रिपोर्टमंगलबार, आषाढ २४, २०७१
एमालेमा तटस्थ निर्णायक
-सुवास देवकोटा

नेकपा एमालेको नवौं महाधिवेशन स्थल भृकुटीमण्डपमा झुण्ड्याइएको ब्यानर मुनि एक कार्यकर्ता, १९ असार २०७१ । तस्वीरः बिक्रम राई
१९ असारमा काठमाडौंको भृकुटीमण्डपमा नेकपा (एमाले) को नवौं महाधिवेशन उदघाटन हुनुअघिसम्म आफ्नो पक्षमा सहज बहुमत रहेको दाबी गर्ने अध्यक्षका प्रत्यासीहरू वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली पक्षले अहिले त्यस्ता आँकडा देखाउन छाडेका छन्। यसले उनीहरूलाई महाधिवेशन हलमा जम्मा हुने आयोजकसहित २ हजार २८६ प्रतिनिधिको उल्लेख्य संख्या अझै कसलाई मत दिने भन्ने टुंगोमा पुगिनसकेको थाहा पाएको देखाउँछ। जबकि, उद्घाटन हुनुअघिसम्म दुवै पक्षले त्यस्तो तटस्थ संख्या एक प्रतिशतभन्दा बढी नरहेको दाबी गर्थे।
उनीहरूको दाबी नमिल्नुमा केही जिल्ला, विभाग र जनवर्गीय संगठनबाट प्रतिनिधि सर्वसम्मत रूपमा चुनिनु प्रमुख कारण रहेको देखिन्छ। त्यसरी सर्वसम्मत चुनिएका प्रतिनिधिले सजिलै कित्ता नखोल्नु तथा मत माग्दा दुवै पक्षलाई नकारात्मक जवाफ नदिनु अस्वाभाविक होइन। त्यसरी आएका प्रतिनिधि एक महीनादेखि खुलेका दुवैतिरका सम्पर्क कार्यालयमा धाएको थाहा पाएपछि दुवै पक्ष झ्न्डै एक चौथाइ प्रतिनिधि तटस्थ रहेको मान्न बाध्य भएको देखिन्छ।
कडा प्रतिस्पर्धा
२१ फागुनमा संसदीय दलको निर्वाचनमा पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरेका ओलीले महाधिवेशनमा पनि सहज विजय पाउने अनुमान गरिएकोमा प्रतिनिधि छनोटपछि नेपालबाट कडा टक्कर बेहोर्नुपर्ने देखिएको छ। उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, तीनमध्ये दुई सचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रदीप नेपाल, मुकुन्द न्यौपाने, केशव बडाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ जस्ता हस्ती ओलीतिर लागेकाले शुरूमा सबैले नेपाल निकै कमजोर हुने अनुमान गरेका थिए।
तर, अनुशासन समितिका अध्यक्ष अमृतकुमार बोहरा, सचिव युवराज ज्ञवाली सहित युवा नेताको पहिचान बनाएकाहरूको साथ लिएर नेपालले दह्रो टक्कर दिने संकेत दिए। उनले भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, पशुपति चौलागाई, प्रकाश ज्वाला, अरुण नेपाल, गोकर्ण बिष्ट, योगेश भट्टराई लगायत युवाहरूको साथ लिएर शक्ति आर्जन गरेको देखिन्छ।
सबै प्रतिनिधिले पक्षधरता खोल्न बाँकी भए पनि खुलिसकेकाहरू नेतृत्वका लागि निर्वाचन भएमा कडा टक्कर हुने स्वीकार्न अप्ठेरो मान्दैनन्। कतिपय प्रतिनिधि त अध्यक्षमा हार–जितको फरक ५०/६० मतको मात्र हुने समेत अनुमान गर्छन्। दुवै पक्षले आफ्नो मुख्य ध्यान अध्यक्षमै लगाएकोले कडा भिडन्त पनि अध्यक्षमै हुने देखिन्छ। त्यस्तो अवस्थामा उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरूमा दुवै प्यानलकाले जित्न सक्नेछन्। यद्यपि, दुवै पक्षले अहिलेसम्म प्यानल घोषणा गरेका छैनन्।
भिडन्त कडा हुने भएकैले दुवै पक्ष तटस्थ र अर्को पक्षमा खुलेका प्रतिनिधिलाई तान्न सम्पूर्ण बल लगाइरहेका छन्। यसका लागि दुवै पक्षले नाता–सम्बन्ध, पुरानो चिनजान, संगत, विगतमा सहयोग गरेको उदाहरण र भावी दिनमा सहयोग गर्ने वचनको प्रयोग गरिरहेका छन्। महाधिवेशन उद्घाटनको दिन र भोलिपल्ट नेता कार्यकर्ताको दौडधुप अन्य कार्यक्रममा भन्दा त्यसमै देखिनुले पनि यही देखाउँछ।
