खेलकुदआइतबार, आषाढ १५, २०७१
पेनाल्टी शुटआउटपछि ब्राजिल क्वार्टर फाइनलमा
निर्धारित समयसम्म १–१ को बराबरीमा रहेका ब्राजिल र चिलीले थपिएको ३० मिनटमा पनि थप गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टी किकका आधारमा भएको थियो ।
ब्राजिलका गोलकिपर जुलियो सिजरले चिलीको दुई प्रहारलाई रोके भने चिलीका जाराले हानेको शट गोलपोष्ट बाहिर गयो ।
हारपछि चिलीका खेलाडी र स्टेडियममा रहेका समर्थकका आँखामा आँशु देखिन्थ्यो ।
पेनाल्टी किकमा ब्राजिलका डेभिड लुइजले पहिलो गोेल गर्दै खेलाडीको मनोबल बढाए भने चिलीका पिनिलाको प्रहारलाई ब्राजिलका गोलरक्षक सिजरले रोकेर चिलीलाई स्तब्ध पारे ।
त्यसपछि ब्राजिलका विलियनले गोलपोष्ट बाहिरै शट प्रहार गरे भने अर्कोतर्फ ब्राजिलका गोलकिपर सिजरले चिलीका स्टार खेलाडी एलेक्सि सांचेजको प्रहार रोकिदिए ।
अर्को किक हान्ने पालो थियो ब्राजिलका मार्सेलेको । उनले किकलाई गोलमा परिणत गर्न कुनै गल्ती गरेनन् भने चिलीका एरेंगुएजले हानेको किक पनि गोलमा परिणत भयो ।
ब्राजिलका अनुभवी खेलाडी हल्कको शटलाई भने चिलीका गोलकिपर ब्रावोले रोकिदिए र त्यसलगत्तै चिलीका मार्सेलो डिायजले गोल गरेर स्कोर २–२ बनाए ।
त्यसपछि ब्राजिलका खेलाडी नेयमारले गोल गर्दै ब्राजिललाई ३–२ को अग्रता दिलाए । अन्तिम पेनाल्टी किक हान्ने पालो चिलीका गोंजालो जाराको थियो तर, उनले प्रहार गरेको किक पोलमा ठोक्किएर बाहिरियो । अन्ततः चिली विश्वकपबाटै बाहिरिनु प¥यो ।
ब्राजिल चिलीलाई ३–२ ले हराउँदै क्वार्टरफाइनलमा आफ्नो स्थान बनाएको छ ।
यसअघि ब्राजिलले खेलको १८ औं मिनटमा डेविड लुइजको मद्दतमा गोल गरेको थियो । त्यसपछि ३२ औं मिनटमा चिलीका एलेक्सिज सांचेजले गोल गरेर खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
पहेंलो जर्सी लगाएका ब्राजिलका प्रशंसकले भरिएको स्टेडियममा शुरुमा निकै उत्साह र उत्तेजना देखिए पनि ब्राजिलले अपेक्षित प्रदर्शन गर्न नसक्दा त्यो सेलाउँदै गएको थियो ।
दोस्रो हाफपछिकोे प्रदर्शनले परिणाम अर्कै हुने हो कि भन्ने आशंका पनि उब्जिएको थियो ।
तर पेनाल्टी शुटआउटमा ब्राजिलले ३–२ले जितेपछि घरेलु टिम ब्राजिलका खेलाडी र प्रशंसकलाई राहत भएको छ ।