अर्थ/बजारआइतबार, आषाढ १५, २०७१
सरकारको नीति तथा कार्यक्रम पारित
कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा पहिलोपटक १५ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्ले पारित गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामवरण यादवलाई कार्यबाहक प्रधानमन्त्री गौतमले आजै भेट गरी जानकारी गराउने प्रवक्ता रिजालले बताए ।
स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री सुशील कोइराला अमेरिकामा रहेकाले प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका उपप्रधानमन्त्री गौतमको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको हो ।
बैठकले संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा उपचाररत प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने
यसैबीच, राष्ट्रपति डा. यादवले सरकारको आव २०७१/७२ को वार्षिक नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्मा आज अपराह्न प्रस्तुत गर्नेे कार्यक्रम छ ।
संविधानसभाको निर्वाचन सम्पन्न भएको करिब आठ महिनापछि राष्ट्रपतिले पहिलोपटक व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्न लागेका हुन् ।
रासस