रमझमशुक्रबार, आषाढ २०, २०७१
रंगकर्मका शिल्पी युवराज
नेपाली नाटक र संगीतको उन्नयनका लागि स्थापित नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठान स्थापनाको चार वर्षमा त्यहाँका प्राज्ञहरू आजीवन तलब–भत्ता खाने खेलभन्दा बाहिर निस्केको देखिएन।
कतिसम्म भने, नाटक महोत्सव गरेर प्रशंसित हुनुपर्ने प्रतिष्ठान गत आर्थिक वर्षमा आलोचित बन्यो– बजेट मात्र सिध्याउने नियतका कारण। १० वैशाखबाट प्राज्ञ सभाको अवधि सकिएकाले अहिले पार्टी नेताकहाँ धाउने होड शुरु भएको छ।
त्यसको ठीक उल्टो, निजीस्तरबाट भने नेपाली नाट्य विधामा साँच्चै लोभलाग्दो काम भइरहेको छ। समर्पित केही अगुवा र उत्साही तन्नेरीहरूको समर्पणबाट यसरी खडेरीमा कमल फुलाउने काम भइरहेको छ।
तिनैमध्येका एक हुन्– घिमिरे युवराज। तन, मन र वचनले रात–दिन नाटकमा सक्रिय उनले आफ्नै बलबुताबाट आकाश–पाताल गरेर फागुन २०७० देखि राजधानीको बत्तीसपुतलीमा गोठाले थिएटर संचालनमा ल्याएका छन्।
आफ्नै थिएटर स्थापना भएपछि १३ रंगकर्मी सम्मिलित युवराजको शिल्पी समूहलाई नियमित नाटक मञ्चन गर्न मात्र होइन, प्रशिक्षण तथा रंगमञ्च सम्बन्धी अध्ययन–अनुसन्धानका साथै पुस्तक प्रकाशनमा समेत सजिलो भएको छ।
अहिले १८ जना प्रशिक्षार्थी थिएटरमै बसेर अभिनयको कक्षा लिइरहेका छन्। शिल्पी थिएटरमा नियमित नाटक मञ्चनको अलावा साहित्य, संगीत, चित्रकलाका स्वतन्त्र काम पनि भइरहेका छन्।
स्थापनापछि शिल्पीमा नेपालको समकालीन सामाजिक–राजनीतिक अवस्थालाई गज्जबले उतारेका कोमा अ पोलिटिकल सेक्स, मेन्दोमाया, मजिपालाखे जस्ता नाटक मञ्चन भइसकेका छन्।
शिल्पीको नाट्ययात्रामा हरेक नाटक मञ्चनपछि बिरालोले बच्चा सारे झै आफ्ना तानाबाना सार्दै हिंडेका युवराज उद्देश्य, आवश्यकता र मिहिनेतबाट ठाउँथलो तय गरेको बताउँछन्।
उनी भन्छन्, “अब हामी आफ्नै मञ्चमा आफ्नो शिल्प देखाउन सक्ने भएका छौं।”
मोरङ इन्द्रपुरका युवराज २०५५/५६ मा राष्ट्रिय नाचघरमा एकवर्षे अभिनयको कोर्ष गरेर रंगकर्ममा आएका थिए।
त्यसपछि आरोहण गुरुकुलबाट अभिनय रंगकर्ममा सक्रिय भएका उनले त्यहीं रहँदा आरुको फूलका सपना, कुमारी, जात सोध्नु जोगीको, माया देवीको सपना, अग्निको कथा लगायतका चर्चित नाटकमा उम्दा अभिनय गरे।
त्यसपछि राजन खतिवडा लगायतका रंगकर्मीहरूको साथ लिएर युवराजले खोलेको शिल्पी थिएटर २०६४ को मधेश आन्दोलनताका देशव्यापी सद्भाव नाट्ययात्रामा रह्यो। शिल्पीले संघीयताको पक्षमा पनि देशव्यापी मञ्चन गर्यो।
त्यसपछिको समयमा डेनमार्कको कोपनहेगनस्थित कमेडिया डोलार्ते कलेजबाट कमेडी नाटकमा स्नातक गरेका युवराज भन्छन्, “मैले जीवनमा नाटक मात्र सोचें।”
युवराजको एउटा नाट्य विशेषता के हो भने, उनी जिल्लामा स्थानीय भाषालाई नाटकको माध्यम बनाउँछन्। त्यसले नाटकलाई बढी प्रभावकारी बनाउने उनको अनुभव छ।
नेपाली रङ्गमञ्चमा दर्शक बढ्ने क्रममा रहेको बताउने उनी यो क्षेत्रमा चुनौती पनि उत्तिकै रहेको ठान्छन्। कुनै वेला कुल तीन जनालाई नाटक देखाएको अनुभव सुनाउने उनी अहिले प्रेक्षागृहमा दर्शक अटाउन छाडेको बताउँछन्।
युवराजको भनाइमा, नाटकका लागि सरकारी तहबाट स्थापित निकायहरू आफैं व्ययको भारी मात्र बन्नु नेपाली नाट्य क्षेत्रको सबभन्दा ठूलो समस्या भएको छ। उनी भन्छन्, “सरकारी सहयोग नपाए पनि अभावसँग जुध्दै बरु निजी नाट्य संस्थाहरूले नै राम्रो गरेका छौं भन्दा गर्व लाग्छ।”
नभन्दै, अहिले गुरुकुल, शिल्पी, मण्डला, सर्वनाम, थिएटर भिलेज लगायतका नाट्यशालाकै प्रयासमा नेपाली नाट्य परम्परामा पुनर्जागरण आएको छ र दर्शकले मन लागेको थिएटरमा मन लागेको नाटक हेर्न पाउन थालेका छन्।
शब्द/तस्वीरः ऋषिराम कट्टेल