थप समाचारमंगलबार, आषाढ २४, २०७१

रक्त अल्पताको ‘रोग’

हिमालखबर

– यामु कँडेल

रक्त अल्पता भएर प्रसूति गृह थापाथलीमा उपचाररत नेपालटार, काठमाडौंकी एलिना गौचन (१८)।

चार वर्षको अवधिमा दुई छोरा जन्माउँदा सिन्धुली घर भई काठमाडौं शंखमूलमा बस्ने निर्मला रम्तेल (२०) को झन्डै ज्यान गएन। १० वैशाखमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा दोस्रो सन्तान जन्माएकी उनले गर्भावस्थामा एक पटक पनि स्वास्थ्य परीक्षण नगराएकाले शरीरमा रगतको मात्रा ९ प्वाइन्टबाट घटेर जोखिम अवस्था मानिने ६ प्वाइन्ट पुगेको थियो। सुत्केरी हुँदा ४ प्वाइन्ट रगत दिएर रक्त अल्पता घटाउन खोज्दा पनि उनको शरीरमा रगत ७ प्वाइन्टभन्दा बढ्न सकेन। स्वस्थ महिलाको शरीरमा कम्तीमा ११.५ प्वाइन्ट रगत हुनुपर्ने चिकित्सक बताउँछन्।

१५ वर्षकै उमेरमा विवाह गरेकी उनको शरीरमा रगतको मात्रा कम हुनुमा गर्भवती हुँदा पोषिलो खाना चाहिने थाहा नपाउनु र आर्थिक अभावले खान नसक्नु कारण देखिन्छ। उनको उपचारमा संलग्न नर्स हीरा काफ्ले माछा, मासु, अण्डा, फलफूल र दूध–दही नखाएकाले शरीरमा आइरन र प्रोटिन कम भएको बताउँछिन्। गर्भवती हुँदा नै चक्कर लाग्ने, थोरै काम गर्दा पनि थकाइ लाग्ने र थोरै हिंड्दा पनि मुटुको धड्कन बढ्ने समस्याले सताए पनि निर्मलाले त्यसको कारण थाहा पाउन सकेकी थिइनन्।

सुत्केरी हुँदा तागतिला खानेकुरा नपाउने गर्भवती महिला कमजोर र रोगी बन्छन्। तर, पोषिलो खान सक्ने अवस्थाकी काठमाडौं वसन्तपुरकी शान्ति राहुल (२०) लाई पनि रक्त अल्पता हुनुले समस्या आर्थिक अभाव मात्र रहेको देखिंदैन। पोषिलो खानुपर्ने ज्ञान नभएर रक्त अल्पता भएकी उनले गर्भवती भएको सात महीनामा थापाथलीको प्रसूति गृहमा २० वैशाखमा एक किलोकी ‘प्रिमेच्योर’ छोरी जन्माइन्। कम तौल भएकाले जन्मनासाथ आईसीयूमा राखिएको छोरीको जीवनको चिन्तामा रहेकी उनको शरीरमा पनि ९ प्वाइन्ट रगत मात्र बाँकी थियो।

रक्त अल्पताका कारण कम तौलको बच्चा जन्माएकी बसन्तपुर, काठमाडौंकी शान्ति राहुल (२०)।

डेढ वर्षअघि जमार राहुल (२७) सँग प्रेम विवाह गरेकी शान्तिले स्वाद मन नपर्ने भन्दै हरियो सागपात, फलफूल र दूधदही खान्नथिन्। मासुभात खाने गरेको भए पनि त्यसले उनको शरीरमा हेमोग्लोबिनलाई आवश्यक मात्रामा राखेन। टाउको दुख्ने र रिंगटा लाग्ने समस्याबाट छुटकारा पाउन चिकित्सकको सल्लाहमा नियमित आइरन चक्की खाएकी उनलाई पोषिलो खानेकुरा नखाएर छोरी दुब्ली र ख्याउटे भएकोमा पछुतो छ।

तीन छोराछोरीकी आमा बनिसकेकी काठमाडौं बानियाटारकी रागिनी तिवारी (३०) ले चिकित्सकको सल्लाह नलिई औषधि खाएर अनिच्छित गर्भ तुहाएकोले स्वास्थ्य समस्या बेहोर्नुपरेको छ। गर्भ तुहाएको दुई महीनासम्म रक्तस्राव नरोकिएपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर आइरन चक्की खान थाले पनि तीन महीनामा फेरि रक्तस्राव हुनथाल्यो। पोषिला खानेकुरा खान नसकेर प्रोटिन तथा क्याल्सियम शरीरमा नपुग्दा कमजोरीले बेहोश हुनथालेपछि श्रीमान् रेशम (३७) सँग २६ वैशाखमा दोस्रो पटक उपचार गर्न शिक्षण अस्पताल पुग्दा उनको शरीरमा ५.६ प्वाइन्ट मात्र रगत थियो। दुई प्वाइन्ट रगत चढाउँदा पनि उनको शरीरमा रगतको मात्रा ६.६ भन्दा बढ्न सकेन।

