थप समाचारआइतबार, आषाढ २२, २०७१
प्रेमिकाले धोका दिएपछि पैसा असुल
बैदेशिक रोजगारीमा मलेशिया पुगेका नुनथला–८ का सुबोध राईले विभिन्न समयमा प्रेमिकालाई पठाइदिएको रकम फिर्ता लिएका छन् । उनले प्रेमिकाबाट धोका पाएपछि रकम फिर्ता लिएका हुन् ।
३१ असार २०७० मा ‘सँगै मर्ने–बाँच्ने’ कसम खाएर वैदेशिक रोजगारीमा मलेसिया पुगेका राईले त्यहाँबाट प्रेमिकालाई पठाएको रु ५६ हजार २५० प्रहरीको सहयोगमा फिर्ता लिएका हुन् । विभिन्न बहानामा पैसा लिएकी प्रेमिकाले धोका दिएर अर्कैसँग विवाह गरेपछि प्रहरीको सहयोगमा रकम फिर्ता लिइएको राईले टेलीफोनमार्फत जानकारी दिए ।
विदेशबाट फर्किएपछि विवाह गर्ने शर्तमा मलेसियाबाट मासिक खर्च पठाइदिने गरेको तर, प्रेमिकाले अर्कैसँग विवाह गरेपछि उक्त रकम फिर्ता लिएको राईको भनाइ छ । राईका अनुसार उनीहरुबीच तीन वर्षअघि प्रेम सम्बन्ध शुरु भएको थियो ।
गत जेठ तेस्रो साता प्रेमिकाले अर्कै केटासँग विवाह गरेकाले प्रेमीले रकम असुल गराइदिन भन्दै प्रहरीसमक्ष इमेलमार्फत उजुरी दिएको प्रहरीले जनाएको छ । राईले विभिन्न समयमा प्रेमिकालाई पैसा पठाउनका लागि आइएमई गरेको १४ वटा बीलसहित प्रहरीसमक्ष रकम फिर्ताका लागि उजुरी दिएका थिए ।
प्रहरीमा उजुरी दिएर फोनबाट बारम्बार ताकेता गरेपछि पूर्वप्रेमिकाले राईका साथी राजन भट्टराईमार्फत रकम फिर्ता दिएकी हुन् ।
प्रेमिकाले विवाह गर्नुअघि फेसबुक र फोनबाट अपशब्द बोल्ने र सम्झाउँदा उल्टै तर्किएको व्यवहार देखाएको राईको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
