिनै कलेजमा छोराछोरी भर्ना गराउन लागिपर्छन्। यो प्रवृत्तिले व्यावसायिकताभन्दा व्यापारलाई प्रोत्साहित गर्ने केयुका पूर्व उपकुलपति डा. शर्मा बताउँछन्। शिक्षा क्षेत्रमा समर्पितहरूले चलाएका शिक्षण संस्थाहरू भने तुलनात्मक रूपमा व्यावसायिक देखिएका छन्।

सामान्यतया एउटा कक्षाकोठामा बढीमा ४० विद्यार्थी राख्न सकिन्छ, तर ३० जनालाई वास्तविक ‘साइज’ मानिन्छ। व्यापारिक किसिमको कलेज संचालकहरू भने जति विद्यार्थी आए पनि भर्ना लिन्छन्। कलेजका यस्ता कुरामा विद्यार्थी र अभिभावकले भर्ना हुनुअघि विचार पुर्‍याउनुपर्ने बताउँछन्, शिक्षाविद् डा. तीर्थ खनिया। उनको बुझाइमा, त्यस्तो वातावरण भएको कलेजका विद्यार्थीले घरमा आएर पनि अध्ययन गर्न सक्दैनन्।

प्रतिष्ठित व्यक्तिहरूले लगानी गरेका कलेजलाई स्तरीयतामा सम्झौता गर्न गाह्रो पर्छ। प्रसादी एकेडेमीका संस्थापक प्रिन्सिपल बिक्रम राई कलेज छान्दा त्यसको इतिहास पनि बुझनुपर्ने बताउँछन्। डा. खनिया राम्रो पृष्ठभूमि नभएका वा धेरै व्यवसायमा हात हालेका व्यक्तिहरूले लगानी गरेको कलेज रहेछ भने त्यसबारे पटक–पटक सोचेर मात्र निर्णय गर्न सुझाव दिन्छन्।

_________________________________________________________________________

१० विज्ञका नजरमा राम्रा विद्यालयका १० गुण

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>