अन्तर्वार्ता/विचारशुक्रबार, आषाढ २७, २०७१

यार्सागुम्बाबाट फाइदा लिने काइदा

हिमालखबर

– विश्व पौडेल

तस्वीरः हिमाल अर्काइभ

नेपालमा यार्सा सिजन धेरैका लागि दुखान्त हुन थालेको छ। १–७ असारको हिमाल (पीडाको सिजन) मा यो वर्ष यार्सा टिप्न जानेमध्ये कुटपिट लगायतका घटनाबाट १२ जनाको मृत्यु भएको उल्लेख छ। सन् २००९ मा गोरखाबाट यार्सा टिप्न मनाङको नार पुगेका सात जनाको हत्या भएको थियो। यार्साको मूल्य प्रतिकिलो केही हजार रुपैयाँबाट रु.२५ लाख पुग्दा २५ जिल्लाका हिमाली पाखाहरूमा लाखौंको हूल जम्मा हुन थालेको छ। सुरक्षा र राज्यको दायित्वको हिसाबले पनि अहिलेको यार्सा व्यापार यत्तिकै छोड्न नसकिने तहमा पुगेको यसले देखाउँछ।

यार्सा टिप्नेहरूले प्रतिगोटा ठ्याक्क कति रुपैयाँ पाउँछन्, थाहा छैन, तर सरकारले किलोको रु.२० हजार राजस्व उठाउँछ भन्ने सुनिएको छ। चीनमा छोङछाओ, तोङछोङ, स्याछाओ आदि भनिने यो जडीबुटीको माग ठूलो छ। नेपाली यार्साको प्रमुख बजार पनि चीन नै हो। त्यहाँका धनीमानीहरूले सिंगै यार्सा वा त्यसबाट बनेका विभिन्न ‘डायटरी सप्लिमेन्ट’ का क्याप्सुल एकअर्कालाई उपहार दिन्छन्।

तिब्बतको ल्हासास्थित यार्सा बिक्री केन्द्र।

एकपटक चिनियाँ धावकहरूले विश्व रेकर्ड राखेको समयमा प्रशिक्षक मा चुन रेनले आफ्ना खेलाडीहरूलाई यार्सा र कछुवाको सुप खान दिने गरेको बताएका थिए। यसले के देखाउँछ भने, यार्साको बजार नेपालीले सोचेको भन्दा निकै ठूलो छ। अल जजिरा टेलिभिजनको रिपोर्ट अनुसार, विश्वमा यो जडीबुटीको ११ अर्ब अमेरिकी डलरको बजार छ र यसको ख्याति घट्नेवाला देखिंदैन।

जडीबुटी प्राधिकरण

यार्सा नवीकरणीय वस्तु हो। कतिपय नेपाली पत्रिकाले यार्सा कम भेट्न थालिएको भनेर लेखेका छन् भने कतिले व्यापारीहरूले राजस्व छल्न कम देखाएको भनेका छन्। कतिले चाहिं यार्साको जीवनचक्रमा बाधा पुगेर नभई कम हिमपात भएकोले घटेको भनेका छन्। यसबारे वैज्ञानिक अध्ययन हुनुपर्छ। अहिलेको यार्सागुम्बा दोहन व्यवस्था भने चितवन वा बर्दिया निकुञ्जको खरखडाई जस्तै छ– मौसमी। यसले नवीकरणीय वस्तु खर र यार्साबीच अन्तर देखाउँदैन।

यार्सा चुरोट।

यार्साको उपयोगमा एकाधिकार अपनाउँदा बढी फाइदा हुने देखिन्छ। अहिलेको ताललाई निरन्तरता दिंदा भने न यो स्रोत रहिरहन्छ न त सबैले फाइदा पाउँछन्। एकाधिकारले अव्यवस्थित यार्सा व्यापारलाई व्यवस्थित बनाएर सरकार, लगानीकर्ता र स्थानीयलाई फाइदा पुर्‍याउँछ। यसका लागि जडीबुटी व्यापार व्यवस्थापन प्राधिकरण खडा गरिनुपर्छ।

