अन्तर्वार्ता/विचारबिहीबार, आषाढ १२, २०७१
‘यसकारण माधव नेपाल’-रघु पन्त
राजनीतिमा अनेकौं सम्भावना र सान्दर्भिकता हुन्छ। ती सम्भावना, सान्दर्भिकता र आवश्यकताले व्यक्तिहरूको खोजी, भूमिका आवश्यक रहेको अनुभव र उनीहरूको नेतृत्वको माग गर्दछ। नेकपा एमालेको नवौं महाधिवेशनको सन्दर्भमा यस्तै भइरहेको छ।
माधवकुमार नेपाललाई पुनः एकपल्ट एमालेको नेतृत्व सुम्पने बहुसंख्यक कार्यकर्ताको चाहनाले उनको आवश्यकतालाई संकेत गर्छ। नेपालको सान्दर्भिकता एमालेमा अझै छ र उनको नेतृत्वमा एमाले सम्भावनाका थप ढोका उघारेर नयाँ उचाइमा जानेछ भन्ने आशा र अपेक्षा नेतृत्वमा पुगेको युवा पुस्ताले गरेको छ। यसले गिरिजाप्रसाद कोइरालाको देहावसानपछि समकालीन नेपाली राजनीतिमा नेपाल सबैभन्दा अग्लो राजनीतिक व्यक्तित्व बनेको देखाउँछ।
स्वीकार्य व्यक्तित्व
शेरबहादुर देउवा, सुशील कोइराला, पुष्पकमल दाहाल र बाबुराम भट्टराई जस्ता नेताहरू नेपाली राजनीतिमा सक्रिय रहे पनि उनीहरूको स्वीकार्यता नेपालको उचाइमा पुगेको छैन। तर, यो सत्य एमालेको केन्द्रीय कमिटीका कतिपय पदाधिकारीले नबुझनु वा बुझन नचाहनु विडम्बना हो।
नेपालले लामो समयको लगानी, सक्रियता र भूमिकाले यो उचाइ पाएका हुन्। उनको व्यक्तित्व निर्माणमा एमालेकै भूमिका छ। तर, नेपालको व्यक्तित्वलाई राष्ट्र र पार्टीको हितमा प्रयोग गर्नुको साटो नेतृत्वबाट पन्छाउने षड्यन्त्रकारी खेल सफल भयो भने एमालेलाई नै सबैभन्दा ठूलो घाटा हुनेछ। त्यसैले, नवौं महाधिवेशनमा नेपाल अध्यक्षमा निर्वाचित हुनु अत्यावश्यक छ।
भविष्यमा राजकीय नेतृत्वका लागि मात्र नभएर नेपाल र नेपालीको स्वाभिमान र राष्ट्रिय हितलाई सही र प्रभावकारी ढंगले प्रतिनिधित्व गर्न पनि एमालेमा सबैभन्दा प्रभावशाली र निर्णायक व्यक्तित्व नेपाल नै हुन्। त्यसैले, राष्ट्रले संकट परेको वेलामा परख गरेको यो व्यक्तित्वबारे एमाले पंक्तिले विचार गर्नुपर्छ।
संविधान बनेपछि हुने आम निर्वाचनमा एमाले र नेपाली कांग्रेसबीचमै मुख्य प्रतिस्पर्धा हुनेछ। आफ्नो अडान अनुसार प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन भयो भने एमालेले कसलाई प्रधानमन्त्रीमा अघि सार्नेछ? पुष्पकमल, बाबुराम, रामचन्द्र पौडेल वा शेरबहादुरसँग भिडाउन मिल्ने व्यक्तित्व नेपालबाहेक एमालेसँग अर्को हुने छैन। बरु, त्यसवेला नेपाललाई प्रधानमन्त्रीमा अघि सारेर दशौं महाधिवेशनअघि वा दशौं महाधिवेशनसम्ममा सर्वसम्मत रूपमा नयाँ व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुनेछ।
आगामी निर्वाचनमा एमालेले सरकार बनाउन वामपन्थी वा गैरवामपन्थी दलको समर्थन लिनुपर्दा पनि नेपाल नै सहज र स्वीकार्य हुन सक्नेछन्। एमालेमा त लामो राजनीतिक दौडमा टिकेका र अझै टिक्न सक्ने उनको खुबी देखिएकै छ। अब पनि एमालेको भविष्यलाई बलियो बनाउन, भावी नेतृत्व निर्माण र हस्तान्तरण गर्न पनि उनकै सहमति, सक्रियता र भूमिका महत्वपूर्ण हुनेछ।
