ब्लगआइतबार, भाद्र ३१, २०६९

हामी गाउँ आयौं

केदार शर्मा

इलाममा

दुई वर्षअघि हिमाल खबरपत्रिका मा ‘गाउँ जाऊँ’ शीर्षकको लेखमा मैले गाउँमा फस्टाउँदै गरेका अनुकूलता–सुविधाको चर्चा गरेको थिएँ । मानिसले खोज्ने सुखका पूर्वाधार र व्यक्तित्व विकासका सम्भावना गाउँको शान्त परिवेशमै उपलब्ध भए खर्चिलो र तनावयुक्त शहरमा किन टाँसिने भन्ने त्यसको आशय थियो । दशैंमा घर–मावल गएर फर्केपछिका अनुभूतिहरू पनि लेखें, जसको अन्तिम वाक्य थियो— ‘अब म यो (शहरको) दौडको गति र दूरी घटाएर हिंड्ने तरखरमा छु ।’ लेखमा ‘म’ लेखे पनि प्रायः मानिस ‘हामी’ मा बाँचेको हुन्छ । अहिले साँच्चै नै हामी आफ्नो दौडको गति र दिशा परिवर्तन गरेर गाउँ फर्केका छौं ।

एसएलसीको रिजल्ट भएपछि, १४ असार २०३५ मा हजुरबाले दिनुभएको सूटकेश, केही जोर लुगा र बाले दिनुभएको रु.१०००–१२०० खल्तीमा हालेर म काठमाडौं हिंडेको थिएँ । काठमाडौंमै पढें, बढें, पेशा–इलम समातें । त्यसको १० वर्षपछि ‘हामी’ भएँ । हामी अलकापुरी कान्तिपुरीका बासिन्दा भयौं, त्यहीं छोराछोरी हुर्कायौं । हामीसित जे जति शिक्षा, सम्पर्क, सीप, पेशा, आत्मविश्वास छन् ती सबै काठमाडौंले दिएको हो । हामीले आफ्ना सबैभन्दा कठोर संघर्षका दिन काठमाडौंमै बितायौं र सबैभन्दा खुशी पनि त्यहीं भयौं । हाम्रो धेरथोर आर्जन पनि त्यहीं छ । नातेदार र साथी–स्वजन पनि अन्तभन्दा काठमाडौंमै बढी छन् ।

काठमाडौं हाम्रो हो, हामी काठमाडौंका हांै । कतिपय अर्थ र प्रसङ्गहरूमा काठमाडौंको आलोचक रह्यौं, तर कहिल्यै गाली गरेनौं । अहिले आफ्नो सहयात्राको चौबीसौं वर्ष पूरा हुन लाग्दा हामी, अर्थात् म र मेरी श्रीमती किरण, गाउँ फर्केका छौं । र पनि, ‘अब काठमाडौं छाडेको ?’ भन्ने प्रश्नको जवाफ चाहिं ‘होइन’ नै हुन्छ । काठमाडौं जाँदा हामीले गाउँ छाडेको भए पो अहिले काठमाडौं छाड्नु !

कहिलेसम्मलाई ?
केही साथीहरूलाई हामी गाउँमा अडिन्छौं भन्ने पत्यार लागेको छैन । कतिले सोधेका छन्, “साँच्चै हो ?”
साँच्चै हो भन्ने जवाफ पाइसकेपछि पनि केहीले सोधेका छन्, “कहिलेसम्मलाई ?”
काठमाडौं जाँदा तपाईं हामी कहिलेसम्मका लागि भनेर गएका थियौं ? त्यत्तिकै, बस्दाबस्दै बसिएको होइन र त्यहाँ ? काठमाडौंले मानिसलाई विना योजना टाँसेर राखिदिन्छ । शुरूका केही वर्ष ‘काठमाडौंमा केही भएन भने फर्किने ठाउँ छँदैछ’ भन्ने भावना बलियो हुन्छ । अनि क्रमशः काठमाडौंले जित्न थाल्छ र पहाड–मधेशका घरखेतहरू सर्न थाल्छन् । काठमाडौंमा घर बनाएपछि चाडबाडमा घर छाड्न मिल्दैन । अनि बूढा बा–आमाहरू पनि काठमाडौं लगिन थाल्छन् । यसरी नेपालको स्रोतसाधन, सृजना र सामथ्र्य काठमाडौंमा तानिन थाल्छ ।

