अर्थ/बजारसोमबार, आषाढ २३, २०७१
पञ्चेश्वर आयोजनाको ५ करोड फ्रिज
सरकारले पञ्चेश्वर आयोजनाका लागि यस वर्ष रु.५ करोड उपलब्ध गराएको थियो । सो रकम सडक निर्माण, सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन लगायतको कामका लागि छुट्याइएको थियो ।
आयोजनाको नेपाल खण्डको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि तोकिएको रु.४३ लाख रकम खर्च नभएका कारण फ्रिज हुने अवस्थामा पुगेको हो ।
यस्तै, बैतडीको पाटनदेखि आयोजनास्थलसम्म पुग्नका लागि निर्माण गर्न लागिएको सडकका लागि छुट्याइएको रु.९५ लाख रकम पनि फ्रिज हुने अवस्थामा पुगेको आयोजना प्रमुख चिरञ्जीवी चटौतले जानकारी दिए । कूल ६४ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी खण्डका ट्र्याक खोल्ने काम मात्रै पूरा भएको तर अन्य स्थानमा भने कुनै पनि काम अगाडि बढ्न सकेको छैन ।
आयोजनास्थल पुग्नका लागि हाल नेपालतर्फबाट जाने सहज बाटो छैन । सोही बाटो निर्माणका लागि उपलब्ध गराइएको रकम फ्रिज भएपछि सडक सम्पन्न गर्ने योजनासमेत पछाडि धकेलिएको हो । त्यसैगरी महाकालीको बह्मदेवपुरीदेखि आयोजनास्थल पुग्ने तटीय बाटोको सम्भाव्यता अध्ययन गर्नका लागि भनेर छुट्याइएको रु.१५ लाखसमेत फ्रिज हुने अवस्थामा पुगेको छ ।
आयोजनास्थल पुग्ने पाटन–पञ्चेश्वर सडक बहुवर्षीय ठेक्का सम्झौता गरेर निर्माण गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको आयोजना प्रमुख चटौतको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कनको काम प्राविधिक रूपमा पूरा भए पनि पूर्ण प्रतिवेदन आउन नसक्दा समस्या उत्पन्न भएको छ ।
आयोजना अगाडि बढाउने सम्बन्धमा दुई देशबीच सन् २०१३ नोभेम्बरमा छलफल भएपनि त्यसपछि कुनै पनि संवाद हुन सकेको छैन । सरकारले आयोजनालाई अगाडि बढाउन पञ्चेश्वर जलविद्युत् आयोजनाको छुट्टै कार्यालय स्थापना गरेर प्रक्रिया अगाडि बढाए पनि हालसम्म कुनै प्रगति भने हुन सकेको छैन ।
विभिन्न सरकार गठन भएलगत्तै सो आयोजनालाई अगाडि बढाउने भनेर प्रतिबद्धता जनाए पनि त्यसको व्यावहारिक कार्यान्वयन गराउने सम्बन्धमा भने ठोस प्रगति हुन सकेको छैन । आयोजनाले भौतिक प्रगति गर्न नसके पनि कार्यालय सञ्चालन, कर्मचारीको तलब भत्ता, सवारी साधनमा भने रु.२ करोडभन्दा बढी खर्च गरेको छ ।
दुई मुलुकबीचको सीमा नदी महाकालीमा कूल ६ हजार ७२० मेगावाट विद्युत् उत्पादन गर्ने र जम्मा भएको पानीबाट दुई मुलुकको कृषियोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
रासस