थप समाचारबिहीबार, आषाढ १२, २०७१
एमाओवादी र अन्य दल मिलेर मोर्चा बनाउने
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको सात राजनीतिक दलको संयुक्त बैठकमा संविधानसभा र संविधानसभा बाहिर संयुक्त रुपमा सङ्घर्ष गर्ने र ‘जनपक्षीय संविधान’ निर्माणका लागि दबाब दिन सहमति भएको छ ।
उनीहरुले सङ्घीय गणतान्त्रिक मोर्चाका रुपमा आफ्ना गतिविधि अगाडि बढाउने र त्यसलाई देशव्यापी बनाउने निर्णयसमेत गरेका छन् ।
“पहिचानसहितको संविधान निर्माणका लागि सबै दल एकजुट भएर अगाडि बढ्ने निष्कर्ष आजको बैठकले निकालेको छ”, सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले भने, “वर्तमान संविधानसभाबाट जनपक्षीय संविधान बन्ने सम्भावना कम भएका कारण संयुक्त रुपमा अगाडि बढ्न र सबै पक्षलाई एकीकृत रुपमा अगाडि बढाउन सहमत भएका छाँै ।”
पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानको पक्षमा रहेको भनिए पनि केही दलले दोधारे चरित्र देखाएको भन्दै श्रेष्ठले प्रष्ट भएर नआउने अरु दललाई भने मोर्चामा समावेश नगराउने बताए ।
संविधानसभा र व्यवस्थापिका–संसद्मा प्रभावकारी भूमिका खेल्ने र ‘जनपक्षीय एजेन्डा’का पक्षमा जनपरिचालन गर्ने निर्णयसमेत गरेको मोर्चाले १८ असारमा अवधारणापत्र सार्वजनिक गर्ने जनाएको छ ।
बैठकमा एमाओवादी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी पार्टी, सद्भावना पार्टी नेपाल, तराई मधेश सद्भावना पार्टीलगायतका शीर्ष नेताहरुको सहभागिता थियो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
