ब्लगआइतबार, आषाढ १५, २०७१

बर्खामा छालाको स्याहार

डा. सुमनराज ताम्राकार

आज असार पन्ध्र । नेपालभर हिलोमा छुपुछुपु धान रोप्ने दिन । बिहान–बेलुका पाएसम्म भात नै खान रुचाउने नेपालीका लागि धान रोपाइँको विशेष महत्व हुने नै भयो । त्यसैले, बडो जाँगरका साथ किसानहरू धानको ब्याड राख्ने समयदेखि नै हिलोमा लटपटिन थाल्छन् । रोपाइँको मैजारो नसकिएसम्म हिलोको काम सकिंदैन । यो क्रममा छाला सम्बन्धी विभिन्न समस्या पनि आइपर्छन्, जसलाई उति महत्व दिइँदैन ।

छालाले शरीरलाई बाह्य प्रतिकूल वातावरणबाट जोगाउँछ । छालामुनि रहेका विभिन्न खाले स्नायुका कारण तातो, चिसो, खस्रो, मसिनो, मुलायम जस्ता स्पर्श अनुभूति हुन्छ । यसले प्रतिकूल वातावरणबाट पहिल्यै सावधानी अपनाउन मद्दत मिल्छ । गर्मी मौसममा बढी संवेदनशील हुने छालामा घामको असरका साथै विभिन्न खालका एलर्जी पनि आउँछन् ।

त्यसमाथि, धान रोपाइँमा संलग्न हुने किसानलाई हिलोले खाने तथा पैतालामा कालो कालो दाग आउने हुन्छ । कतिपयमा त हिलोले खाने समस्या यति गम्भीर हुन्छ कि खुुट्टाको औंला नै छिनिएला जस्तो हुन्छ । किसान भने समस्या यति विकराल भइसक्दा पनि मेला धाउनमै मस्त हुन्छन् ।

हत्केला र पैताला निरन्तर हिलो पानीमा भैरहँदा औंलाका काप चिरिने गरी असर देखिन्छ । ‘हिलोले खाने’ भनेर चिनिने छालाको यो समस्या खासगरी क्यान्डिडा नामको एक प्रकारको ढुसी (फंगाई) को कारण हुन्छ । मानव शरीरको ओसिलो भागमा सहजै वृद्धि–विकास हुने यो जीवाणुको संक्रमण काखी, काछ, स्तन र अण्डकोष मुनि पनि हुन्छ, जसलाई मेडिकल भाषामा ‘इन्टरट्राइगो’ भनिन्छ ।

निरन्तर हिलो र पानीको सम्पर्कका कारणले आइपर्ने समस्या भने ‘इन्टरट्राइगो’ भन्दा अलि फरक हो । यसबाट छुटकारा पाउन ढुसी विरुद्ध फ्लुकोनाजोल वा इट्राकोनाजोलयुक्त औषधि वा मल्हम दिइन्छ । हिलोबाट हुने अर्को समस्या पैतालामा कालो दाग आउने हो । व्याक्टेरियाजन्य यो समस्या निदानमा क्लिन्डामाइसिन वा इरिथ्रोमाइसिनयुक्त औषधि वा मल्हम चाहिन्छ ।

सावधानीका उपाय

बढी उत्पादनका लागि प्रयोग गरिने विकासे मल र कीटनाशक विषादीले छालामा त्यसै पनि नकारात्मक असर पार्छ । युरिया वा अरू किसिमको गेडा मल हालिएको हिलोजनित बाह्य वातावरण विरुद्ध छालाले सुरक्षा दिन सक्दैन । सामान्य अवस्थामा शरीरलाई मुलायम र सुरक्षित बनाइराख्न छालामुनिका तेलीय ग्रन्थीले चिल्लो पदार्थ उत्पादन गर्छ ।

तर, लामो समय पानी र हिलोको सम्पर्कमा आइराख्दा छालाको वाटरप्रुफ क्षमतामा कमी आई ओसिएर चाउरिने हुन्छ । यो अवस्थामा रासायनिक पदार्थयुक्त पानी वा हिलो पर्‍यो भने छालाको छेकबारयुक्त क्षमतामा कमी आई फंगाई एवं व्याक्टेरियाको आक्रमण सहज बन्छ । यसबाट हिलोले खाने वा कालो कालो दाग आउने हुन्छ ।

तर, रोपाइँका वेला हिलो पानीमा पस्नैपर्ने हुनाले अपनाउन सकिने सावधानीमा ध्यान दिनुपर्छ । हिलो पानीमा पस्नुअघि भ्यासेलिन, तेल वा कुनै मोइस्चराइजर दल्नुपर्छ । यसले छालामा पर्ने असर घटाइदिन्छ । रोपाइँको कामले जतिसुकै थाके पनि हातखुट्टा धोएर सुक्खा बनाई क्रिम वा जेल लगाउनुपर्छ ।

दही–चिउराको कुरा गरिएन भने हिलो पानी र असार पन्ध्रको चर्चा अधुरो होला । हाम्रा पुर्खाले असार पन्ध्रमा दही–चिउरा खाने चलन त्यसै बसाएका हैनन् । दही पाचन प्रक्रिया र अम्लपित्तको लागि त लाभदायक छ नै, सँगसँगै गामा इन्टरफेरोन बढी पाइने भएकोले यसबाट रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । दहीले शरीरमा श्वेत रक्तकणिकाको रूपमा काम गर्छ । दूधबाट एलर्जी हुनेले पनि प्रो–बायोटिक आहार भएकोले दही सेवन गर्दा हुन्छ । नियमित दही सेवनले ठूलो आन्द्रालाई क्यान्सरबाट बचाउँछ ।

दहीमा ल्याक्टिक एसिड नामक अम्ल बढी हुन्छ । त्यसैले, गर्मी मौसमको रोपाइँमा दहीको बढी प्रयोग अझ लाभकारी हुन्छ । हाड खिइने समस्या हटाउने खनिज पदार्थ र क्याल्सियम बढी पाइने दहीमा प्रशस्त कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी–६ र बी–१२ पनि पाइन्छ । यसले कोलेस्ट्रोलका रोगीलाई पनि फाइदा दिन्छ । दहीले मोटोपना पनि घटाउँछ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>