टिप्पणीशनिबार, आषाढ २१, २०७१
परिवर्तनका मौन सम्वाहक
काठमाडौंको उकुसमुकुमा सबै कुरा अनपेक्षित र बनावटी लाग्छन् । अप्रिय र गलत कुराको सामना गर्दागर्दै कार्यालयमा गएर काम गर्ने जाँगर समेत हराउँछ ।
नेताहरु उच्चाट लाग्दा कुरा भट्टयाउँछन्, रिपोर्टरले त्यसैलाई दोहोर्याउँछन् र सम्पादकहरु त्यही कुरालाई सम्पादकीयको बिषय बनाउँछन् । मलाई भने अबको दुई वर्षपछि फेरि सम्बिधानसभा–३ बारेमा लेख्नु पर्ने हो कि भन्ने डर लाग्न थालेको छ ।
यस्तोमा म झोला भिरेर राजधानीबाट बाहिरिन्छु । त्यसबेला ममा यो देश र यहाँका सहनशिल नागरिकप्रतिको विश्वास फेरि पुनस्थापित हुन्छ । पहाड–तराईका स–साना बजार र टोलहरुमा आएका परिवर्तन देख्दा मनमा उत्साह जाग्छ ।
यी परिवर्तनको अगुवाई गर्नेमा महिला धेरै छन् । समूदाय र परिवारमा निर्णायक बन्दै गएको उनीहरुको भूमिकाले राजधानीको बासीपन विर्साइदिन्छ ।
गाउघरका अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएकाले पनि महिलाहरु अग्रसर हुनुपर्ने अवस्था आएको छ ।
चुल्होचौकोदेखि बाहिरका काम पनि गर्नु परेपछि महिलाहरुमा बोझ त थपिएको छ, तर यसले परम्परागत लैंगिक अवधारणामा परिवर्तन ल्याउनुका साथै उनीहरुको आत्माविश्वास पनि बढाएको छ ।
भर्खरै २२ जना महिला कृषकलाई ‘खाद्यका लागि कृषि अभियान’ले सम्मान गर्यो । देशका विभिन्न भागको प्रतिनिधित्व गरेका यि महिलाहरुले अगुवा र नमूना कृषक बन्दासम्म बेहोरेका अप्ठ्यारा र चुनौतिको फेहरिस्त लामै छ ।
श्रीमानहरु दुबई, पञ्चाब वा साउदी अरबमा रहेका यि महिलाहरुले बालबच्चा हुर्काउँदै, घर ब्यवहार सम्हाल्दै विकास र आयआर्जनका काम पनि गर्दै आएका छन् ।
यीमध्ये मोरंगकी टंकमाया मगरले आफैं हलो समाइन्, समाजले नरुचाए पनि । महोत्तरीकी अगुवा कृषक राजकुमारी सदाले सामाजिक परम्परा तोड्दै मुसहर हुनुको विभेदबाट पार पाइन् ।
अहिले आफ्ना दुई सन्तानलाई विद्यालय पठाइरहेकी र घरमा शौचालय बनाएकी राजकुमारी सदा निकै उत्साहित छन् । तरकारी कृषकका रुपमा सफलता पाएकी डडेलधुराकी सुर्जा विकले आफ्नो समुदायका छाउगोठहरु भत्काइन् ।
तराकारी बेचेको आम्दानीले गाई किनिन् र परम्पराविपरित महिनाबारीका बेला पनि दूध खाईन् । “महिनाबारी भएका महिलाले गाईको दूध खाँदा गाई मर्दैन भन्ने प्रमाणित गर्नु थियो, गरें”, सुर्जा भन्छिन् ।
यसैगरि, आफ्नो गाउँमा तरकारी खेती गर्ने पहिलो दलित महिला मुगुकी काशिकला टमटा अहिले बिहान बेलुकाको जोहो गर्न पहिलेभन्दा धेरै सजिलो भएको बताउँछिन् ।
अहिले पुरुषको तुलनामा खेती गर्ने महिला धेरै छन् तर, १० मध्ये १ जना महिलासँग मात्रै जमिन छ । राष्ट्रिय कृषि नीति महिलाका पक्षमा छैन या नीति निर्माताले महिलालाई प्राथमिकतामा पारेका छैनन् ।
आफ्नै पौरखले परिवार र समुदायमा परिवर्तन ल्याएका यस्ता महिलाहरुमध्ये अधिकांशले सरकारबाट कुनै सहयोग वा उत्प्रेरणा पाएका छैनन् भन्दा हुन्छ । नेपालमा यस्ता धेरै प्रगति छन्, जुन सरकारको असंलग्नतामै भएका छन् ।
आफैंमा अलमलिएको काठमाडौंमा सेवामुखी संस्था र ग्रामिण सहकारीको कामलाई बेवास्ता गर्ने प्रबृत्ति छ । गैर–सरकारी संस्था, महिला समूह र सामूदायिक वन उपभोक्ता समूहहरुले ग्रामिण क्षेत्रमा स–साना परिवर्तन ल्याउन महत्वपूर्ण योगदान दिएका छन् । यि संस्थाहरु अझै पारदर्शी र समावेशी हुनु भने जरुरी छ ।
वैदेशिक सहायताबाट कुनै उपलब्धी नभएको बरु परनिर्भरता बढाएको भन्ने आलोचना भएपनि नेपालको शिक्षा, स्वास्थ्य, सीप विकास र सशक्तिकरणका क्षेत्रमा त्यसबाट धेरै राम्रा कामहरु भएका छन् ।
हो, हामीसँग सडक सञ्जाल, विमानस्थल र विकासका अरु ठुला पूर्वाधार छैनन् । कमजोर अर्थतन्त्र स्थिर अवस्थामा छ र हामी विश्वका गरिवतम देशहरुमध्ये पर्छौं । तर, अहिलेको नेपालमा ठूलो सामाजिक जागरण हुँदैछ ।
६ वर्षअघि पत्रकारिता शुरु गर्दा म महिलाहरुसँग कुरा गर्न बारा र रौतहट गएकी थिएँ । उद्यमका लागि पहिलो पटक घर बाहिर आएका ती मधेशी महिलाहरु लेखपढ गर्न सिक्दै थिए, छोरीलाई विद्यालय पठाइरहेका थिए र थोरै भए पनि जग्गाको स्वामित्व लिएर पारिवारिक आयमा योगदान गरिरहेका थिए ।
अहिले सम्मानित २२ महिलाको कथा पनि त्यस्तै छ । आफ्ना सन्तानलाई विद्यालय पठाएको, घरको खर्च धान्न सकेको, सानो टुक्रा जमिन आफ्नो बनाएको अनि सामाजिक स्वीकृति र सम्मान पाएको उपलब्धिप्रति उनीहरु गर्व गर्छन् ।
यसरी नेपाली महिलाहरु चुपचाप सामाजिक–आर्थिक रुपान्तरणका संवाहक बनेका छन् । निर्वाचित स्थानीय निकाय भैदिए, लोककल्याणकारी राजनीतिक केन्द्र निर्माण हुन सके र सांसदहरु ५ करोडको खिचातानमा नलागिदिएमात्रै पनि यो देश समृद्ध हुने समय नजिकिनेछ ।
अंग्रेजीमा पढ्नका लागि यहाँ क्लिक गर्नुहोस