खेलकुदशुक्रबार, आषाढ १३, २०७१

‘गोल्डेन बुट’का हकदार

हिमालखबर

विश्वकप फूटबलअन्तर्गत समूह चरणका खेलका आधारमा ‘गोल्डेन बुट’का लागि सात खेलाडीको संभावना बढी देखिन्छ । सर्वाधिक गोलकर्तालाई दिइने ‘गोल्डेन बुट’को दौडमा थोमस मुलर, लियोनल मेसी, नेयमार, जेम्स रोड्रिग्वेज, करिम बेन्जेमा, आर्जेन रोविन र रोविन भान पर्सी अगाडि छन् ।

नेयमार, रोड्रिग्वेज र बेन्जेमा विश्वकपका नयाँ स्टार हुन् । मुलर, मेसी, रोविन र भान पर्सीले भने यसअघिका विश्वकपमा पनि खेलेका थिए ।

गएको विश्वकपको तुलनामा बढी गोल भइरहेको प्रतियोगिताको समूह चरणका ४८ खेलमा १३६ गोल भइसकेका छन् ।

जर्मनीका लागि समूह चरणमा चार गोल गरिसकेका प्लेमेकर मुलर अर्जेन्टिनाका मेसी र ब्राजिलका नेयमारसँगै बलियोस्थितिमा छन् । चार गोलसँगै मुलरले एक गोलमा एसिस्ट गरेका छन् । क्रिष्टियानो रोनाल्डाको पोर्चुगललाई नीरिह पार्ने क्रममा ह्याट्रिक पूरा गरेका २४ वर्षीय मुलरले अमेरिकामाथि जीत हात पार्ने क्रममा निर्णायक गोल गरे ।

अर्जेन्टिनाका २६ वर्षीय स्टार मेसीले समूह चरणका तीन खेलमै चार गोल ठोकेका छन् । गएका दुई विश्वकपमा जादू देखाउन नसकेका उनले जारी विश्वकपमा दर्शनीय गोल गर्दै आफ्नो दावेदारी पेश गरेका छन् । आफ्नो पहिलो खेलमै बोस्निया हर्जगोभिनाविरुद्ध गोल गरेका उनले इरानविरुद्ध हेर्नलायक गोल गरे । नाइजेरियाविरुद्ध उनले दुई गोल हाने ।

विश्वकपको उदघाटन खेलमै आयोजक ब्राजिलका २२ वर्षीय स्टार नेयमारले आफ्नो जादू देखाए । क्रोएशियासँग एक–शुन्यले पछि परेको स्थिति उल्टाउँदै उनले पेनाल्टीमार्फत् दोस्रो गोल थपे । उनले समूह चरणको दोस्रो खेलमा मेक्सिकोको बलियो रक्षापंक्ति तोड्न सकेनन् । तर, उनले क्यामरुनविरुद्धको खेलमा भने सहजै दुई गोल ठोके र आफूलाई मुलर र मेसीसँगै दौडमा अघि राखे ।

मुलर, मेसी र नेयमारलाई चुनौति दिने पंक्तिमा जेम्स रोड्रिग्वेज, करिम बेन्जेमा, आर्जेन रोविन, रोविन भान पर्सी र जेर्डन शाकिरी छन् । २२ वर्षीय कोलम्बियन प्लेमेकर रोड्रिग्वेजले तीन गोल गरिसकेका छन् भने दुई गोलमा एसिस्ट गरेका छन् ।

फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले पनि ‘गोल्डन बुट’ पाउने दौडमा आफ्नो दावी पेश गरेका होण्डुरससँग दुई गोल गरेका उनले स्वीट्जरल्याण्डविरुद्ध एक गोल ठोके । उनले दिएको दुईटा पास गोलमा परिणत भएको छ ।

नेदरल्याण्ड्सका आर्जेन रोविन र रोविन भान पर्सी दुवै जना ‘गोल्डेन बुट’ का प्रतिस्पर्धि हुन् । दुवैले तीन–तीन गोल ठोकेका छन् । स्पेनेलाई गोल वर्षाउने क्रममा दुई र अष्ट्रेलियाविरुद्ध एक गोल गरेका उनले दुई गोलमा एसिस्ट पनि गरेका छन् । प्रतियोगितामा तीन गोल गरेका भान पर्सीले स्पेनविरुद्ध गरेको गोल दर्शनीय थियो ।

दोस्रो चरणमा स्वीट्जरल्याण्डलाई पुर्‍याउने क्रममा ह्याट्रिक पूरा गरेका जेर्डन शाकिरी पनि दावेदारको रुपमा छन् । स्वीट्जरल्याण्डबाट खेल्ने भएकाले बलिया टीमका खेलाडीको तुलनामा उनलाई कम आँकिएको छ ।

नकआउट चरणमा ‘गर या मर’को अवस्थाबाट गुज्रिनु पर्दा नाम चलेका खेलाडीलाई झन् बढी दबाब हुन्छ । त्यसैले विश्वकपको समाप्तिसम्ममा नयाँ इतिहास पनि कोरिन सक्छ ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>