रिपोर्टबुधबार, आषाढ २५, २०७१

लिभिङ टुगेदरः महिलालाई पासो

हिमालखबर

– मीना शर्मा

सानु लामा। तस्वीरहरुः देबकी बिष्ट

पछिल्ला वर्षहरू खास गरेर काठमाडौंमा बिहे नगरी सँगै बसेका अधिकांश जोडी महँगीमा बसाइँ सस्तो हुने र सुरक्षित पनि भइने हुनाले मन मिलेको साथीसँग ‘लिभिङ टुगेदर’ गरेको बताउँछन्। तर, तिनै जोडीहरू यस्तो सम्बन्धको आगोमा नराम्ररी पिल्सिएका छन्। स्नातकोत्तर तहमा अध्ययनरत मोरङकी रसिका कार्की (२५) भन्छिन्, “यस्तो गल्ती गरियो कि जीवन नै बर्बाद होला जस्तो छ।”

स्नातक पढ्न राजधानी आएकी उनी शुरूका दुई वर्ष एक्लै बसिन्। यसबीचमा नजिकिएका ‘क्लासमेट’ विशाल शर्माले पछि बिहे गर्ने गरी सँगै बसौं भन्दा खर्च र सुरक्षाको हिसाबमा पनि ठीकै लागेको रसिका बताउँछिन्। त्यसपछिको समयमा भने विशालले कोसँग बोल्ने वा नबोल्ने, कस्तो कपडा लगाउने, फेसबुकमा कस्तो फोटो राख्ने लगायतका कुरामा नियन्त्रण बढाउन खोजेको रसिकाको आरोप छ।

पढाइ सकिएर रोजगार भएपछि बिहे गर्ने समझदारीमा सँगै बसेको यो जोडी अध्ययन नसकिंदै एक–अर्काका समस्या बनेका छन्। त्यति मात्र होइन, शर्त अनुसार बिहे नगर्ने, अरूसँग पनि हुन नदिने र घरपरिवारलाई सबै कुरा भनिदिने विशालको धम्कीले रसिकालाई धेरै तनाव दिएको छ।

लिभिङ टुगेदरमा रहँदा 'पार्टनर' ले कुटपिट गरेको अनु शाहको खत।'

घर न घाटको अवस्था

काठमाडौंको एक सञ्चार गृहमा प्राविधिक रहेकी दाङकी अनु शाह (२४) पनि ‘लिभिङ टुगेदर’ का कारण ‘न घर न घाट’ हुन पुगेको बताउँछिन्। फेसबुकबाट नजिकिएका सुनार थरका एक पत्रकारले बिहे गर्ने आश्वासन दिएर डेढ वर्षसम्म शारीरिक, मानसिक र आर्थिक शोषण गरेर अलपत्र पारेको उनले बताइन्। “उसले अरू केटीहरूसँग पनि सम्बन्ध राखेको थाहा पाएपछि शर्त अनुसार बिहे गरौं भन्दा धेरै कुटपिट गर्‍यो”, अनु भन्छिन्। कुटपिटको चोट उनको शरीरबाट अझै हराएको छैन।

उदयपुर, गाईघाटका राजेन्द्र दनुवारसँग काठमाडौंमा ‘लिभिङ टुगेदर’ को सम्बन्धमा बसेकी सिन्धुपाल्चोककी अनिशा नेपाल (२४) को पनि अहिले बेहाल छ। २०६२ को फागुनमा माओवादीको जनसांस्कृतिक समूहबाट भागेर काठमाडौं आएकी उनले शुरूमा होटलमा सरसफाइको काम गरिन्। त्यही समयमा चिनजान भएका राजेन्द्रले परिस्थिति सहज भएपछि बिहे गर्ने आश्वासनका साथ सँगै बसौं भने। तर, सँगै बसेको डेढ वर्षमा उनले अर्को बिहे गरेर आफूलाई अलपत्र पारेको अनिशा बताउँछिन्।