यार्सा क्याप्सुल।

चालु आर्थिक वर्षको व्यापार तथ्यांकले नेपालको पश्चिमी नाकाबाट पाखनभेद, कालादाना, रिट्ठा, काउलो र पवनको बोक्रा जस्ता जडीबुटी निर्यात भएको देखिन्छभने पूर्वी नाकाहरूबाट मुग्रेला, मजिठो, रिट्ठा, चिराइतो आदि। जबकि, यार्साबाट मात्र यी सबै जडीबुटीबाट भन्दा बढी आर्जन गर्न सकिन्छ। हिमालमा उम्रेको जडीबुटी भनेपछि विदेशमा सधैं फूलटिपाइ हुन्छ। तर, हाम्रो क्वारन्टाइन अधिकारीहरूको क्षमता अभिवृद्धि नगरिएकोले चिराइतो र अलैंची मात्र निर्यातयोग्य जडीबुटी हुन् भने जस्तो भएको छ।

यस वर्ष चीनले नेपाली सुन्तला मागेको तर, ‘पेस्ट फ्री जोन’ बाट उत्पादन भएको प्रमाणित हुनुपर्ने शर्त राखेकोले दिन्छौं भन्न नसकेको सुनियो। हुन पनि, हामी यति पछाडि छौं कि अदुवा पखालेर बेच्न सक्ने स्थिति पनि छैन। यो अवस्थामा यार्साबाट फाइदा लिन वाणिज्य, उद्योग, कृषि, वन जुन–जुन आवश्यक पर्छ ती–ती मन्त्रालयका सचिवहरू रहने प्राधिकरण बनाएर अगाडि बढ्नुपर्छ। प्राधिकरणले विभिन्न खालको दस्तुर तोकेर जडीबुटी संकलन अनुमति दिने र ती कम्पनीहरूको अनुगमन गर्नुपर्छ। प्राधिकरणले कस्तो वा कुन आकारका यार्सा मात्र टिप्न पाउने भन्ने मापदण्ड निर्धारण गरेर त्यस अनुसार नगर्नेहरूलाई कारबाही गर्नुपर्छ।

त्यस्तो प्राधिकरणले नेपालमा अन्तर्राष्ट्रिय स्तरको जडीबुटी प्रशोधन कारखाना खोल्न चाहिने नियम–कानून बनाएर कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनुपर्छ। यार्सागुम्बा संकलन, प्रशोधन र निर्यातको अनुमति दिंदा बजार बुझेका, आर्थिक स्रोत दह्रो भएका र स्वच्छ व्यवसायीहरू छान्नुपर्छ। त्यस्ता कम्पनीहरूले यार्सा पाइने जिल्लाका बासिन्दाहरूका लागि अनिवार्य शेयर छुट्याउनुपर्छ।

यार्सा ह्वीस्की ।

लोकतन्त्रमा प्राकृतिक स्रोत दोहनमा स्थानीयको अग्राधिकार हुन्छ। अहिले यार्सा हुने जिल्लाहरूमा जो बलियो बाङ्गो छ, उसैले संकलन गर्छ। एकल महिला वा बिरामी पुरुष भएका घरहरूमा यार्साबाट एक रुपैयाँ भित्रिंदैन। यस्तो बेथिति हटाउन पनि प्राधिकरण चाहिन्छ। मानौं, अहिले डोल्पामा चार हजार घर छन् र कुनै कम्पनीले त्यहाँ यार्साको लागि रु.१ अर्ब खर्च गर्ने बोलकबोल गर्‍यो भने सरकारले प्रतिघर एक लाख पचास हजार रुपैयाँ लगानी गर्नुपर्छ। त्यसबापत स्थानीयवासीले कम्पनीलाई सहयोग र कम्पनीले सरकारलाई कर दिनुपर्छ।

बनाउनेलाई प्रोत्साहन

चीनमा यार्सागुम्बाका विभिन्न ‘डायटरी सप्लिमेन्ट’ को ठूलो बजार छ। नेपाली कम्पनीहरूले नै यस्ता औषधि बनाएर आकर्षक प्याकेजिङ र ब्रान्डिङका साथ त्यहाँका मुख्य शहरहरूमा सेल्स स्टोर खोल्दा ठूलो बजार पाउने निश्चित छ। अहिले केही नेपालीले अलिबाबा डटकम जस्ता वेबसाइट मार्फत चिनियाँ बजारमा यार्सागुम्बा बेचेको पाइन्छ– एक किलोको रु.३०–४० लाखदेखि एक करोडसम्ममा। नेपालमै सप्लिमेन्टहरू बनाउने हो भने यार्साको मूल्य कहाँदेखि कहाँ पुग्छ। यसो गर्न सके चीनसँगको व्यापार घाटा घटाउन पनि निकै सहयोग पुग्नेछ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>