रमझमशनिबार, आषाढ २१, २०७१
राजेश हमाल हेलिकप्टर चढेर नाईको बिहेमा
नायक राजेश हमालको कपाल काट्ने, फेसियल–मसाज लगायतका काम गर्दै आएका सर्लाही बबरगञ्ज–४ का सुरेन्द्र ठाकुरको बिहे २० असारमा भयोे । आफ्ना नाईको विहेमा राजेश हमाल हेलिकप्टर चार्टर गरेर सर्लाहीको सुदुर गाउँ पुगेपछि बेहुला ठाकुर मात्रै होइन पूरा गाउँ नै रमाएको छ ।
हमाल विवाहमा करिब एक घण्टा बसेका थिए । राजेश हमाल आफ्नो विवाहमा आउनु आफ्ना लागि गौरवको कुरा भएको ठाकुरले बताए । “विवाह आफैंमा ठूलो उत्सव हो त्यसमा राजेश सर आउँदा मेरो खुशी आकाशिएको छ,” उनले भने ।
अधिकांश हिन्दी र भोजपुरी फिल्म मात्रै हेरिने सर्लाहीको देहातमा नेपाली फिल्मका नायक राजेश हमाललाई हेर्न दर्के झरीको वास्ता नगरेर वरपरका गाउँबाट समेत मानिसहरु आएका थिए । एक त राजेश हमाल त्यसमाथि हेलिकप्टर पनि उनीहरुका लागि उत्सुकताको विषय भैदियो ।
काठमाडौंबाट सर्लाही आउने क्रममा मौसमका कारण राजेश हमाल चढेको हेलिकोप्टर सर्लाहीको छिमेकी जिल्ला सिन्धुलीको क्यानेश्वरमा अवतरण गरेको थियो । एकघण्टापछि मौषममा सुधार देखिएपछि उनी बबरगंज आइपुगे ।
हमालले आफ्ना नाईलाई माला लगाइदिएर शुभकामना र बधाई दिएका थिए ।