बालविवाह र अनिच्छित गर्भ

शरीरमा कुपोषण हुँदा, रगत र आइरनको कमी हुँदा, जुका पर्दा र वंशानुगत कारणले हेमोग्लोबिनको मात्रा कम भएर रक्त अल्पता हुने गर्छ। शरीरमा रगतको प्रवाह कम हुँदा अक्सिजन प्रवाह कम हुने तथा त्यसले थकान र कमजोरी बढाएर श्वासप्रश्वासको गति र मुटुको धड्कन बढाएर डर लाग्ने, मन आत्तिने तथा आँखा र नङ सेतो हुुने समस्या ल्याउँछ। पुरुषमा भन्दा गर्भवती र सुत्केरी महिलामा बढी देखिने यस्ता समस्या उमेर नपुग्दै विवाह गर्ने र अनिच्छित गर्भ तुहाउने महिलामा अझ् बढी हुने डा. अरुणा उप्रेती बताउँछिन्।

धेरै महिलालाई भिटामिन र आइरन पाइने पोषणयुक्त खानाबारे जानकारी नहुनु र त्यस्ता खानामा पहुँच नहुनु रक्त अल्पताको अर्को कारण भएको उनको भनाइ छ। निर्धनहरू बढी बसोबास गर्ने ग्रामीण क्षेत्रका महिलामा यस्तो समस्या बढी रहेको तथा उनीहरूबाट जन्मिने शिशुको तौल कम हुने, प्रतिरोधात्मक शक्ति कम हुने, छाती दुख्ने, श्वासप्रश्वास र झाडापखाला जस्ता सरुवा रोगले समात्ने गर्छ।

झन्डै ४८ प्रतिशत गर्भवती र ३८.५ प्रतिशत १५ देखि १९ वर्षका किशोरीमा रक्त अल्पता समस्या देखिएको नेपाल डेमोग्राफिक हेल्थ सर्भे २०११ को निष्कर्ष छ। राष्ट्रिय जनगणना २०६८ ले १५ देखि १९ वर्षमा ४८.९ प्रतिशत र १४ वर्षभन्दा कम उमेरमा ११.५ प्रतिशत महिलाले विवाह गरेको देखाएको छ। रक्त अल्पताको समस्या कम गर्न नेपाल सरकारले सन् २००४ देखि आइरन तथा फोलिक एसिड खुवाउन शुरू गरेकोमा सन् २००६ देखि २०११ सम्मको तथ्याङ्कले रक्त अल्पताका बिरामी एक प्रतिशत मात्र घटेको देखाउँछ। सो तथ्याङ्कले ग्रामीण क्षेत्रका ३६ र शहरी क्षेत्रका २८ प्रतिशत महिलामा रक्त अल्पताको समस्या देखाएको छ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाश रेग्मी कम उमेरमा आमा बन्नेहरूमा रक्त अल्पताको जोखिम बढिरहेको बताउँछन्। रक्त अल्पता भएकाहरूलाई उमेर वृद्धि हुँदै जाँदा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने र श्वास–प्रश्वास लगायत समस्या बढ्ने उनको भनाइ छ। रक्त अल्पता भएका महिला सुत्केरी हुँदा मुटुमा भार बढी परेर हृदयघात भई मृत्यु हुने सम्भावना बढी हुने पनि उनी बताउँछन्। यही कारण अहिले एक हजार सुत्केरीमा ३७ जना र एक हजार शिशुमा ४६ जनाको मृत्यु हुने गरेको छ।

समाधान छ

गर्भवती हुँदा शरीरमा रगत बढाउन माछामासु र अण्डा नै खानुपर्छ भन्ने छैन। घरखेतमा फल्ने फलफूल, हरिया तरकारी तथा सागपात र दूध दहीले पनि शरीरमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ। डा. उप्रेती घरमा पाउने चुकन्दर, लट्टेको साग, भटमासले शरीरलाई आइरन तथा प्रोटिन दिने बताउँछिन्। फलामे भाँडोमा पकाएर खानेकुरा खाँदा आइरन चक्कीबाट भन्दा बढी आइरन पाइने उनको भनाइ छ। क्वाँटी, घिउ चाकु, सक्खर, तिलको अचार पनि पौष्टिक हुने उनी बताउँछिन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>