टिप्पणीबुधबार, आषाढ ११, २०७१
एसएलसी पुस्ताको चुनौती
विद्यालयस्तरको पढाइ सकेपछि ‘के पढ्ने? कुन कलेजमा पढ्ने?’ भन्ने प्रश्न विद्यार्थी जीवनमा आउने सर्वाधिक ठूलो चुनौती हो। यस्तो वेला जसको कुरा सुन्यो त्यही ठीक जस्तो लाग्छ, जसले आफ्नो अनुभव सुनाउँछन् सोही अनुसार मन परिवर्तन हुन थाल्छ, जुन कलेज गयो त्यही उत्कृष्ट जस्तो लाग्छ। अब साथीभाइको कुरा सुन्ने कि आमाबुबाले भने अनुसार गर्ने?
एउटा शान्त र चिन्तनशील स्वभावको किशोरलाई बुबाआमा डाक्टर बनाउने इच्छा राख्छन्। अर्को चञ्चले र बलियो आत्मविश्वास भएकी किशोरीलाई पत्रकार बन्ने इच्छा छ, तर पत्रकारिता मन नपराउने आमाबाबु पछि ब्याङ्कर हुने व्यवस्थापन विषय पढ्नुपर्छ भन्छन्। उता साथीहरू ‘विज्ञान विषय पढेर गधा झैं बोझ् बोक्ने काम गर्नुहुन्न, मस्तीको विषय छान्नुपर्छ’ भन्छन्। सबैको विचार ठीक छ। कोही ब्याङ्क म्यानेजर, कोही स्टेजमा गीत गाउने कलाकार, कोही विल गेट्स त कोही चार्टर्ड एकाउन्टेन्ट बन्ने/बनाउने सपना देख्छन्।
कोही जे पढ्दा धेरै पैसा कमाउन सकिन्छ, त्यही विषय रोज्ने इच्छा राख्छन्। यस्तो दोधारे एवं संकटपूर्ण घडीको चुनौतीबाट सहज रूपमा पार पाउन ‘करिअर काउन्सिलिङ’ उपयोगी हुन्छ। यसले कसैको व्यक्तिगत अनुभव, इच्छा र चाहनालाई भन्दा विद्यार्थीमा अन्तरनिहित इच्छा, रुचि, स्वभाव र विशेष क्षमतालाई महत्व दिन्छ। तर, नेपालमा ‘करिअर काउन्सिलिङ’ को फाइदा उठाउने कोही देखिएका छैनन्।
हाम्रो समाज ‘डाक्टर अथवा इन्जिनियर नै बन्नुपर्छ’ भन्ने मनोरोगले ग्रस्त छ। यस्तो चाहना विद्यार्थीको भन्दा पनि समाज र परिवारको दबाबबाट निर्देशित हुन्छ। हाम्रा धेरैजसो अभिभावक ‘छोरा अथवा छोरी डाक्टर, इन्जिनियर पढ्दैछन्’ भन्न पाउँदा समाजमा प्रतिष्ठित भएको ठान्ने ‘म्यानिया’ बाट ग्रसित छन्। उनीहरूले आफ्नो दबाबमा यस्ता विषय पढ्ने केटाकेटीले कति स्ट्रेस, तनाव र डिप्रेसन भोग्नुपर्छ भन्ने कुरासँग मतलब राखेको देखिंदैन।
यसबाट देखिसकिएका उदाहरण हेरौं। काठमाडौंमा मेडिकल साइन्समा नाम निकाल्न नसकेपछि बंगलादेश पठाइएका एक किशोर ६ महीना नबित्दै डिप्रेसन भएर अहिले मनोचिकित्साको औषधि खाँदैछन्। आमाबुबाको कुरा काट्न नसकेर इन्जिनियरिङमा भर्ना भएका अर्का किशोर अहिले सुती मात्र रहन्छन्। अरुचिकर विषयका लोड खप्न नसक्दा गाँजा–चरेसको भर परेका विद्यार्थीको संख्या पनि उल्लेख्य छ। यसरी आमाबुबाले देखेका सपना त चकनाचूर भएकै छन्, त्योभन्दा डरलाग्दो कुरा, आफ्नो रुचि र क्षमताभन्दा बाहिरका विषयको शिकार भएका थुप्रै किशोरकिशोरीको भविष्य अँध्यारो भएको छ। जेनतेन +२ पास गरेर विदेशिनेहरूलाई पनि राम्रोको कोटिमा राखिन्छ।
नेपालमा मानसिक समस्यामा परेका किशोरकिशोरीको संख्या पत्याउनै नसकिने गरी बढेको छ। विद्यालयहरूमा परामर्शको व्यवस्था छैन, अभिभावकले परामर्शको महत्व बुझेका हुँदैनन्। न किशोरकिशोरीले समस्या पोख्न पाएका छन् न त सुन्ने व्यक्ति कोही छन्। यसरी दमित भएको सिङ्गो पुस्ताको समस्या एउटा विन्दुमा पुगेपछि भयावह रूपमा विस्फोटन हुनसक्नेतर्फ कसैको ध्यान गएको छैन।
विद्यालयस्तरमा उचित मनोवैज्ञानिक परामर्शको अवधारणालाई प्रयोगमा ल्याउन नसक्दा किशोरकिशोरी अन्योलपूर्ण भविष्यतिरको यात्रामा हेलिएको कुरा वास्तवमै गम्भीर छ। एसएलसीको अंकको आधारमा विषय छनोट गर्नेको व्यथा उनीहरूलाई मात्र थाहा छ। हाम्रा किशोरकिशोरीलाई समयमै उपयुक्त मार्गदर्शन गरेर यो समस्याबाट जोगाउन सम्बन्धित निकायहरू सक्रिय हुन ढिलो भइसकेको छ।
(पाठक मनोविद् हुन्।)
साप्ताहिक खबरपत्रिका हिमालबाट