इलामका मनोज खत्रीसँगको ‘लिभिङ टुगेदर’ मा पाएको शारीरिक–मानसिक यातनाबाट विक्षिप्त काठमाडौंकी सानु लामा (२३) अहिले एउटा गैर–सरकारी संस्थाको आश्रयमा बसेर पुरानो कुरा बिर्सने कोशिशमा छिन्। अढाइ वर्ष सँगै बस्दा मनोजले रु.२ लाख पनि खाइदिएको र यस बीचमा दुई पटक बच्चा फाल्न बाध्य पारेको पीडा सानु सुनाउँछिन्। अरूसँग बोल्दा पनि निर्मम कुटपिट सहेकी सानुले अब कुनै सीप सिकेर नयाँ जीवन शुरू गर्ने विचार गरेकी छन्।

अनिशा नेपाल।

पछि बिहे गर्ने सल्लाह गरेर काठमाडौंका सञ्जय कार्कीसँग ‘लिभिङ टुगेदर’ मा बसेकी नुवाकोटकी लक्ष्मी तामाङ (२२) पनि अहिले ठूलो तनावमा छिन्। “सँगै बसेको दुई वर्षमा नागरिकता बनाइदेऊ भन्दा उसले मलाई १६ वैशाखमा छोड्यो”, लक्ष्मी भन्छिन्, “अहिले बिहे गर्दैछ भनेको सुन्दैछ।”

कानून चाहिन्छ

पश्चिमा मुलुकहरूमा एकअर्काको शारीरिक, आर्थिक र सुरक्षाको आवश्यकता पूरा गर्ने समझ्दारीमा सँगै बस्ने, मन मिले बिहे गर्ने र नमिले अलग हुने ‘लिभिङ टुगेदर’ नेपालमा भने खासगरी महिलाका लागि गलपासो सावित हुँदैछ। समाजको ध्यान उति आकृष्ट नभएको मात्र हो, बिहेको आश्वासनमा हुने ‘लिभिङ टुगेदर’ भुसको आगो झैं सल्किरहेको छ। यौनजन्य हिंसा र बाध्यात्मक देहव्यापार विरुद्ध काम गर्ने गैर–सरकारी संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थापा भन्छिन्, “शहरमा बढ्दो ‘लिभिङ टुगेदर’ लाई कानूनी दायरामा ल्याउन ढीलो भइसकेको छ।”

मन मिलुञ्जेलको सम्बन्धलाई हतियार बनाएर एकले अर्कालाई दुःख दिने प्रवृत्ति बढेको बताउने अधिकारकर्मी मोहना अन्सारी पनि सामाजिक–सांस्कृतिक मूल्यमान्यता विपरीत ‘मेरो निजी जीवन हो, जे गर्दा पनि हुन्छ’ भन्दै गरिने ‘लिभिङ टुगेदर’ को अपरिपक्व निर्णयले निम्त्याएको समस्या रोक्न कानून अत्यावश्यक भएको बताउँछिन्। समाजशास्त्री चैतन्य मिश्र त्यस्तो कानूनले ‘लिभिङ टुगेदर’ मा बस्नेहरूको शर्तको रेकर्ड राख्ने व्यवस्था गर्नुपर्ने बताउँछन्। मिश्र भन्छन्, “त्यस्तो दर्ता प्रक्रियाले अरूलाई दुःख दिने नियतले बसेका व्यक्तिहरूलाई सचेत बनाउन र बदमासी गरे कारबाही गर्न सजिलो बनाउँछ।”

_____________________________________________________________________________________

‘ठूलो पिरलोमा छु’