इतिहास जनताले बनाउने भए पनि इतिहासका कालखण्डहरूमा व्यक्तिहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ। उनीहरूकै कारण घटना र परिस्थितिले नयाँ मोड र दिशा लिन्छ। एमालेको इतिहासमा पनि विभिन्न व्यक्तित्वहरूको महत्वपूर्ण भूमिका छ। पार्टी स्थापनादेखि आजसम्म सकारात्मक र महत्वपूर्ण भूमिका खेल्नेमा नेपाल महत्वपूर्ण हुन्। त्यसैले आगामी एक दशक पदमा नरहे पनि एमालेमा उनको भूमिका महत्वपूर्ण रहनेछ। तर, एक कार्यकाल उनलाई अध्यक्ष बनाउँदा नेतृत्व हस्तान्तरण सहज, पारदर्शी र दोस्रो पुस्तामा लैजान सजिलो हुनेछ। नेतृत्व हस्तान्तरणमा नेपालको संरक्षकत्व, सहयोग, समर्थन आवश्यक छ।
निरपेक्ष रूपले युवा भनेर मात्र हुँदैन। नेतृत्वका लागि योग्यता, क्षमता र नेतृत्वको गुण पनि चाहिन्छ। सानो कोटरी वा समूह बनाउने, आफ्ना आलोचकहरूप्रति वैरभाव राख्ने, फरक विचारहरूप्रति असहिष्णु हुने प्रवृत्ति भएकाहरू युवा भए पनि नेतृत्व गर्न सक्दैनन्। त्यसैले युवाहरूको योग्य टीम छानेर अघि बढाउन अभिभावक चाहिएको हो। त्यसका लागि नेपाल नै सबैभन्दा उपयुक्त छन्।
ओलीप्रति सदभाव कायम
आठौं महाधिवेशनमा अध्यक्षमा मैले पनि केपी ओलीलाई मत दिएको थिएँ र मत समेत मागेको थिएँ। मेरो मनमा अहिले पनि ओलीप्रति सम्मान र सद्भाव छ। सक्रिय रूपले एक कार्यकाल अध्यक्ष चलाउन सक्ने अवस्था हुन्थ्यो भने सम्भवतः अहिले पनि म ओलीकै पक्षमा उभिन्थें। तर, ओलीलाई अध्यक्ष बनाएर आफूले पार्टी चलाउने भनेर केही नेताले भन्नुले स्थितिलाई त्यता जान दिएन। दिल्लीको अस्पतालमा भेटेर आएपछि अध्यक्ष र उपाध्यक्षबाटै बैठकहरूमा ओलीलाई सक्रिय राजनीतिमा जीवन बिताउन गाह्रो रहेको भनाइ आएको थियो। संसदीय दलको नेता बनेपछि ओलीले भूमिका खेल्न नसकेको र बैठकमा नियमित उपस्थित हुन नसकेको हामीले देखेकै छौं। यस्तो अवस्थामा ओेलीलाई अध्यक्ष बनाउनु मानवीय दृष्टिले पनि उचित होइन।
एमालेमा ओलीको लामो भूमिका र योगदान छ। गुण र विशेषता पनि छन्। यसको उचित मूल्यांकन हुनै पर्छ। तर, व्यक्तिको स्वास्थ्य आफ्नो इच्छा र चाहनामा मात्र भर पर्दैन। ओलीको छिटो स्वास्थ्य लाभ होस् र जीवन दीर्घायु होस्। फेरि सक्रिय हुनसक्ने अवस्था बन्यो भने प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्छ। त्यसका लागि मात्रै नभएर राष्ट्रपति बनाउन समेत नेपालले भूमिका खेल्नुपर्छ भनेर मैले महाधिवेशनको सन्दर्भ आउनुअघि नै भनेको थिएँ।