आकांक्षी व्यवस्थापन निर्णायक
अहिलेसम्म दुवै पक्षको शक्ति उस्तै देखिए पनि पदाधिकारी र केन्द्रीय सदस्यका लागि आफ्नो पक्षका आकांक्षीलाई राम्रोसँग व्यवस्थापन गर्न सक्नेले निर्वाचनमा पल्ला भारी बनाउने देखिन्छ। केन्द्रीय कमिटीले प्रस्ताव गरेको विधान पारित भएमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव सहित १४९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ। महाधिवेशनले ती पदहरू घट–बढ गर्ने सम्भावना पनि छ।
सबै पदका लागि दुवै पक्षमा निकै धेरै आकांक्षी छन्। कतिपय त अर्को पक्षले प्यानलमा पारे कित्ता फेर्न पनि तयार देखिन्छन्। अहिले दुवै पक्षलाई त्यस्ता आकांक्षी व्यवस्थापन गर्ने चुनौती छ। प्यानलबाट पद पाउँदा पनि आशा गरे अनुसार वरिष्ठता नपाए कित्ता फेरेर उम्मेदवार बन्ने संकेत पनि देखिन थालेका छन्। यस्तो अवस्थामा झन्डै एकतिहाइ प्रतिनिधिले सामाजिक संजाल फेसबुक मार्फत विभिन्न पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। तीमध्ये कतिपयले पद उल्लेख गरेरै उम्मेदवारी घोषणा गरेका छन् भने केहीले पद नतोकी मत मागेका छन्।
नेपाल पक्षले अहिलेसम्म उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने संकेत दिएकोमा राजेन्द्र पाण्डेले त्यही पदमा फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेका छन्। तर, नेपाल पक्षबाट सुरेन्द्र पाण्डे महासचिवमा उठ्ने करीब करीब निश्चित भएकाले उनका साक्खै दाइ राजेन्द्रले उपाध्यक्ष पाउन गाह्रो देखिन्छ। उता, ओली पक्षबाट उपाध्यक्षमा अहिलेसम्म वामदेव गौतम र विद्या भण्डारी चर्चामा रहेकोमा प्रदीप नेपालले पनि पद नतोकी उम्मेदवारी घोषणा गरेका छन्। ओली पक्षले नेपाललाई नै उपाध्यक्षमा उठाउने सम्भावना पनि छ। ओली पक्षबाट महासचिवमा ईश्वर पोखरेल लगभग निर्विवाद देखिएका छन्।
२० जना मात्र प्रतिनिधि रहेको सिन्धुली जिल्लाका एउटै पक्षबाट पौने दर्जनले केन्द्रीय सदस्यमा उठ्ने भन्दै प्रचार शुरू गरेको पनि देखिन्छ। यस्तोमा पक्षधरताको पर्खाल नाघेर आफू जित्न कैयौंले क्षेत्रीयता, उमेर समूह, जात, लिङ्गको सहारामा साँठगाँठ गर्ने सम्भावना पनि छ। युवा केन्द्रीय सदस्यलाई जिताऔं भन्ने नाममा दुवै प्यानलका केही युवा नेताको संयुक्त प्रचार फेसबुकमा देखिनुले पनि यसको संकेत गर्छ। केन्द्रीय कमिटीका प्रस्तावहरूमा छलफल सकिएर महाधिवेशन निर्वाचनको एजेण्डामा प्रवेश गर्ने वेलासम्म यस्तो प्रक्रिया अरू तीव्र हुने देखिन्छ। त्यसले, महाधिवेशनको शक्ति सन्तुलनलाई फेरबदल गर्न पनि सक्छ।
केन्द्रीय सदस्यका लागि यति धेरै आकांक्षी बढ्नुमा १६ वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्नुलाई एउटा महत्वपूर्ण कारण मानिएको छ। स्थानीय निकायको निर्वाचन भएको भए जिल्ला तहमा रहेका कार्यकर्ताहरू त्यसका विभिन्न ठाउँमा जान्थे वा प्रतिस्पर्धाका लागि पालो कुर्थे। तर, राजनीतिमा अघि बढ्न चाहनेहरूका लागि अहिले सभासद् र पार्टीको केन्द्र मात्रै ठाउँ छन्। केन्द्रमा आउन सक्दा सभासद् पाउन सजिलो हुने तथा स्थानीय निकायको निर्वाचन हुँदा पनि त्यहाँको महत्वपूर्ण पदमा प्राथमिकता पाउने बुझेर सबै त्यसैमा झुम्मिएको देखिन्छ।
