खेलकुदसोमबार, आषाढ १६, २०७१

नेदरल्याड्स र कोस्टारिका क्वाटरफाइनलमा

हिमालखबर

नेदरल्याण्ड्सले मेक्सिको र कोस्टारिकाले ग्रीसलाई हराउँदै क्वाटरफाइनलमा पुगेका हुन् । १५ असार राति भएको खेलमा नेदरल्याण्ड्सले मेक्सिकोलाई २–१ ले हरायो ।

गेट्टी इमेजस्

नेदरल्याण्ड्सले ८८ औं मिनेटसम्म पछि परेको स्थिति उल्टाउँदा मेक्सिको विश्वकपबाट बाहिरियो । ८८ औं मिनेटमा विस्ले स्नाइज्डरले गोल गरे ।

अतिरिक्त समयमा मेक्सिकोका डिफेन्डरले डिबक्सभित्र आर्जेन रोविनलाई फाउल गरेपछि नेदरल्याण्ड्सले पेनाल्टी पायो । हुन्टेलरले पेनाल्टीको सदुपयोग गर्दै नेदरल्याण्ड्सलाई जिताए ।

हाफ टाइमसम्म नेदरल्याण्ड्सलाई बराबरीमा रोकेको मेक्सिकोले ४८ औं मिनेटमा अग्रता लिएको थियो । उसका जिओभानी डस सान्तोसले गोल गरे । तर, अन्त्यमा नेदरल्याण्ड्सलाई खेल सुम्पिदा मेक्सिकोको सन् १९८६ पछि विश्वकपको क्वाटरफाइनल पुग्ने सपना चकनाचूर भयो ।

नेदरल्याण्ड्सको पटकपटकको प्रहारलाई बिफल तुल्याएका मेक्सिकन गोलकिपर ओचाओ ‘म्यान अफ दी म्याच’ चुनिए । खेल जारी रहेको बेला मैदानको तापक्रम ३८.८ डिग्री पुगेपछि दुई पटक विश्राम दिइएको थियो ।

कोस्टारिकाले इतिहास रच्यो

विश्वकप फूटबल अन्तर्गत १५ असार राति भएको खेलमा कोस्टारिकाले ग्रीसलाई हरायो । पेनाल्टी सुटआउटमा ग्रीसलाई ५–३ ले हराउँदै कोस्टारिकाले इतिहास रच्यो ।

कोस्टारिका विश्वकप फूटबलको इतिहासमै पहिलोपटक क्वाटरफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटमा १–१ को बराबरी खेलेका कोस्टारिका र ग्रीसले थपिएको ३० मिनेटमा पनि गोल गर्न सकेनन् र खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

तस्वीरः फिफा डट कप

ब्रायन रुइजले ५२ औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई अग्रता दिलाएका थिए । तर, ९० औं मिनेटमा ग्रीसका सोक्राटिसले बराबरी गोल गरे ।

पेनाल्टी सुटआउटमा कोस्टारिकाका पाँचै खेलाडीले गोल गरेका थिए भने ग्रीसका ३ खेलाडीले मात्र सफलता पाए । कोस्टारिकाका बोर्गेस, रुइज, गोन्जालेज, क्याम्बेल र युमानाले गोल गरे ।
ग्रीसका कोस्टास, लाजारोस र चोलेभासले गोल ठोके । तर, गिकासको प्रहार कोस्टारिकाको गोलकिपर नाभसले रोके ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...