कोही आफ्नो गाउँ गएर बस्नु एकदमै सामान्य कुरा हो । तर, काठमाडौंको आकर्षण शक्ति अझ्ै प्रबल भएकोले पहिले मानिस काठमाडौं जाँदा गाउँमा बन्ने जस्तो समाचार अहिले कोही घर फर्किंदा बनेको मात्र हो । त्यसो त, हामीले कुनै महान् काम गरेका वा हामी ‘इलामको विकासको लागि’ फर्केका होइनौं । हामीले करोडौं नेपालीको गरिखाने मेलोको अनुसरण गर्न मात्र खोजेका हौं । यो उमेरमा थालिएको नयाँ पेशामा हामीले धेरै जनाबाट धेरै कुरा सिक्नु छ ।
गाउँको आकर्षण धेरैमा छ । हाम्रो निर्णय सुनेपछि केही स्वजनहरूले ‘मलाई पनि गाउँ जान मन छ, तर श्रीमती मान्दिनन्’ भने । एकजना भाइलाई भनें, ‘खेतीपाती गर्न भन्यौ होला, फार्मिङ गर्ने भन न !’ अर्का एकजना भाइसाथीलाई ‘दुनियाँको चित्त बुझने लेखहरू लेख्छौ, आफ्नै श्रीमतीको चित्त बुझउन सक्दैनौ ?’ भनें । अझ् अर्का एकजनालाई त ‘श्रीमतीलाई कहिल्यै आत्मनिर्भर हुन नदिनू, जताजता डोरयाए पनि गइहाल्छन् नि !’ सम्म भनें ।

वास्तवमा यो मान्ने–मनाउने कुरै होइन । लामो सङ्गतले साथीहरू बीच त विचार र व्यवहारको सङ्गती मिल्छ भने एउटै मूल्यमान्यतामा बाँचेका लोग्नेस्वास्नीको त कतिपय कुरामा सोच्ने तरीका पनि मिल्छ । अनि जीवनले क्रमशः एउटा लय समात्छ । परिस्थिति र प्रसङ्गवश कहिले राग यमन बजाइएला, कहिले राग दरवारी वा शङ्करा, जे बजाए पनि कलाकारहरूबीच जुगलबन्दी हुनथाल्छ र त्यसमै रमाउने बानी लाग्छ । जीवनमा पनि बेला बेला सुरताल फेर्नुपर्छ । हामीलाई त्यसकै रहर लागेको मात्र हो । यस क्रममा प्रस्ताव राख्ने, आकर्षण–विकर्षणहरूको सूची बनाउने र मनाउने–फकाउने काम गरिएन । हाम्रो निर्णय सुनेर छोराछोरी झ्न् फुर्किए । बा–आमालाई भने ‘काठमाडौंमा जसरी गरिखान सक्लान् र !’ भनेर कताकता चिन्ता लागेको अनुभव हामीले गरयौं । अन्त्यमा, उहाँहरू पनि विविध कारणले खुशी नै हुनुभयो ।

‘गाउँको जीवन पो जीवन, तर के गर्नु, शहरबाट उम्किनै सकिंदैन !’ भन्ने साथीहरू पनि धेरै छन् । वास्तवमा हामीकहाँ शहरको ‘ग्ल्यामर’ र गाउँको ‘रोमान्टिसिज्म’ दुवैमा अलिकति अतिरञ्जना छ । राम्रो नाम वा दाम कमाइरहेकाहरूले बसिरहेको ठाउँ छाड्न पर्दैन । छोराछोरीलाई राम्रो शिक्षाका लागि ठूला शहरमा वा स्कूलका लागि नाम कमाएका ठाउँमा बस्ने बाध्यता छँदैछ । विशेष स्वास्थ्य सुविधा चाहिने व्यक्तिहरूले त झ्न् शहर छाड्नै मिल्दैन । आफ्नो क्षमता, चाहना र आवश्यकता स्पष्ट हुनासाथ यस्ता गाँठाहरू फुक्छन् । यति यति कारणले शहरको भन्दा गाउँको बसाइँ सुन्दर हुन्छ भन्ने भएपछि विभिन्न चरणमा ‘उम्किने’ योजना बनाउन सकिन्छ ।

