टिप्पणीबिहीबार, आषाढ २६, २०७१

बुढ्यौलीको समस्या मोतीविन्दु

डा. सुमनराज ताम्राकार

एउटा चाखलाग्दो कुरा के भने, नेपालमा कतिपय रोगले ‘टिपिकल’ नाम पाएका छन्, जस्तो– म्यादे ज्वरो, शीतला, जनैखटिरा, मोतीविन्दु आदि। यो लेखमा आँखाको नानीमा मोतीको थोप्ला जस्तो देखिने मोतीविन्दु रोगको चर्चा गरिन्छ। मोतीविन्दु हुँदा आँखाको नानीको सफा लेन्स आंशिक वा पूर्ण मात्रामा धमिलो हुन गई आँखाको पर्दामा प्रकाश नछिर्ने हुन्छ।

तिलगंगा आँखा अस्पतालमा मोतीविन्दुको परीक्षण गरिंदै। तस्वीरः डम्बरकृष्ण श्रेष्ठ

मोतीविन्दु हुँदा हामीले हेर्न खोजेको वस्तु कि धमिलो देखिन्छ कि त अस्पष्ट वा विस्तारै देख्दै नदेखिने हुन्छ– जाडो महीनामा झयालको सिसामा मुखको वाफले ढाकेपछि बाहिरको दृश्य धमिलो, अस्पष्ट वा नदेखिने भए जस्तै। बुढ्यौलीसँगै आउने मोतीविन्दुले ढिलोचाँडो दुवै आँखालाई समस्याग्रस्त बनाउँछ।

सम्बन्धित विशेषज्ञहरूका अनुसार, उमेरका कारण विकसित हुने मोतीविन्दुले विश्वका आँखा रोगीमध्ये ४८ प्रतिशतलाई अन्धोपनसम्म पुर्‍याउँछ। अहिले यो समस्याले विश्वका करीब १८ लाख मानिसलाई सताएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आँकडाले देखाउँछ। धेरैजसो मुलुकमा मोतीविन्दुको शल्यक्रिया सेवा अपुग भएकोले मानिस अन्धोपनमा रहन बाध्य छन्। यो बुढ्यौलीसँग सम्बन्धित समस्या भएकाले कुनै पनि देशमा मानिसको औसत आयु बढ्न थालेपछि मोतीविन्दुका रोगीको संख्या स्वतः बढ्छ।

मानिसको उमेर ढल्किंदै जाँदा अल्ट्रा भाइलेट किरण र विकिरणको प्रभाव, मधुमेह, उच्च रक्तचाप एवं चोटपटक आदि अनेक कारणले मोतीविन्दुले आक्रमण गर्न थाल्छ। विकसित तथा विकासशील राष्ट्रहरूमा दृष्टि कमजोर हुनेहरूको संख्यामा मोतीविन्दुकै मुख्य भूमिका हुन्छ। अपरेशनको लागि लामो पर्खाइ, उमेरका कारण अपरेशन गर्न नमिल्ने अवस्था, महँगो शुल्क, सूचनाको कमी लगायतका कारण अपरेशन सेवा उपलब्ध भएका मुलुकहरूमा पनि मोतीविन्दुका रोगीहरूको संख्या घटाउन कठिन परिरहेको छ।

मोतीविन्दुको अपरेशनमा प्रभावित आँखाको नानीको धमिलो लेन्स निकालेर स्थायी तवरले प्लाष्टिकको कृत्रिम लेन्स राखिन्छ। नेपालीहरूका लागि गर्व लायक कुरा के छ भने, यस्तो लेन्स तिलगंगा आँखा अस्पतालले उत्पादन गरेर विदेशमा समेत पठाउने गरेको छ। मोतीविन्दुको अपरेशन सामान्यतः आँखालाई मात्र लठ्याएर गरिने हुनाले कुनै नयाँ समस्या आएन भने त्यही दिन घर जान मिल्छ। दुवै आँखामा समस्या रहेछ भने दुई पटक अपरेशन गराउनुपर्छ।

नेपालमा वेला बखतका निःशुल्क शिविर बाहेक, काठमाडौं लगायत देशका प्रमुख शहरहरूमा मोतीविन्दुको नियमित अपरेशन सेवा छ। यसमा मनन गर्नैपर्ने कुरा के भने मोतीविन्दुको समस्या हुँदा सकेसम्म निःशुल्क उपचारको मौका पर्खेर बस्नुहुँदैन। आँखा जस्तो संवेदनशील अंगको उपचारका लागि शिविर या क्याम्पभन्दा सबै पूर्वाधार भएको अस्पताल त्यसै पनि बढी उपयुक्त ठाउँ हो। अस्पतालमा गरिएका अपरेशनमा कथंकदाचित समस्या वा जटिलता उत्पन्न भइहाले पनि निराकरण सजिलो हुन्छ।

मोतीविन्दुको सरलता के हो भने सामान्य खालको शल्यक्रिया गराई यसबाट मुक्त हुन सकिन्छ। फेरि मोतीविन्दु भएको थाहा पाउन पनि कठिन हुँदैन। आँखा क्रमशः धमिलिंदै गएको अनुभव हुनासाथ टर्च बालेर हेर्ने हो भने मोतीविन्दु भएको वा नभएको थाहा पाउन सकिन्छ। टर्चले हेर्दा माथि भनिए जस्तै आँखाको नानीमा मोतीको दाना जस्तो थोप्ला देखियो भने समस्या आएको बुझनुपर्छ।

मोतीविन्दुको रोकथामका लागि कुनै भरपर्दो उपाय छैन। मोतीविन्दु विकसित हुने दर अल्ट्रा भाइलेट किरणबाट बचाउने चश्मा वा गगल्सको प्रयोगबाट कम गर्न सकिन्छ। भिटामिन ए, सी, ई जस्ता एन्टी अक्सिडेन्ट तत्वहरू भएको खाना वा औषधिको नियमित सेवनले पनि आँखा स्वस्थ राख्न फाइदै गर्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>