समाचारसोमबार, आषाढ २३, २०७१
अनुकरणीय अधिवेशन
कुनै पनि दलको लागि केन्द्रीय अधिवेशन एउटा महत्वपूर्ण राजनीतिक संचालन प्रक्रिया हो । यो हिसाबले नेपालको दोस्रो ठूलो र सत्ता साझेदार नेकपा एमालेको अधिवेशन निर्धारित समयमा हुनु आफैंमा ठूलो र नौलो कुरा होइन । यद्यपि, एमालेले नवौं महाधिवेशन सम्पन्न गर्न जुन शैली अपनायो, त्यसलाई धेरै हिसाबले उदाहरणीय मान्नुपर्छ । चलनचल्तीको तामझम छाडेर उपलब्ध प्रविधिको अधिकतम प्रयोग गरेको एमालेले वास्तवमै ठूला कुराको सुरुआत गरेको छ ।
हरेक दलका लागि महाधिवेशन भनेको कुम्भमेला हो । यो कुम्भ संचालन गर्न एमालेले यसपटक प्रविधिको समुचित प्रयोग गरेको छ । झ्ट्ट हेर्दा ठूलो कुरा नलाग्ने यो शैलीबाट मुख्यतः गाउँ–गाउँबाट कार्यकर्ता, समर्थक र शुभचिन्तक ओसार्न सयौं सवारी साधनको प्रयोग भएन । यसबाट लाखौं रुपैयाँको अपव्यय रोकिनुका साथै पार्टीका किसान शुभचिन्तकहरूलाई असारको काममा बाधा पुगेन, ध्वनि प्रदूषण सहितको झँकी–जुलूसहरूले आम जनतालाई सडकमा सास्ती दिएन र शहरका भित्ताहरू फोहोर हुनबाट जोगिए । यसबाट एमाले अधिवेशनको भव्यतामा कुनै कमि आएको पनि होइन ।
१९ असारमा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा अधिवेशन शुरू हुँदा बाहिर भएको झ्डपलाई अधीर समूहको उच्छृङ्खलताको परिणाम मान्न सकिन्छ । आम कार्यकर्ता र शुभेच्छुकहरूलाई नजिकैको राष्ट्रिय सभागृहमा ठूलो पर्दा राखेर महाधिवेशन उद्घाटन समारोह देखाउन गरेको व्यवस्थामा ऐन मौकामा प्राविधिक समस्या नआएको भए त्यस्तो उच्छृङ्खलता नदेखिन पनि सक्थ्यो । यसलाई व्यवस्थापनमा भएको सामान्य कमजोरी मान्न सकिन्छ ।
महाधिवेशनको तयारीको क्रममा एमालेका नेतृत्वका आकांक्षी शीर्षस्थ नेताहरूदेखि कार्यकर्तासम्मले अभूतपूर्व रूपमा सामाजिक संजाल, इमेल र मोबाइल एमएमएसको प्रयोग गरेको देखियो । सिंगो पार्टी पंक्ति यसरी शान्त र सौम्य ढंगको प्रचार–प्रचार तथा तयारीमा जुट्दा एमाले अधिवेशनको नाममा आम जनताले कुनै तनाव झेल्नुपरेन । यत्रो तयारीको क्रममा कतै माइकिङ, पोष्टरिङ आदि भएन । वास्तवमा हाम्रा दलहरूले राजनीतिको नाममा लादेको यस्तो अभ्यास आम जनताका लागि ठूलै पीडा भइसकेको थियो । यस्तो फजुल तामझमको शैली त्याग्ने सुरुआत कुनै न कुनै दलले गर्नै पर्ने थियो, जुन एमालेले गरेको छ ।
यसो भन्दैमा, एमालेको सुरुआत सम्पूर्ण छ भन्ने होइन । एमाले अधिवेशन अवधि एक हप्ताको हुनु अति हो । नेतृत्व चयन र विधान संशोधन/निर्माणदेखि राजनीतिक दस्तावेज पारित गर्ने उद्देश्य राख्दा अधिवेशन अवधि लम्बिएको बुझन सकिन्छ, तर अबको समयमा लामो–लामो अधिवेशन गरेर दलहरूको आन्तरिक जीवन चुस्त हुने होइन । त्यसका लागि सबै विधि तथा प्रक्रिया चुस्त बनाउनुपर्छ । एमालेले पनि विधान संशोधनको लागि छुट्टै निकाय बनाउनेबारे सोच्नुपर्छ ।
अनेक सैद्धान्तिक–व्यावहारिक अलमलका बीच सम्पन्न हुन लागेको एमालेको यो अधिवेशनले छलफलमा ल्याउनुपर्ने अर्को महत्वपूर्ण विषय स्थानीय निकायको निर्वाचन र क्याडर बेस्ड हुने कि फलोअर बेस्ड हुने भन्ने हो । यी विषय र अधिवेशन तयारीको क्रममा देखिएको आपसी गालीगलौज, चर्को गुटबन्दी, पदका अधिक आकांक्षी, तुल–व्यानर भत्काउँदै जलाउने उच्छृङ्खलता आदि प्रवृत्ति सीधा जोडिएका छन् । अरू राजनीतिक दलहरूका हकमा पनि यही कुरा लागू हुन्छ । समर्थक–शुभचिन्तक (फलोअर) भन्दा कार्यकर्ता धनी हुँदा र स्थानीय निकायको निर्वाचन नभएको एक युग बित्दाको दुष्परिणाम अन्य दलहरूमा जस्तै एमालेमा पनि छताछुल्ल हुन थालेका छन् ।
१६ वर्षसम्म स्थानीय निकायको निर्वाचन नहुँदा एमालेका कार्यकर्ता पंक्ति केन्द्रमा आश्रित नभई नहुने अवस्थामा पुगेको सिन्धुलीबाट छानिएका २० प्रधिनिधिमध्ये नौ जना केन्द्रीय सदस्यको आकांक्षी हुनुले देखाउँछ । यसले गर्दा स्थानीय एजेण्डा त हराएको छ नै, पार्टी केन्द्रलाई समर्थक–शुभचिन्तकको बलमा समृद्धितर्फको यात्रा तय गर्ने सोचभन्दा पनि कार्यकर्ताको महत्वाकांक्षा व्यवस्थापन प्रमुख मुद्दा हुन पुगेको छ ।
एमाले अधिवेशनले यी सबै पक्षमाथि विचार पुर्याउँदै पार्टीको भविष्यको मार्गचित्र त कोर्नु छ नै, सँगसँगै नयाँ संविधान निर्माण भएर लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने सन्देश पनि प्रवाह गर्नुपर्नेछ । यसक्रममा, अधिवेशनले पारित गर्ने दस्तावेजहरू महत्वपूर्ण हुनेछन्, जसको कार्यान्वयनले भावी नेतृत्वलाई सफल बनाउनेछ ।
अधिवेशनमा बाहिरी तामझमको सट्टा प्रविधि प्रयोगको सुरुआत गरेको एमाले नेतृत्व चयनमा पनि निर्वाचनको विधिमा गएको छ । लोकतन्त्रमा यो नै सर्वोत्तम विधि हो ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
