रिपोर्टशुक्रबार, आषाढ १३, २०७१

सीपमूलक शिक्षामा आकर्षण

हिमालखबर

-मीना शर्मा

देश–विदेश जहाँ पनि होटल म्यानेजमेन्टको बढ्दो महत्व बुझेकी काठमाडौंकी प्रतीक्षा गुरुङ्ग अहिले इन्टरनेसनल स्कूल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टमा कक्षा ११ मा पढ्दै छिन्। प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण उनी परिवार र आफन्तले पनि यो विषयलाई राम्रो मानेको बताउँछिन्। होटल म्यानेजमेन्टकै ११ कक्षाका विद्यार्थी साकार भट्टराई भन्छन्, “एसएलसीमा राम्रो अंक आयो कि डाक्टर, इन्जिनियर हुनुपर्छ भन्ने दबाब अब छैन।”

इन्टरनेसनल स्कूल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टमा कोठा सजावट गर्दै विद्यार्थी।

होटल म्यानेजमेन्ट पढेका आफन्तले विदेशमा राम्रो आम्दानी गरेको देखेका साजन महर्जन पनि यही विषय लिएर १२ कक्षामा पढ्दैछन्। उनी पढाइ सकिएलगत्तै कामका लागि विदेश जाने योजनामा छन्। सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञान बढी हुनाले होटल म्यानेजमेन्टको पढाइ जीवनोपयोगी हुनेमा उनी विश्वस्त छन्। “पढाइ सकिएपछि राम्रो आय हुने रोजगारी पाइयोस्, त्यही नै असल शिक्षा हो”, साजन भन्छन्, “त्यसका लागि अब मेडिकल डाक्टर वा इन्जिनियर नै हुनुपर्छ भन्ने छैन।”

हातमा सीप

अभिभावकले मेडिसिन पढाउने इच्छा गरे पनि रेदम दाहालले आफैं भविष्य विचार गरेर होटल म्यानेजमेन्ट रोजे। नेपालमा पढाइ सकेर केही समय विदेश गई त्यहाँको सीप ल्याएर पर्यटन क्षेत्रमा जम्ने योजनामा छन्, रेदम। नेपालको पर्यटन क्षेत्रमा राम्रै लगानी भइरहेकाले होटल म्यानेजमेन्ट पढ्नेको लागि अवसरको ढोका खुल्ने उनको बुझाइ छ।

सन् २००९ मा होटल म्यानेजमेन्टमा कक्षा १२ उत्तीर्ण रेजिना विष्ट अहिले होटल एभरेष्टमा कार्यरत छिन्। यसबीचमा स्नातक गरेकी उनले एक वर्ष होटल द्वारिकाज र ६ महीना मलेशियामा पनि काम गरिन्। यो विषयले उनलाई कहिल्यै बेरोजगार बनाएन। टुर्स एन्ड ट्राभल्स एजेन्सी सञ्चालक तथा होटल म्यानेजमेन्ट विषयका शिक्षक उत्तम न्यौपाने भन्छन्, “यो सीपमूलक शिक्षाको समय भएकोले होटल म्यानेजमेन्ट धेरैको रोजाइ बनेको छ।”

होटल म्यानेजमेन्ट पढेकाहरूले नेपाल र विदेशका होटलहरूमा रोजगारी पाएको उत्तम बताउँछन्। होटल म्यानेजमेन्ट पढेकाहरूको हातमा प्रमाणपत्रसँगै तात्तातै बिक्ने सीप हुने उनले बताए।

११ वर्षदेखि होटल म्यानेजमेन्ट पढाउँदै आएको काठमाडौंको इन्टरनेसनल स्कूल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टबाट अहिले ८०० भन्दा बढी विद्यार्थी उत्तीर्ण भइसकेका छन्। यहाँबाट निस्केका विद्यार्थी होटल, एयरलाइन्स, मार्केटिङ, उद्योग र पर्यटनका अरू क्षेत्रमा जमेको कलेजका प्रिन्सिपल संझना बस्न्यात बताउँछिन्। “पढाइ सकिएपछि कुनै एक क्षेत्रमा मात्र सीमित हुनु नपर्ने होटल म्यानेजमेन्टको विशेषता हो”, बस्न्यात भन्छिन्।

पढाइ सकिएपछि कुनै एक क्षेत्रमा मात्र सीमित हुनु नपर्ने होटल म्यानेजमेन्टको विशेषता हो। संझना बस्न्यात, प्रिन्सिपल इन्टरनेसनल स्कूल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट

अहिले मध्यम वर्गको रोजाइको विषय बनेको होटल म्यानेजमेन्टको दुईवर्षे कोर्ष पूरा गर्न विद्यार्थीले रु.१ लाख ७० हजार खर्च गर्नुपर्छ। तीन वर्षदेखि प्लस टुमा होटल म्यानेजमेन्ट सञ्चालन गरेको ह्वाइट हाउस कलेजका प्रिन्सिपल हरि बस्याल भविष्यलाई हेर्दा होटल म्यानेजमेन्ट शिक्षामा विद्यार्थीको यो लगानी सामान्य भएको बताउँछन्।

उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा प्रमुख रामचन्द्र पाण्डेका अनुसार, प्लस टुका १३६ विषयमध्ये पछिल्लो समयमा होटल म्यानेजमेन्ट, पर्यटन र फेसन डिजाइनिङमा विद्यार्थीको आकर्षण बढ्दो छ।

विज्ञान, वाणिज्य, कला र शिक्षा संकायमा विद्यार्थी भर्ना सधैं एकनासको रहने गरेकोमा पछिल्लो समयमा सीपमूलक शिक्षातर्फ आकर्षण बढेको उनको अनुभव छ। “रोजगारी र आर्थिक उपलब्धि हुने विषयमा विद्यार्थी र अभिभावक सचेत भएको देखिन्छन्”, पाण्डे भन्छन्।

स्वीकृतिको सास्ती

प्लस टुमा नयाँ–नयाँ विषय लागू गर्नुपर्ने भए पनि शिक्षा मन्त्रालयको ढिलासुस्तीका कारण विद्यार्थीको माग भए पनि त्यस अनुसार हुन नसकेको महाशाखा प्रमुख पाण्डे बताउँछन्। प्लस टुमा स्पोर्टस् साइन्स सञ्चालन गर्न एक वर्षअघि मन्त्रालयमा पेश गरेको फाइल त्यहीं अड्किएको उनले बताए। कक्षाकोठामा राम्रो विषय लैजाने वेला मन्त्रालयको कोठा–कोठा चहार्नुपर्ने बाध्यताले गर्दा प्लस टुमा विविधता थप्न कठिनाइ भएको पाण्डेको गुनासो छ।

अर्थशास्त्रको २००, आमसञ्चार २००, जनसंख्या अध्ययन २०० र सामान्य ज्ञानको १०० पूर्णाङ्कको पाठ्यक्रम परिमार्जनको लागि पठाएको फाइल पनि शिक्षा मन्त्रालयमा एक वर्षदेखि थन्किएको छ। २०४९ सालबाट सञ्चालनमा आएको प्लस टुले २०५५―५६ देखि आफ्नै पाठ्यक्रम लागू गर्दै आए पनि उच्च माध्यमिक शिक्षा परिषद्सँग पाठ्यक्रम स्वीकृत गर्ने अधिकार छैन। विदेशमा लागू भएका विषयप्रति नेपालमा विद्यार्थीले चासो देखाउनु स्वाभाविक हो, तर उनीहरूको उत्सुकता मन्त्रालयको ढिलासुस्तीको शिकार भइरहेको छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>