कित्ता परिवर्तनको होड
पक्षधरता खुलाएकाहरूले पनि पछिल्लो समय कित्ता परिवर्तन गर्न थालेका छन्। यस्तामा साधारण प्रतिनिधि मात्र नभएर केन्द्रीय सदस्य समेत छन्। प्रतिनिधि छनोट सकिएलगत्तै सेती अञ्चल इन्चार्ज तथा केन्द्रीय सदस्य भानुभक्त जोशीले नेपाल पक्ष छाडे भने उपत्यका इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले महाधिवेशन उद्घाटनको अघिल्लो दिन ओली समूह त्यागेर नेपाल पक्षमा लागे। सेतीको एमाले राजनीतिमा प्रभावशाली मानिएका जोशी र काठमाडौंमा दह्रो मानिएका श्रेष्ठको कित्ता परिवर्तनले पार्ने प्रभाव भने हेर्न बाँकी छ।
कित्ता परिवर्तन गर्नेमा अनेरास्ववियूतर्फकी प्रतिनिधि नवीना लामा पनि पर्छिन्। उनी नेपाल समूहबाट ओली पक्षमा लागेकी छिन्। अध्यक्ष झलनाथ खनाल निकट मानिएका र तटस्थ भनिएका धनकुटा एमालेका अध्यक्ष राजेन्द्र राईले पनि ओली समूह रोजेका छन्। महाधिवेशनको केही दिन अघिसम्म तटस्थ रहेका पर्यटन मन्त्री भीम आचार्य र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल नेपाल पक्षमा खुलेका छन्। आचार्य र पौडेल दुवै अध्यक्ष खनाल निकट मानिन्छन्।
दुवै पक्षका नेताहरूको दौडधुप र दबाबले आउने केही दिनमा कित्ता परिवर्तन अरू बढ्ने देखिन्छ। कुन पक्षमा प्रवेश गर्ने बढी हुनेछन् भन्ने चाहिं महाधिवेशन हलमा कसले आफू हावी हुँदै गएको देखाउन सक्नेछ भन्ने विषयले निर्धारण गर्नेछ। सिद्धान्त र विचारमा दुवै पक्ष सहमतिमा पुगेकाले अहिले प्रतिनिधिहरूले नेपाल र ओलीको छनोट बाहेक कता मतदान गर्दा आफ्नो करिअरमा फाइदा पुग्छ भनेर हेर्ने देखिन्छ। यस्तो अवस्थामा चलायमान प्रतिनिधिहरू जित्ने पक्षलाई मतदान गरेर पार्टीको सत्तासँग नजिक हुनेतर्फ लाग्नेछन्।
त्यसैले अहिले दुवै पक्षले आफू विजय नजिक रहेको देखाउन व्यक्तिगत भेटघाट, अञ्चलगत, जिल्लागत र अनेक नाममा भेटघाट गर्ने तथा सामाजिक सञ्जाल र संचारमाध्यमबाट प्रचार गरिरहेका छन्। ओली पक्षले एक महीनादेखि रातो सूर्य डटकम र नेपाल पक्षले नेपालपाटी डटकमबाट प्रचार अभियान चलाइरहेको छ। अन्य संचारमाध्यममा आफ्नो पक्षको सूचना प्रवाह गर्न र नेताहरूको अन्तर्वार्ता तथा विचार प्रकाशन/प्रसारण गराउन पनि दुवै पक्षले टीम परिचालित गरेका छन्।
खनालको आशा
तीव्र प्रतिस्पर्धामा आफ्नो हात माथि पार्न दुवै पक्षले अध्यक्ष झ्लनाथ खनाललाई आफूतिर तान्न भरमग्दुर प्रयास गरिरहेका छन्। सर्वसम्मत नेतृत्वको कुरा गरिरहेका खनालले भने अधिवेशन उदघाटनको अघिल्लो दिन नेपाल पक्षलाई केही दिन प्यानल घोषणा नगर्न आग्रह गरेर आफ्नो पक्षधरताको संकेत दिएका छन्। नेपाल पक्षले निर्वाचन प्रक्रिया शुरू हुनुअघि नै खनाल र नेपालको संयुक्त वक्तव्य आउने दाबी गरेको छ। त्यसो भएमा हलमा मनोवैज्ञानिक प्रभाव परेर आफ्नो पक्षको जित सहज हुने नेपाल पक्षको विश्वास छ।
