ब्लगमंगलबार, आषाढ २४, २०७१
प्रकाशको उज्यालो यात्रा
विश्वका ६०० वैज्ञानिकको बृहत् भेलामा आफ्नो वैज्ञानिक मान्यता साथ भाग लिएका छन् झापा धरम्पुर–८ शुक्रबारेका प्रकाश बजगाईं।
जर्मनीको बिन्डाउमा २९ जूनदेखि ४ जुलाइसम्म भएको मिटिङ अन नोबेल लिटरेचर मा भाग लिएका उनी एक्ला नेपाली हुन्।
सम्मेलनमा भाग लिएका वैज्ञानिकमध्ये ९० जना विज्ञानका विभिन्न विधामा नोबेल पुरस्कार पाइसकेका प्रसिद्ध वैज्ञानिक, ८० प्रतिशत विज्ञानका विधावारिधि, १० प्रतिशत एमफिल गरिसकेका, ५ प्रतिशत स्वतन्त्र अन्वेषक र ५ प्रतिशत विज्ञानमा स्नातक गर्दै खोज अनुसन्धानमा संलग्न युवा वैज्ञानिक थिए।
पहिलो चरणका २१ हजार प्रतिस्पर्धीमध्ये छानिएका २५० मा प्रकाश शुरुकै १८औं नम्बरमा छानिएका हुन्।
२२ वर्षे युवक सानैदेखि पाठ्यपुस्तकमा भएका विज्ञानका नियममाथि प्रश्न उठाउने दुस्साहस गर्दथे। घरमा तार जोडजाड गरी रेडियो र टेलिभिजनका सेट बिगारेर हैरान पार्दथे।
खोजकै सिलसिलामा उनी उन्नाइसौं शताब्दीमा बेलायती वैज्ञानिक न्युटनले प्रतिपादन गरेको घर्षण सतहमा निर्भर हुँदैन भन्ने मान्यता अधुरो भएको तथ्य स्थापित गर्दैछन्।
भन्छन्, “घर्षण सतह, पदार्थका सम्पर्कमा आउने अणु लगायत धेरै कुराबाट प्रभावित हुन्छ।”
प्रकाशले १८ वर्षको उमेरमा १२ कक्षा पढ्दा पढ्दै निकालेको पुस्तक वे टु साइन्स एण्ड रिसर्च विज्ञानतर्फको सन् २०१२को उत्कृष्ट पुस्तक भएको थियो। उनी दोस्रो कृति ह्वाट वर्ल्ड थिंक को तयारीमा पनि उत्तिकै लागेका छन्।
त्यो कृति उनको सम्पर्कमा आएका मानिस विज्ञान, राजनीति, यौन, प्रेम जस्ता विषयमा के मान्यता राख्छन् भन्ने विषयमाथिको खोज हुनेछ। करीब ७०० मानिसका त्यस्ता मान्यता उनको पुस्तकमा समेटिने छन्।
उनी २०११ मा चीनको बेइजिङमा भएको वर्ल्ड साइन्स एक्स्पो र २०१२ मा इजरायलको जेरुसेलममा भएको छैटौं एशियाली वैज्ञानिक सम्मेलनमा पनि सहभागी भइसकेका छन्।
यसबाहेक पछिल्ला तीन वर्षको बीचमा उनले डेनमार्क र टर्कीमा भएका वैज्ञानिकहरुका भेलामा पनि भाग लिइसकेका छन्।
काठमाडौंको गोल्डेनगेट कलेजका विज्ञानमा स्नातक तहका छात्र प्रकाशको ताजा खोज पानीमा केन्द्रित छ।
उनी पानीका अणु एकापसमा कसरी प्रभावित हुन्छन् भन्ने गहिरो खोजमा लागेका छन्। पानीको एउटा थोपाले अर्को थोपालाई ०.६ सेकेन्डमा संरचनागत रुपमा प्रभावित गर्ने गरेको अनुसन्धानको प्रारम्भिक निष्कर्ष रहेको उनी सुनाउँछन्।
उनले भने “म यसमा अझै गहिरोसँग पस्दैछु।” उनी हावामा के तत्व छ भन्ने विषयमा धेरैजसो खोज हुन बाँकी रहेको निधोमा पनि पुगेका छन्।
बिन्डाउमा सम्पन्न विश्व वैज्ञानिक सम्मेलनमा आफ्नो खोजबारे २० मिनेटको प्रवचन दिएको उनले बताए। सम्मेलनमा उनले आफ्नो खोज र त्यसका प्रारम्भिक निष्कर्ष सुनाउने र वैज्ञानिकहरुबाट सुझाव लिने बताएका छन्।
गोपाल गडतौला, झापा
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
