थप समाचारशनिबार, आषाढ १४, २०७१
कञ्चनपुरका गाउँगाउँमा भ्यागुताको बिहे
भ्यागुताको बिहे गरेमा इन्द्रदेव प्रसन्न भई पानी पार्ने विश्वासका कारण कञ्चनपुरका कृषकले भ्यागुताको बिहे आयोजना गर्न थालेका छन् ।
रोपाइँका लागि पानी नपरेर दिक्क भएका किसानले जोडी भ्यागुतालाई तलाउबाट खोजेर पातमा राखी सम्पूर्ण विधि पूरा गरेर विवाह गरिदिने गरिएको नौखरीका स्थानीय भागिराम चौधरीले बताए ।
अन्य वर्षझैँ यस वर्षसमेत भ्यागुताको विवाह धुमधामसँग गर्न थालेको जानकारी दिंदै उनले भने, “भ्यागुताको विवाह गरेपछि गत वर्ष पानी परेको थियो, यस वर्षसमेत खडेरी पर्न थालेपछि भ्यागुताको विवाह गरिदिन लागेका छौँ ।”
खेतमा रोप्नका लागि ठिक्क पारिएको धानको बेर्ना सुक्नै लागेकाबेला भ्यागुताको बिहे गरेमा पक्कै पनि पानी पर्ने उनको विश्वास छ ।
भ्यागुताको विवाहमा सहभागी हुन आएकी बाणिका सोभा खुनाले भ्यागुताको विवाह गरेमा इन्द्रदेव प्रसन्न भई पानी पार्ने भएकाले विवाहपछि इन्द्रदेवको समेत पूजा गरिने बताए ।
बिहेमा दुलही र दुलहा पक्षकालाई भोज खुवाउने र दक्षिणासमेत दिने गरिएको छ ।
भ्यागुताको विवाह गर्नका लागि आवश्यक सामग्री र भोज खुवाउने अन्न तीनदेखि पाँच गाउँबाट उठाउने गरिन्छ । भ्यागुताको विवाह पानी पर्ने विश्वासका साथै रमाइलो गर्ने अवसर पनि हो । बिवाहमा रमाइलो गर्न र भोज खान सबै उमेर समूहका व्यक्तिहरु उत्तिकै उत्साहित हुन्छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
