टिप्पणीबुधबार, आषाढ २५, २०७१
कार्यवाहकको संकेतले पौडेल उत्साहित
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य स्थिति गम्भीर भएर उपचार गराउन अमेरिका लागेपछि पार्टी नेतृत्व हस्तान्तरणको मुद्दाले जोड पक्रेको छ। कोइराला जानुअघि नै रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री नियुक्त गर्नेबारे चर्चा चलेको थियो। स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री बनाउन वामदेव गौतम वरिष्ठ भएकाले मिलेन। सिंहलाई कार्यवाहक बनाउँदा गठबन्धनको सहयात्री एमाले असन्तुष्ट हुने खतरा मोल्न उनले चाहेनन्। पार्टीको कार्यवाहक सभापति बन्न नपाएकोमा रुष्ट पौडेलले पनि उपप्रधानमन्त्री बन्दा अवसरवादीको आरोप लाग्ला भनेर त्यो चाहना नदेखाएकाले गौतम कार्यवाहक प्रधानमन्त्री हुन पाए।
संसदीय दलको नेताको चुनावमा प्रतिस्पर्धा गर्ने भने पनि पौडेलले अन्तिम अवस्थामा कोइरालालाई सघाएका थिए। त्यसो गर्नुअघि उनले आफूलाई कार्यवाहक सभापति बनाउने वचन कोइरालासँग लिएका थिए। बीपी कोइरालाको आखिरी दिनहरूमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई नेता त्रय मानिए जस्तै अहिले पनि कोइराला, शेरबहादुर देउवा र आफूलाई लिइने हुनाले उनले त्यस्तो आशा राखेका थिए।
२०४६ पछिको सत्ता संघर्षमा कांग्रेसमा ३६ र ७४ गुट देखा परेकोमा ३६ का नेता देउवा बन्न पुगे। २०५८ मा पार्टी फुट्ने बेला अध्यक्ष बन्न देउवाको प्रस्ताव नमानेर उनले गिरिजाप्रसाद कोइरालालाई साथ दिए। पौडेलको राजनीतिको प्रारम्भ भने भट्टराईसँग निकट थियो, तर सत्ता संघर्षमा उनले सधैं कोइरालाहरूलाई साथ दिए। गिरिजाप्रसादको सरकारको गृहमन्त्रीबाट २०५८ मा राजीनामा गर्ने हतारो देखाउनुबाहेक उनले गिरिजाप्रसादको मन दुखाएका थिएनन्। त्यही भएर पनि उनले कहिल्यै ठूलो गुट बनाएनन्। अहिले कांग्रेस ६० र ४० को भागबन्डामा चल्दा पौडेलले अलग्गै भाग नपाउनुमा त्यो नै मुख्य कारण हो। अहिले उनले कोइरालाको कोटाबाटै भाग लिनु परेको छ। त्रय नेतामा परे पनि तथा संसदीय दलको नेता भएर पनि प्रधानमन्त्री हुन नपाएका उनी मात्र हुन्।
एकताको १२औं महाधिवेशन पछि पौडेलले पार्टी उपसभापतिको नाताले नीति तथा प्रशिक्षण प्रतिष्ठानको पदेन प्रमुख पनि पाएका थिए। त्यस हिसाबले उनले प्रशिक्षण पनि दिने गरेका छन्। स्थानीय निकायको चुनाव ६ महीनाभित्र गर्ने संकल्प लिएर कांग्रेस संविधानसभा चुनावमा गएकोमा स्थानीय निकायको चुनाव सम्बन्धी प्रशिक्षण गराउन चाहँदा भने उनी विवादमा परे। कोइरालाले पौडेललाई कार्यवाहक सभापति नदिनुमा देउवाको अवरोध प्रमुख देखिन्छ। यसो हुँदा पौडेलको अर्काे गुट र नयाँ शक्ति केन्द्र बन्ला भन्ने उनको आशंका देखिन्छ।
प्रधानमन्त्रीको स्वास्थ्य गम्भीर भएपछि भने कोइराला पक्षधर नै पौडेलकोमा जान थालेका छन्। शेखर कोइराला र पौडेलबीच पहिलेदेखि नै राम्रो सम्बन्ध थियो। अहिले शशांक कोइराला पनि पौडेल निवासमा ओहोरदोहोर गर्न थालेका छन्। यो हिसाबले कांग्रेसको आगामी महाधिवेशनसम्ममा पौडेल संस्थापनबाट सभापतिको उम्मेदवार हुने सम्भावना बढेको छ। संविधान जारी भएपछि सुशील प्रधानमन्त्री र सभापति पनि छाड्ने मनस्थितिमा छन्।
उता, कोइराला अमेरिका लागेपछि देउवाले पनि राजनीतिक भेटघाट तीव्र बनाएका छन्। तर, उनलाई सोचे जस्तो सजिलो छैन। भलै, संस्थापनकै केहीले पार्टी महाधिवेशनबाटै देउवा सभापति हुने सम्भावना देखेर आत्तिएका छन्। पार्टीका भ्रातृ संगठनहरू ट्रेड युनियन, दलित संघ र शिक्षक संघमा देउवा समूहले जितेर त्यसको संकेत देखाएको छ। तर, सुशीलले प्रधानमन्त्री छाडेपछि संसदीय दलको नेताको चुनाव नभई प्रधानमन्त्रीको टुंगो लाग्ने छैन। किनभने पार्टीको विधानमै प्रधानमन्त्री हुन संसदीय दलको नेता हुनुपर्ने उल्लेख छ।
त्यसैले अब संसदीय दलको नेता बन्न नै हानथाप चल्ने देखिन्छ। हिन्दू राज्य हुनुपर्छ भन्नेहरूले केवी गुरुङ्गलाई संसदीय दलको नेतामा अघि सार्ने सम्भावना देखिन थालेको छ। कोइराला परिवारले पछि आफैंलाई अघि बढाउने योजना पूरा गर्न पनि पौडेललाई सेतु बनाउनु आवश्यक छ। तर, यो क्रममा महामन्त्री कृष्णप्रसाद सिटौला वा प्रभावशाली नेता अर्जुननरसिंह केसीमध्ये एकले कोइराला क्याम्प छोडे भने देेउवाको पल्लाभारी हुन सक्नेछ। तर, यस्तो खतरालाई टार्न विधान संशोधन गरेर उपसभापतिको संख्या बढाउने तयारी पनि हुँदैछ। सामाजिक सुरक्षा उन्मुख वितरणमुखी बजेटको अपेक्षा गरेका नेपाली कांग्रेसको पंक्ति नवउदारवादी अर्थमन्त्री रामशरण महतबाट निराश भएको बेला पौडेल शक्तिमा आउने प्रतीक्षामा छ।
प्रधानमन्त्री कोइरालाले फोनबाट कार्यवाहक सभापतिका रूपमा काम गर्न आग्रह गरेपछि पौडेल उत्साहित बनेका छन्। उनले संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठक डाक्नुको कारण त्यही हो। उनले यसलाई अवसरको रूपमा लिएको देखिन्छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट