रिपोर्टआइतबार, आषाढ २२, २०७१

एउटा ध्वस्त परिवारको कथा

हिमालखबर

—तुफान न्यौपाने

बाँकेको बैजापुर—३ कुम्भरका रामरतन चौधरीलाई फत्तेपुर गाविसमा प्राविधिक सहायक रहेको वेला ३ फागुन २०५७ को राति ९ बजेतिर डेराको आँगनबाट हतियारधारी माओवादीले कन्चटमा पेस्तोल र घाँटीमा खुकुरी राखेर अपहरण गरे ।

चन्दा मागेको माओवादीको चिठी घरमा आएपछि चन्दा लिन कोही आए दिनू भनेर घरमा केही रकम छाडेको र बाटोमा भेटे पनि दिने भनेर साथमै अरू रकम लिएर हिंडेको वेला यो घटना भएको उनी बताउँछन् । तर, अपहरण हुनुमा चन्दा नदिनु कारण रहेको उनले पछि मात्र थाहा पाए ।

उनी बसेको घरका मानिसलाई भित्र राखेर ढोका बन्द गरेकाले उनको बचाउमा कोही आउन पाएनन् । त्यसपछि उनलाई दुई सय मिटर टाढा लगी दुवै हात पछाडि बाँधेर र भुईंमा लडाएर लट्ठीले कुटपिट गर्न थालियो ।

यसरी कुटपिट भयो कि, पानी माग्दा पनि उनलाई दिइएन । त्यसपछि उनको दुवै खुट्टामुनि काठ राखेर माथिबाट अर्काे ठूलो काठले थिचिदिए । यसो गरेको केही बेरमै उनको दुवै खुट्टा भाँच्चियो र उनी बेहोश भए ।

त्यसपछि माओवादीले छाडेर गएको र चार घण्टापछि मात्र सहयोग गर्न गाउँले आएको उनी बताउँछन् । त्यसपछि आएका उनका परिवारका सदस्यले राप्तिको अगैयासम्म बोकेर र त्यहाँबाट एम्बुलेन्समा नेपालगञ्जको भेरी अञ्चल अस्पताल पुर्‍याए । शरीरबाट रगत धेरै बगेकोले तत्कालै उनलाई १० प्वाइन्ट रगत दिइयो ।

त्यसपछि त्यहाँ उपचार हुन नसक्ने भन्दै काठमाडौं पठाइयो । काठमाडौं गएपछि भेरी अञ्चल अस्पतालमा पनि माओवादीले आफूलाई खोजेको उनको भनाइ छ । काठमाडौंको टिचिङ अस्पतालमा उनको झ्न्डै ६ वर्ष उपचार भयो ।

उनी उत्तानो परेर मात्र सुत्न सक्थे, फर्कन, उठ्न र बस्न सक्दैनथे । यस्तो स्थिति थाहा पाएपछि उनकी आमा चिन्ताले बिरामी भइन् र २८ चैत २०५८ मा संसार त्यागिन् । तर, त्यस्तो अवस्थामा पनि उनी घर पुग्न सकेनन् ।

आमाको किरिया सकिएर चोख्याउने दिनमा पनि माओवादीले उनको घरमा आक्रमण गरी सम्पत्ति लुटे तथा घर ध्वस्त बनाइदिए । त्यही वेला उनको ७ बिघा जग्गा पनि कब्जा गरेको घोषणा गरे । त्यस्तो अवस्थामा पनि गाउँलेहरू डरले त्यहाँ सहयोग गर्न आउन सकेनन् ।

त्यो वेला बिरामी पिता हीरामणि र ज्वाईं खुशीरामलाई पनि पिटेर हात, खुट्टा र करङ भाँचिदिएको उनी बताउँछन् । तर, उपचारका लागि अस्पताल लैजान कोही गाउँले तयार भएनन् ।

दुई दिनपछि आएको सशस्त्र प्रहरीको टोलीले सबै घाइतेलाई ट्रयाक्टरमा हालेर नेपालगञ्ज भेरी अञ्चल अस्पताल पुर्‍यायो । त्यही यातनाकै कारण उनका पिता हीरामणिको मृत्यु भयो भने ज्वाईं अझै घाइते छन् ।

यस्तो अवस्थामा उनका पाँच जना छोराछोरीको पढाइ बिग्रिने नै भयो । काठमाडौंबाट उपचार गरी फर्किएपछि उनी २०६५ सम्म नेपालगञ्जमा बसे । त्यसपछि गाउँ गएका उनले सानो घर बनाए पनि माओवादीले कब्जा गरेको जग्गा फिर्ता पाउन सकेनन् ।

अहिले त्यो जग्गा वैद्य माओवादीका कार्यकर्ताहरू जीतबहादुर थारू, भीमबहादुर थारू, भरथरी थारू र रतिराम थारूले उपभोग गरिरहेका छन् ।

प्रशासनमा उजुरी दिए पनि उनले जग्गा फिर्ता पाउन सकेका छैनन् । जग्गा कब्जा गर्नेमध्येका जीतबहादुरले द्वन्द्वको वेला गार्ड लिएर हिंड्ने र जनअदालत चलाउने गरेको उनी बताउँछन् ।

उनले द्वन्द्व प्रभावितको नाममा अहिलेसम्म राहत पाएका छैनन् । उपचार खर्च, ध्वस्त भएको घर र कब्जा गरिएको जग्गाको क्षतिपूर्ति पनि उनले पाएनन् ।

माओवादी सरकारले शान्ति प्रक्रियापछि आफ्ना कार्यकर्तालाई मात्र राहत र क्षतिपूर्ति दिएको तथा त्यसपछिका सरकारले पनि आफ्नो दलका कार्यकर्ताबाहेक अरूलाई वास्ता नगरेको उनी बताउँछन् ।

दुवै खुट्टामा रड हालिएकाले उनी अहिले राम्ररी हिंड्न सक्दैनन् । अधिकांश जमीन माओवादीको कब्जामा छ भने बाँकी सम्पत्ति उपचारमा सकियो ।

उपचार गर्न ६ वर्ष काठमाडौं बस्नुपरेकाले उनको सहायक प्राविधिकको अस्थायी जागीर पनि गयो । “मेरो पूरै परिवार माओवादी द्वन्द्वले ध्वस्त बनायो” रामरतन पीडा पोख्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>