यो संभावनाको आकलन गरेको ओली पक्ष मतदान हुँदासम्म खनाललाई तटस्थ राख्ने प्रयासमा छ। चार महीनाअघि मात्र ओलीले संसदीय दलको नेतामा हराएकाले खनालको समर्थन पाउनेमा ओली पक्ष कमै आशावादी देखिन्छ। त्यसैले भरसक खनाललाई आफ्नो पक्षमा तान्ने, नसके तटस्थ राख्ने ओली पक्षको प्रयास छ। त्यसले अपेक्षाकृत सफलता नपाउने देखेर अहिले ऊ खनाल निकट नेता/कार्यकर्ता तान्न बढी जोड दिइरहेको छ।
यस्तोमा नेपालको रणनीति सफल भए खनाल मतदान अगावै नेपाल पक्षमा खुल्नेछन् भने ओलीको रणनीति सफल भएमा अन्तसम्म तटस्थ रहने छन्। दुवै पक्षबीच विवाद चर्किएर सर्वसम्मत अध्यक्ष बनिने संभावना देखिएको अवस्थामा भने खनाल मतदान अघिसम्म पनि नखुल्न सक्छन्। सार्वजनिक रूपमा उनले आफू तटस्थ नै बस्ने बताएका छन्।
_________________________________________________________________________________
प्रविधिमय महाधिवेशन
प्रविधि र विद्युतीय आपूर्तिमा भएको गडबडीका कारण एमालेको नवौं महाधिवेशनको उद्घाटन समारोह अपेक्षाकृत ‘हाइटेक’ भएन। रिमोर्टबाट सञ्चालित दुई रोबोटले पुष्पवृष्टि गराए पनि रोबोटबाटै पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्न नमिलेपछि पार्टी अध्यक्ष झलनाथ खनालले गरे। महाधिवेशन मूल आयोजक समितिका सचिव विष्णु रिमाल भित्र आउन नपाएका कार्यकर्ताको आक्रोश र विद्युत् आपूर्तिको गडबडीले तयारी अनुसारको प्रविधि प्रयोग गर्न नसकिएको बताउँछन्।
तर, एमालेको नवौं महाधिवेशनमा प्रचारको नाममा पोष्टर टाँसिएन, वाल पेन्टिङ गरिएन भने पम्प्लेट पनि बाँडिएन। सामाजिक सञ्जाल र अन्य प्रविधि प्रयोग गरेर प्रचार गरियो। जुलूस/र्याली पनि यो पटक एमालेले निकालेन।
महाधिवेशनमा उम्मेदवार बन्ने योजनामा रहेका एमाले नेताहरूले पनि पर्चा र पोष्टरको साटो सामाजिक सञ्जाल र प्रविधिको प्रयोग गरेर प्रतिनिधिहरूसँग मत मागेका छन्। अध्यक्षका आकांक्षी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली लगायत अन्य पदका आकांक्षीहरूले पनि मत माग्न एसएमएस प्रयोग गरेका छन्। उनीहरूले आफ्नो पक्षका भेला लगायत कार्यक्रमबारे जानकारी दिन पनि एसएमएसको सहयोग लिएका छन्।
समाचार संकलनमा संचारकर्मीलाई सहज गराउन महाधिवेशनस्थल भृकुटीमण्डपको मूल प्रवेशद्वारमा वाइफाईयुक्त मिडिया सेन्टर स्थापना गरिएको छ। महाधिवेशनको हरेक दिनको जानकारी पत्रकार सम्मेलन मार्फत गराउने व्यवस्था मिलाइएको छ। महाधिवेशन प्रतिनिधि र स्वयंसेवकहरूलाई उपलब्ध गराइएको डिजिटल कार्डमै खाजा र खानाको कुपन व्यवस्था गरिएको छ। यसले कुपन नपाउँदा पनि उनीहरूलाई समस्या पर्ने छैन। उदघाटन र बन्द सत्रका लागि प्रतिनिधिलाई समेत अलग अलग कार्ड दिइएको थियो।
महाधिवेशनमा मतदान भएमा कागजको मत हाल्न र मत गन्न लाग्ने समय र खर्चलाई घटाउन विद्युतीय मेशीन प्रयोग गर्ने एमालेको तयारी छ।
महाधिवेशनस्थलमै मेशीन र भोट हाल्ने तरिकाबारे प्रतिनिधिलाई व्यावहारिक तालिम दिएपछि ६० वटा विद्युतीय मेशीन प्रयोग गरिने महाधिवेशन मूल आयोजक समितिका सचिव रिमालले जानकारी दिए।
___________________________________________________________________________________
नेताका सारथि
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
