ब्लगबुधबार, आषाढ १८, २०७१
यथेष्ट तथ्य, नपच्ने सत्य
पछिल्लो एक दशकका राजनीतिक घटनाबारे प्रशान्त झाले लेखेको पुस्तक ‘व्याटल अफ द न्यु रिपब्लिक– अ कन्टेम्पोररी हिस्ट्री अफ नेपाल’ भर्खरै प्रकाशित भएको छ।
एउटा इतिहासकारले आफूलाई चाहिने तथ्य मात्र जम्मा गरेर इतिहासका घटना, पात्र, प्रवृत्तिबारे टिप्पणी गर्ने प्रचलन रहेकोमा पत्रकार झाको यो पुस्तक पनि अपवाद छैन।
भारतीय जासूसी संस्था ‘रअ’ को प्रभावलाई जबर्जस्ती रूपमा स्थापित गराउनु यो पुस्तकको उद्देश्य देखिन्छ।
इतिहासलेखनको पृथक् शैली ‘फर्स्ट पर्सन न्यारेटिभ स्टायल’ मा लेखिएको यो पुस्तकले समकालीन नेपालको एकाङ्गी व्याख्या गरेको छ। पुस्तकमा माओवादी, मधेश र ‘रअ’ मात्र हावी देखिन्छन्, नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक समाजलाई टर्चलाइट बालेर खोज्नुपर्छ।
जबकि, इतिहासकारले घटनाको मूल र सहायक कारण पत्ता लगाउन सक्नुपर्छ। त्यसैगरी, दोस्रो संविधानसभाको निर्वाचनपछि माओवादी र मधेशकेन्द्रित दलको हैसियत निकै कमजोर बनेको वेला झाले त्यसलाई पनि हेर्न सकेको देखिंदैन।
सामान्यतः राजनीतिका चार तत्व हुन्छन्– जनता, राजनीतिक दलका नेता, कूटनीतिज्ञ र गुप्तचर। भारतको नेपाल नीति पनि राजनीतिक नेतृत्व, विदेश मन्त्रालय, रक्षा मन्त्रालय तथा भारतीय सेना र ‘रअ’ ले निर्धारण गर्छन्।
अरू तीन वटा सशक्त माध्यम भएर पनि नेपाली राजनीतिलाई डिल गर्न भारतले किन ‘रअ’ लाई जिम्मा दियो भन्ने प्रश्नको उत्तर सजिलोसँग पाइँदैन। तर, यसो गरेर भारतले गम्भीर त्रुटि गरिरहेको नेपाली बुझाइ छ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीले पनि कान्तिपुरका सम्पादक सुधीर शर्माले लेखेको पुस्तक प्रयोगशाला को विमोचन गर्दा जासूसी संस्थाको मर्यादा नराखेर खुलमखुला काम गर्ने कर्मचारीलाई ‘रअ’ मा राख्नु भारतीय संस्थापनको बेवकुफी भएको बताएका थिए।
नेपालमा भारतको अलोकप्रियता बढ्नुमा पनि त्यस्तै पात्र र प्रवृत्तिको मुख्य भूमिका रहेको देखिन्छ। दिल्लीमा नयाँ शक्ति उदाएपछि पनि पछिल्लो एक दशकमा नेपालमा भारतको ‘आशीर्वाद’ भजाउनेहरूले नै अब भारतले कर्मचारीतन्त्रको साटो राजनीतिक नेतृत्वबाट कूटनीति सुचारु गर्नुपर्छ भन्नु अर्को अनौठो भएको छ।
यस्तो भयो भने पनि तिनै बदनाम पात्र हावी हुनेछन्। यसबारेमा भारतीय राजनीतिक नेतृत्व र नीतिनिर्माता सचेत हुनुपर्छ।
एमाओवादीबाट प्रधानमन्त्री बनेका दुई शीर्षस्थ नेताहरूले आफैंलाई पोलिएको, डामिएको र आरोपित गरिएको पुस्तकहरूको विमोचन समारोहमा विशिष्ट अतिथि बनेर पुस्तकको आधिकारिकतामा लाहाछाप लगाउनु अर्को अनौठो भएको छ।
सुधीर शर्माको ‘प्रयोगशाला’ को विमोचनमा पुष्पकमल दाहाल उपस्थित थिए भने झ्ाको पुस्तकमा बाबुराम भट्टराई। झाको पुस्तक ‘प्रयोगशाला’ को थेसिसलाई जस्टिफाई गर्ने अर्को पुस्तक मात्र हो।
