खेलकुदबुधबार, आषाढ २५, २०७१

जर्मनी ब्राजिललाई ७–१ ले हराउँदै फाइनलमा, नयाँ रेकर्ड कायम

हिमालखबर

ब्राजिल विरुद्ध ७–१ ले खेल जितेपछि खुशियाली मनाउँदै गर्दै जर्मनीका खेलाडी बायाँबाट क्रमशः गोलकिपर रोबर्ट जिलर, डिफेन्डर म्याथियस गिन्टर, फरवर्ड थोमस मुलर, डिफेन्डर फिलिप ल्हाम, मिडफिल्डर बास्टियन स्वेसटेइगर र मिडफिल्डर मेसुट ओजिल । तस्वीर: एएफपी

ब्राजिलको बेलो होरिजोन्तेमा रङ्गशालामा भएको पहिलो सेमीफाइनल खेलमा जर्मनीले ब्राजिललाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको हो । छैटौँपटक उपाधि जित्ने लक्ष्य बोकेर मैदानमा उत्रेकोे ब्राजिल आफ्ना लाखौँ समर्थकलाई रुवाउँदै प्रतियोगितामा ७–१ को लज्जास्पद हार बेर्होन बाध्य बन्यो ।

विश्वकपको इतिहासमा नै जर्मनीले ब्राजिललाई यति फराकिलो गोल अन्तरले पराजित गरेको यो पहिलोपटक हो भने सेमिफाइनल खेलमा सात गोल गर्दै जर्मनीले नयाँ कीर्तिमानसमेत कायम गरेको छ । हालसम्मको विश्वकपको सेमिफाइनलमा कुनै पनि टोलीले सात गोल गर्न सकेका थिएनन् ।

यस्तै जर्मनीले फराकिलो अन्तरले जित हासिल गरेको यो दोस्रोपटक हो । यसअघि सन् २००२ मा भएको विश्वकपमा जर्मनीले साउदी अरेबियालाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।

खेल शुरु भएदेखि नै जर्मनी मैदानमा हावी भएको थियो । मध्यान्तरसम्ममा जर्मनीले ५–० को अग्रता बनाइसकेको थियो । जर्मनीले ७ मिनेटको अवधिमै ४ वटा गोल गर्‍यो । जर्मनीले लगातार गोल वर्षा गरिरहँदा ब्राजिल समर्थकहरु असमञ्जसमा देखिन्थे । खेल मैदानमा लाग्थ्यो, जर्मनीका प्रत्येक खेलाडीले गोल गर्दैछन् ।

जर्मनीले ब्राजिलविरुद्ध लगातार गोल गरेपछि ब्राजिल समर्थकहरुको प्रतिक्रियाका तस्वीरहरु । तस्वीरः एएफपी

यो जितसँगै जर्मनी १२ वर्षपछि फाइनल चरणमा प्रवेश गरेको छ । यसअघि सन् २००२ मा भएको विश्वकपमा जर्मनी फाइनलमा पुगेको थियो ।

विश्वकप फुटबलको इतिहासमा ब्राजिलको यति फराकिलो गोल अन्तरले पराजित भएको पनि पहिलोपटक हो । यसअघि सन् १९९८ मा ब्राजिल फ्रान्ससँग ३–० गोलअन्तरले हार बेहोरेको थियो ।

जर्मनीको जितमा आन्द्रेइ शुर्ले र टोनी क्रुजले समान दुई–दुई गोल गरे भने थोमस मुलर, सामी खडीरा तथा मिरास्लाभ क्लोजले समान एक–एक गोल थपे ।

जर्मनीका थोमस मुलरले खेल सुरुवाती ११ औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेपछि जर्मनीले लगातार गोल बर्सायो । मिरोस्लाभ क्लोजले खेलको २२ औं मिनेटमा एक गोल थपे । क्लोजले गोल गरेको दुई मिनेट पनि बित्न क्रुजले लगातार दुई गोल थपे । उनले खेलको २४ र २५ औँँ मिनेटमा गोल गरे ।

यस्तै जर्मनीका अर्का खेलाडी सेमी खदिराले खेलको २९औँ मिनेटमा एक गोल थपेपछि जर्मनले खेलको पहिलो हाफसम्म ५–० गोलको अग्रता बनायो । खेलको दोस्रो हाफमा ब्राजिल गोल फर्काउन निकै प्रयासरत रहे पनि उल्टो दोस्रो हाफमा दुई गोल खायो ।

खेलको ६९औँ र ७९औँ मिनेटमा शुर्लेले दुई गोल थप्दै जर्मनीलाई ७–१ को सहज जित दिलाए ।

मेक्सिकन रेफ्री मार्को रोड्रिग्वेज ब्राजिलका डिफेन्डर डेभिड लुइज र जर्मनीका फरवर्ड थोमसले विवाद गर्न थालेपछि छुट्टयाउँदै । तस्वीरः एएफपी

यस जितसँगै जर्मनीका खेलाडी मिरास्लाभ क्लोजले सबैभन्दा बढी गोल गर्ने खेलाडीको नाममा नयाँ कीर्तिमान कायम गरेका छन् ।

उनले विश्वकपमा १६ गोल गर्दै सबैभन्दा बढी गोल गर्ने खेलाडीका रूपमा नयाँ कीर्तिमान कायम गरेका हुन् । यसअघि उक्त कीर्तिमान ब्राजिलका स्ट्राइकर रोनाल्डोको नाममा थियो । रोनाल्डोको गोलसङ्ख्या १५ रहेको छ ।

ब्राजिलका लागि भने ओस्कारले खेलको अन्तिम समयमा एक गोल फर्काएका थिए ।

फाइनलमा जर्मनीले अर्जेन्टिना र नेदरल्याण्ड्सका बीच हुने दोस्रो सेमीफाइनलको विजेताको सामना गर्ने छ । नेपाली समय अनुसार २५ असार राति १ः४५ मा अर्जेण्टिना र नेदरल्याण्ड्स भिड्दैछन् ।

तेस्रो स्थानका लागि ब्राजिल दोस्रो सेमिफाइनलमा हार्ने टिमसँग प्रतिस्पर्धा गर्ने छ ।

विश्वकप फुटबलमा ब्राजिलको यो अहिलेसम्मकै खराब प्रदर्शन मानिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...