थप समाचारआइतबार, आषाढ १५, २०७१
नाडीबाट छुट्टिएको हात चिकित्सकले जोडे
-सेन्छेलुङ लिम्बु
राजधानीस्थित ग्राण्डी अस्पतालका चिकित्सकले गोरखाका युवकको हातबाटै छुट्टिएको हत्केला जोडेका छन् । गोरखा मुच्चोक–५ का २८ वर्षीय मानबहादुर सुनारको इलेक्ट्रिक आरीले काटिएको हात चिकित्सकले सफलतापूर्वक शल्यक्रिया गरेर जोडेका हुन् ।
उनको ग्राण्डी अस्पतालमा ११ असारमा शल्यक्रिया भएको हो । “हातबाट अलग्गिएको हत्केला लिएर ११ असारमा बिरामीलाई अस्पताल ल्याइएको थियो,” शल्यक्रियामा संलग्न डा. जयनमान श्रेष्ठले भने, “हाम्रो टोलीले साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म निरन्तर शल्यक्रिया गर्दा सुखद परिणाम आयो ।”
गोरखाबाट आइसबक्ससहित प्लास्टिकको झोलामा बोकेर ४ घण्टापछि अस्पताल ल्याइएको चुँडिएको हत्केलाका सबै रक्त नली, हड्डी सफलतापूर्वक जोडिएको र अहिले विरामीले औंला चलाउन शुरु गरेको अस्पतालले जनाएको छ ।
श्रेष्ठसहित डाक्टरहरु भाष्करराज पन्त, ज्योति रायमाझी, अर्चन अधिकारी लगायतको टोलीले शल्यक्रिया गरेका थिए । श्रेष्ठले भने, “विरलै हुने यस्तो शल्यक्रियामा हामीले सफलता पाएका छौं ।”
काठ मेशिनमा काम गर्ने क्रममा सुनारको देब्रे हातको हत्केला काटिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