वामदेव, झलनाथ र ओलीभन्दा नेपाल कान्छो तथा सक्रिय, गतिशील र संयोजनकारी छन्। पार्टीका नेताहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि उनलाई नै बढी थाहा छ। यो महाधिवेशनले शीर्ष र वरिष्ठ नेताहरूसँगै दोस्रो र तेस्रो पुस्ताका नेताहरूको पनि व्यवस्थापन गर्नुपर्ने छ। सही ढंगले व्यवस्थापन गर्न नसक्ने हो भने पार्टीलाई भावनात्मक रूपले सुदृढ र संगठित बनाउन सकिंदैन। नेपाल वा ओली जता लागेको भए पनि सबै एमालेका नेता र कार्यकर्ता नै हुन्। महाधिवेशनपछि उनीहरू सबैले उचित जिम्मेवारी र भूमिका पाउनै पर्छ।
एमालेको अध्यक्ष आर्थिक रूपले पारदर्शी, विवादहरूमा नमुछिएको, पार्टीभन्दा बाहिरका मानिसहरूले पनि सम्मान गर्न सक्ने, भ्रष्टाचार विरोधी र निष्कलंक व्यक्ति हुनुपर्छ। त्यसो भएमा पार्टीका कार्यकर्ताहरूको मनोबल उच्च बन्छ। माओवादीलाई शान्ति प्रक्रिया र संसद्मा ल्याउन, माओवादीका लडाकूहरूलाई सरकार मातहत ल्याउन, माओवादीको धम्की, त्रास र आतंकलाई निस्तेज पार्न, संयुक्त सरकार सफलतापूर्वक चलाउन र पार्टीको संगठनलाई निरन्तर गतिशील बनाउन नेपालको भूमिका निर्णायक रहँदै आएको छ।
पार्टीलाई सैद्धान्तिक–वैचारिक रूपले प्रखर बनाउने, विकृति, विसंगति विरुद्ध शुद्धीकरणको अभियान चलाउने र पार्टी पंक्तिलाई विभिन्न अभियान मार्फत निरन्तर गतिशील बनाउने काम नेपालकै नेतृत्वकालमा भएको थियो। जनताको बहुदलीय जनवादलाई कार्यक्रमसँगै सिद्धान्तको रूपमा सूत्रीकरण गर्न, मार्गदर्शक, विचारको रूपमा स्थापित गर्न र व्यवहारमा सिद्धान्तलाई गाँस्दै समृद्ध पार्न पनि नेपालकै भूमिका थियो।
आज जनताको बहुदलीय जनवादको समृद्ध व्याख्या, विश्लेषण र सूत्रीकरण हुनुमा नेपालले छैटौं र सातौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको महत्वपूर्ण योगदान छ। जनताको बहुदलीय जनवाद किन सिद्धान्त र मार्गदर्शक विचार हो तथा त्यसले कसरी पार्टीको कार्यनीति, कार्यदिशा, कार्यशैली र दैनन्दिन व्यवहारलाई निर्देशित गरिरहेको छ भन्ने स्पष्ट व्याख्या छैटौं महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदनले गरेको छ। तर यसको श्रेय उनलाई दिन कञ्जुस्याईं गर्नुको कारण भने अहिलेसम्म बुझिएको छैन।
नवौं महाधिवेशन एकता र सहमतिको महाधिवेशन बनोस् भन्ने चाहना एमालेका शुभेच्छुक र समर्थकले गरिरहेका छन्। नेताहरूले फराकिलो छाती र सन्तुलित दृष्टिकोण राख्ने हो तथा व्यक्तिगत आकांक्षा र पूर्वाग्रहलाई पन्छाउने हो भने यस्तो सम्भावना पनि छ।
कोही राष्ट्रपति, कोही प्रधानमन्त्री, कोही उपप्रधानमन्त्री र कोही पार्टी अध्यक्ष बन्न तयार हुने हो भने सबै प्रमुख नेताहरूको राजनीतिक व्यवस्थापन हुन सक्छ। चिची र पापा आफूलाई मात्रै भन्ने हो भने सहमति हुन गाह्रो पर्छ।
हामीले नेपाललाई आगामी आम निर्वाचनसम्मका लागि मात्र अध्यक्ष बन्न आग्रह गरेका थियौं। प्रधानमन्त्री, राष्ट्रपति वा संसदीय दलको नेताको जिम्मेवारी अरू नेताहरूलाई दिनुपर्छ भन्ने हाम्रो भनाइ थियो। अहिले पनि हाम्रो धारणा त्यही नै हो।
साप्ताहिक खबरपत्रिका हिमालबाट