यसमा माओवादीलाई ‘रअ’ को पोल्टामा पुग्न सघाएका भारतीय प्राध्यापक एसडी मुनिले लेखेको पुस्तक ‘नेपाल इन ट्रान्जिसन’ ले खुलासा गरेको तथ्यहरूलाई नै पुनर्पुष्टि गरिएको छ। यसले पनि माओवादीको नाङ्गो अवसरवाद त्यसैगरी देखाएको छ।
आफूलाई मधेशी भनेर दाबी गर्ने लेखक झाका हजुरबुवा योगेन्द्र झा भारतको दरभंगाबाट आरएसएस (भाजपा सम्बद्ध संगठन) को प्रतिनिधिका रूपमा काठमाडौं आएका हुन्।
काठमाडौंको ‘इलिट’ परिवारमा पर्ने त्यो परिवारले नेपाली राज्यसत्ताको उपभोग गरेको छ। उनका प्रतिनिधि पात्रमा मधेशका बाहुन, भूमिहार र कायस्थहरू पर्नु तथा उनीहरूकै स्वार्थको बचाउमा यो पुस्तक केन्द्रित हुनुको कारण त्यही हो। मधेशका उत्पीडित र दलित समुदायबारे यो पुस्तक मौन छ।
कुनै पनि जातीय आन्दोलनले दोस्रो चरणमा जातीयताभित्रको उपजातीयता र सहायक पहिचानलाई बढावा दिन्छ। पहिलो संविधानसभा निर्वाचन अगाडि लहान र नेपालगञ्जबाट विस्तारित भएको मधेश विद्रोह संविधानलेखनका क्रममा थारूको पृथक् माग, मुस्लिमको सुरक्षा जस्ता विषयमा विस्तारित हुनुको कारण त्यही थियो।
त्यसपछि मधेशको सर्वाधिक समृद्ध मिथिला संस्कृतिले अलग राज्य माग गरेर अस्तित्व खोज्यो। मिथिला राज्यका लागि जनकपुरमा अनसन र सत्याग्रह भइरहेको ठाउँमै बम विस्फोट भएपछि आन्दोलन तुहियो। तर, झाको पुस्तकमा यसको कतै चर्चा छैन। मधेशका मागलाई पृथकतावादी शैलीमा उठाएको झाको पुस्तकको भाषा पछिल्लो समयका सीके लालसँग धेरै मिल्दो छ।
खुला राजनीतिमा आएपछि माओवादी निरीहता गौर हत्याकाण्डबारे छानबिन गर्न आयोग गठन गर्ने तत्परता नदेखाउनुले पनि प्रष्ट्याउँछ। जसले अनेक आशंका उब्जाउँछ। मधेशको भौगोलिक र सांस्कृतिक विशिष्टता तथा त्यहाँका विमति र जायज माग सम्बोधन गर्न काठमाडौंको सत्ता तयार हुँदै गरेको वेला झाको पुस्तकले मधेश आन्दोलनलाई पृथकतावादीका रूपमा चित्रण गर्नु अर्को अनौठो छ।
एउटा पत्रकारले निर्वाह गर्नुपर्ने दायित्वको मामिलामा झा पनि सुधीर शर्मा जसरी नै चुकेका छन्। स्रोतलाई गोप्य राख्नुपर्नेमा सार्वजनिक गरिएको छ। झाले त सबै स्रोतसँग बसेर रक्सी समेत खाएको उल्लेख गरेका छन्। जबकि, रक्सी खुवाएर तथा खाएर सूचना उम्काउनु जासूसहरूको शैली हो। जासूसी संयन्त्रको इशारालाई मान्ने पात्रहरूको उनले प्रशंसा गरेका छन् भने बाँकी कूटनीतिज्ञ र नेताहरूलाई खराब देखाएका छन्।
अर्काे सार्वभौम देशमा भएका जासूसी चलखेललाई वैधानिक ढंगले अनुमोदन गराउन खोज्नु जवाफदेही राजनीति तथा नेपाली चेतनामाथिको चुनौती हो। नेपाली हुनुमा हीन भाव उत्पन्न गराएर बौद्धिक दासत्व लाद्ने वातावरण तयार पार्न प्रयास गर्ने यो पुस्तकका विवरणहरूलाई मौनरूपमै भए पनि स्वीकार्नु नेपाली नागरिक समाज र बौद्धिकहरूको लाचारी हुनेछ।
त्यसैले नेपाली बौद्धिकहरूले आत्महीनतालाई त्यागेर खुला विमर्शमा उत्रनुपर्छ। पुस्तकको गातामा लेखिएका शब्दहरू देखेर पुस्तक किन्ने र पढ्ने पाठकहरू भने पछुताउने छन्। किनभने यसमा सूचना त पर्याप्त छन्, तर लेखकले निर्माण गर्न चाहेको सत्य भने पच्ने खालको छैन।