रिपोर्टशनिबार, आषाढ २८, २०७१
शहरमा नयाँ ‘नवे’
मकवानपुर, भाँकेका राज तामाङ (२६) कतारको काम छाडेर बौद्धमा स्यालन खोल्न आइपुगे। कृषि, पशुपालन, बक्खु, राडी–गलैंचा, गन्जी–गलबन्दी बुन्नु, काठ–निगालोका सामग्री बनाउनु, गुम्बा, मानी/क्षोर्तेनहरुमा अर्थपूर्ण बुट्टा कुँद्नु, थाङ्का लेख्नु, जडीबुटी संकलन आदि परम्परागत पेशामा तामाङ जातिको संस्कृति जोडिएको छ।
अब भने संस्कृति बचाउँदा जीविका नचल्ने र पेशा बदल्दा मौलिक संस्कृति लोप हुने समय आएको छ। यस्तो वेला कतिपय युवक–युवतीले पेशालाई प्राथमिकता दिने गरेका छन्।
यिनैमध्येका एक हुन्– फाग्याल–५, भाँकेका राज। श्यामबहादुर तामाङ र साहिंली तामाङका एक्ला छोरा राजले पुर्ख्यौली कृषिमा जहिल्यै पैसाको अभाव भइरहन्छ भनेर काठमाडौंको बौद्ध महाँकाल ओरालोमा ‘मेक कभर स्यालन’ खोलेका छन्। महिला–पुरुष दुवैको कपाल काट्ने राजले व्यवसाय सोचे जस्तै चलेको बताए।
तामाङ समुदायमा पसल खोलेर कपाल काट्ने संस्कृति छैन। यद्यपि, राज यो पेशामा रमेका छन्। तामाङ समुदायका संभवतः यी पहिलो ‘नवे’ ले कपाल काट्न र मसाज गर्न भारतको गुहाटीमा एक जना मुश्लिम साहूको स्यालनमा सिकेको बताए।
“डेढ वर्षमा सीप सिकेर नेपाल आएँ”, राज भन्छन्, “यहाँ भाइबहिनीहरुलाई सिकाएर स्यालन चलाउने भनेको, कोही तयार भएनन्।”
त्यसरी निराश भएका उनी दलाललाई रु.८० हजार बुझाएर कतार पुगे, तर मरुभूमिको मजदूरीमा उनको मनै अडिएन र तीन महीनामै फर्केर स्यालन खोले।
कामलाई सानो नठान्ने दुई–चार जना साथी पाए व्यवसाय बढाउने विचारमा छन्, उनी। “प्रशिक्षक पनि हुँ”, राज भन्छन्, “कोही तयार भए सीप पनि सित्तैंमा सिकाइदिन्छु।”
फुर्पा तामाङ, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