हामीले गाउँको बसाइँलाई धेरै रोमान्टिक भएर हेरेका छैनौं । मन मिल्ने केही साथीहरूसितको साझ्ेदारीमा स–साना उद्यम गर्ने योजना बनाएका छौं । यस वर्ष १० वटा गाई पाल्छौं र भेटे पाएका राम्रा बाच्छीहरू किन्छौं । दूध मात्र बेचेर फाइदा हुँदैन भन्ने हाम्रा साथीहरूको अनुभव छ । उनीहरू दशैंअघि नै इलाममा नामी बम्बइसन बनाउन तातेका छन् । सडकछेउमा एउटा सानो गाँसबास उद्यम पनि चलाउँछौं । इलामको आइतबारे बजारछेउमा ‘बर–पीपल बिसौनी’ नाम दिइएको होटल असोजको पहिलो सातादेखि नै चलाउने योजना थियो, मरम्मत–सम्भारको काम गर्ने मान्छेको कमीले त्यो अलिकति पछाउला जस्तो छ । र पनि, दशैंताका सुरुआत गर्न सकियो भने हामीलाई लक्ष्यभन्दा धेरै पछिपरेको अनुभव हुनेछैन ।

अलिपछि केही ‘चियाबारी कटेज’ हरू बनाउँछौं । कार्यशाला, सेमिनारहरू गर्ने थलोको पनि विकास गर्छौं । इलामको शैक्षिक÷अवलोकन भ्रमणमा आएका टोलीहरूलाई श्रव्यदृश्यसहित जिल्लाको जानकारी दिने र एउटा कोसेली पसल चलाउने अर्को योजना छ । स्थानीय रेडियोहरूका लागि एक–दुई वटा कार्यक्रम बनाउने–चलाउने पनि हाम्रो रहर छ । हाम्रो योजनासित तालमेल मिलाउँदै काठमाडौंको सहयात्रा टूर्स नामक कम्पनीले ‘इलाम प्याकेज’ बनाएको छ । कति साथीले तालिम घर चाँडो बनाओ, आगामी तालिम इलाममा राखौंला भनेका छन् । हामीले धेरैको साथ पाएका छौं र हामी धेरैलाई साथ दिन तयार भएका छौं।

केही कमी
काठमाडौंमा नहुने बित्तिकै धेरै कुराको कमी हुन्छ । सम्पर्कहरू पातलिन्छन्, निम्ताहरू आउन छाड्छन् । आयस्ता घट्छ, औपचारिकताहरू कम हुन्छन् र सुविधाहरूबाट वञ्चित हुनुपर्छ । अहिलेलाई हामी १०० वर्ग फीटको कोठामा भान्सासहित अटाएका छौं । सबभन्दा नजिकको पसलमा पुग्न १५ मिनेट हिंड्नुपर्छ । दैनिक आवश्यकताका सबै सामान पाइने बजार झ्ण्डै आधा घण्टाको दूरीमा छ । तर, यहाँ सुविधाहरूसँगै प्रतिकूलताहरूको पनि कमी छ ।
आफूलाई निकै शान्त ठान्ने व्यक्तिले पनि काठमाडौंमा नरिसाई धर पाउँदैन । अन्त संयमित रहे पनि सडकमा व्याप्त अराजकताले भड्काएको रीस यदाकदा फोहोरी गालीका रूपमा मुखबाट निस्किइहाल्छ । सडकमा बलेंसी झर्नेहरूसित रीस उठ्छ, गाडीमा नाङ्गा छड हालेर हिंड्नेहरूसित झवाँक चल्छ । कुखुरालाई उँधोमुन्टो लगाएर कुदाउनेहरूसित दिक्क लाग्छ । धारामा पानी नआउँदा मात्र होइन, ‘हाम्रोमा त जत्ति पनि आउँछ’ भन्दै खानेपानीले गाडी धुनेहरू देख्दा पनि रीस उठ्छ । काठमाडौंमा कसै न कसैसित नरिसाई दिन बित्दैन । रीस उठाउने कुराहरूको सूची एकदमै लामो हुन्छ ।

आफ्नो सामानहरू बसको छतमा हालेर घर फर्किंदा थानकोट आइपुगेपछि हामीले अब हाम्रो जीवनमा अरू के केको कमी होला भनेर कुरा गरयौं । अरू कुरा त अहिले थाहा छैन तर रीस र रीस उठ्दा प्रसङ्गहरू भने निश्चय नै कम हुनेछन् भन्ने भयो । इलाममा अहिले हामी यस्ता अनेक किसिमका कमी र अनेक प्राप्तिहरूको तालमेल मिलाउने प्रयासमा छौं ।

हिमाल खबरपत्रिका, १-१५ असोज २०६९ बाट

‘गाउँ जाउँ’ पढ्नुस् हिमाल खबरपत्रिकाको २०६७ दशैं अङ्कमा लिङ्क:

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>