खेलकुदशुक्रबार, आषाढ २०, २०७१
शोकलाई शक्तिमा बदल्न चाहन्छ, कोलम्बिया
सन् १९९४ मा अमेरिकामा आयोजित विश्वकपमा गोल्डेन जेनेरेशनका खेलाडी सम्मिलित कोलम्बिया पनि सहभागी थियो । कोलम्बियाको समूहमा आयोजक अमेरिका, रोमानिया र स्विट्जरल्याण्ड थिए । कोलम्बियाले समूह चरण सजिलै पार गरेर दोस्रो चरणमा पुग्ने सबैको अनुमान थियो ।
तर, कोलम्बियाले समूह चरणअन्तर्गत आफ्नो पहिलो खेलमै हार व्यहोर्यो । त्यसैले अर्को चरणमा प्रवेश पाउनलाई उसले दोस्रो खेलमा जित्नैपर्ने वा बराबरी खेल्नुपर्ने थियो । समूह चरणको दोस्रो खेलमा आयोजक अमेरिकाविरुद्ध दबाबमा उत्रिएको कोलम्बियाले ३५ औं मिनेटमै आत्मघाती गोल खानपुग्यो । त्यो गोल भरपर्दा डिफेन्डर आन्द्रेस इस्कोबारको खुट्टामा ठोक्किएर भएको थियो । ५२ औं मिनेटमा अमेरिकाले फेरि अर्को गोल थप्यो । कोलम्बियाले ९० औं मिनेटमा एक गोल त फर्कायो, तर त्यो बेला निक्कै ढिला भइसकेको थियो ।
खेल २–१ गोल अन्तरले हारेसँगै कोलम्बिया विश्वकपबाट बाहिरियो र हारमा ‘खलनायक’ ठहर्याईयो २७ वर्षीय डिफेन्डर इस्कोबारलाई । सबैभन्दा दुःखको कुरा अमेरिकासँग खेल हारेको १० दिनपछि इस्कोबार कोलम्बियाको एक रेष्टुरेन्टमा गोली हानेर मारिए । असफलताको सम्पूर्ण दोष इस्कोबारलाई लगाउँदै सट्टाबाजीमा संलग्न केही व्यक्तिले उनलाई गोली हानेका थिए ।
कोलम्बियाको फूटबल इतिहासमा त्यो घटनालाई ‘कालो दिन’को रुपमा लिइन्छ । त्यो घटनाको बीस वर्षपछि कोलम्बिया ब्राजिलमा जारी विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । जारी विश्वकपको पहिलो क्वाटरफाइनलमा कोलम्बिया आयोजक ब्राजिलविरुद्ध उत्रिदैं छ, २० असार राति १.४५ बजे ।
ब्राजिलको फोर्टालेजास्थित रंगशालामा हुने खेल उनै गोली हानेर मारिएका आफ्ना खेलाडी ‘इस्कोबार’प्रति समर्पित गर्दैछ, कोलम्बियाले । उसले खेल जितेर फूटबल इतिहासको त्यो कालो दिन बिर्सन चाहन्छ ।
अहिलेको कोलम्बियाली टोलीलाई गोल्डेन जेनेरेशन मानिन्छ । हुन पनि कोलम्बियालाई क्वाटरफाइनल पुर्याउने क्रममा व्यक्तिगत पाँच गोल गर्दै २२ वर्षीय जेम्स रोड्रिग्वेज नयाँ स्टारको रुपमा उदाएका छन् । उनले इन्जुरीका कारण विश्वकप गुमाएका स्ट्राइकर रामाडेल फाल्काओको अभाव खड्किन दिएका छ्रैनन् ।
‘कोलम्बियाको फूटबललाई बदनाम गराउने त्यो शोकपूर्ण घटना’लाई कोलम्बियाली खेलाडीले शक्तिमा बदल्ने बताइसकेका छन् ।
तर, पाँचपटकको विश्वकप बिजेता ब्राजिललाई ‘सजिलो हार’ स्वीकार्य छैन । ब्राजिललाई स्टार नेयमार, मार्सेलो, कप्तान थिएगो सिल्भा, डेविड लुइज, ड्यानी अल्भेज, ओस्कार, हल्क लगायतका खेलाडीले सेमिफाइनलमा पुर्याउने धेरैको विश्वास छ । यद्यपी पूर्ण फिट नभएका नेयमार र मार्सेलो तथा दोहोरो पहेंलो कार्डका कारण खेल गुमाउने मिडफिल्डर लुइस गुस्ताभो ब्राजिलका लागि चिन्ताको विषय बनेको छ ।
जर्मनी कि फ्रान्स
विश्वककप फूटबलअन्तर्गत २० असार राति नै हुने क्वाटरफाइनलमा दुई युरोपियन पावरहाउस जर्मनी र फ्रान्स भिड्दैछन् । राति ९.४५ मा हुने खेल जितेर दुवै टोली सेमिफाइनमा पुग्न चाहन्छन् । तीनपटकको विश्वकप विजेता जर्मनी र सन् १९९८ को विजेता फ्रान्सबीच कडा टक्कर हुन्छ भनेर सबैले अनुमान गरेकै कुरा हो ।
दीपेन्द्र सापकोटा, काठमाडौं