खेलकुदबिहीबार, आषाढ १२, २०७१
सुआरेजलाई विश्वकपका ९ खेलमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा)को अनुशासन कमिटीले उरुग्वेका स्ट्राइकर सुआरेजलाई नौ खेलमा प्रतिबन्धको निर्णय गरेको हो । उनले चार महीनासम्म फूटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा पनि संलग्न हुन नपाउने फिफाले जनाएको छ ।
फिफाको प्रतिबन्धमा परेपछि सुआरेजले ब्राजिलमा जारी विश्वकप फूटबलको बाँकी खेलमा सहभागी हुन पाउने छैनन् । उनको टीम समूह चरण पार गरेर दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।
फिफाको आधिकारिक वेवसाइट फिफा डट कमले उल्लेख गरेको छ, “दोस्रो चरणको खेलअन्तर्गत कोलम्बियाविरुद्धको खेलदेखि लागू हुने गरी सुआरेजलाई विश्वकप फूटबलसँग सम्बन्धित ९ खेलमा प्रतिबन्ध लगाइएको छ ।”
फिफाका अनुसार उनले जारी विश्वकप र विश्वकप छनौटका ९ खेल खेल्न पाउने छैनन् । चार महीने प्रतिबन्धका कारणले उनले आउँदो वर्षको क्लब फूटबलका शुरुवाती खेलहरु पनि गुमाउने छन् । फिफाले उनलाई ८२ हजार यूरो पनि जरिवाना तिराउने भएको छ ।
समूह चरणको आफ्नो अन्तिम खेलमा उनले इटालीका जर्जिओ चिलिनीको काँधमा टोकेका थिए । यसअघि पनि क्लब फूटबलमा उनले विपक्षी खेलाडीलाई टोकेको कारण प्रतिबन्ध खेपिसकेका छन् ।