रिमा तामाङ (२१) दामन, मकवानपुर

माओवादीको कमाण्डर हुनुभएका बुवा भिडन्तमा मारिएपछि बदला लिन दाजु पनि माओवादीमा लाग्नुभयो। त्यसको केही समयमै कुकर बम विस्फोटमा उहाँको पनि ज्यान गएपछि हाम्रो घरमा आइरहने माओवादीहरूले ‘बुवाको हत्याको बदला लिन’ मलाई पनि भूमिगत बनाए। त्यो वेला चार कक्षा पास गरेकी म ११ वर्षकी थिएँ। माओवादीहरूले मलाई बन्दूक चलाउन सिकाए, तर मलाई त्यहाँ बस्न मन लागेन। मेरो समस्या बुझेका पार्टीकै रोशन श्रेष्ठले घर गएर आमासँग बस्ने अवस्था छैन, बरु काठमाडौं गएर बसौं, सब ठीक हुन्छ भन्यो। यसरी उसले सम्झाएपछि २०६२ को फागुनमा काठमाडौं आयौं। मसँग उसले भने अनुसार गर्नुको विकल्प थिएन, हामी सँगै बस्न थाल्यौं।

तर, मैले विवाहको कुरा निकालेपछि झगडा हुन थाल्यो। छोरी जन्मेपछि त उसले झनै अत्याचार गर्न थाल्यो। अहिले आएर मेरो छोरी होइन भन्छ। राति फोन गरेर म केटीसँग बसेको छु भन्छ। केही महीना अगाडि आएर छोरीलाई ‘भविष्यकी वेश्या’ भन्यो। अहिले छोरीलाई चाइल्ड केयर सेन्टरमा राखेर एउटा रेस्टुरेन्टमा काम गरिरहेकी छु। नागरिकता निकाल्ने र छोरीको जन्मदर्ता गर्न सक्ने अवस्था छैन। घर गएर आफ्नै आमासँग बसेको भए यी दिन आउने थिएनन् होला। छोरीलाई कसरी भविष्य दिने, ठूलो पिरलोमा छु।

_____________________________________________________________________________________

कानून त चाहियो, चाहियो’

स्मिता थापा (२६) धरान, सुनसरी

एसएलसी गरेर खाद्य प्रविधिमा आईटेक पढ्दै गर्दा २०६२ सालमा मिस पूर्वाञ्चल भएपछि मोडलिङतर्फ मन गयो। बीटेक पढ्दै मोडलिङ क्षेत्रमा सक्रिय हुन थाल्दा एक जना नेवार केटासँग चिनजान भयो। त्यसको तीन महीनामै हामी ‘लिभिङ टुगेदर’ मा थियौं। पछि बिहे गर्ने भन्दै एक वर्ष बिताउँदा विभिन्न खालका समस्या भोग्नु पर्‍यो। घरजम गर्ने, बच्चा―बच्ची हुर्काउने सपना पनि चकनाचूर भयो। ‘लिभिङ टुगेदर’ को चक्करमा पढाइ छुटिसकेको थियो।

दुवैको खर्च म एक्लैले धानेकी थिएँ। मैबाट खर्च लिएर अर्कै केटीलाई शपिङ गरिदिएको थाहा पाएपछि मैले पनि कडाइ गर्न थालें। तर, सुधि्रनु त कता हो कता, मेरो नाममा ब्याङ्कबाट लिएको ऋण पनि नतिर्ने भन्न थाल्यो अनि म पनि अलग्गिएँ। सँगै बस्दा आफ्नो मोबाइल अफ गरेर राख्ने र मेरो मोबाइलको हरेक कल रिसिभ गर्थ्यो। फेसबुकमा फोटो नराख, कसैसँग नबोल भन्थ्यो।

अहिले पनि कसैले फेरो फेसबुकमा कमेन्ट गर्‍यो भने के चलिरा’छ भन्छ। म पनि तिमीले धोका दियौ भन्दैमा रोएर बस्ने कुरा त आएन’नि भन्ने जवाफ दिन्छु। त्यस्तो मान्छेसँग बसेर मैले एक वर्ष खेर फालें। ‘लिभिङ टुगेदर’ ले धेरैको जीवन बर्बाद पारिरहेकोले यसलाई व्यवस्थित बनाउन कानून चाहिन्छ भनेर लागेकी छु। केटीहरूलाई धोका पाइन्छ, त्यसरी नबस भन्दै हिंडेकी छु।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>