खेलकुदसोमबार, आषाढ ३०, २०७१

विश्वकप फुटबल–२०१४ का केही कीर्तिमान

हिमालखबर

जर्मनीको धेरै किर्तिमान

विश्वकप फुटबल प्रतियोगिताको उपाधिसँगै जर्मनीले अन्य कीर्तिमानसमेत कायम गर्‍यो । विश्वकप इतिहासमा जर्मनीले सेमिफाइनल खेलमा ६ मिनेटको अवधिमा ४ गोल गर्दै कम समयमा धेरै गोल गर्ने राष्ट्रको नाममा नयाँ कीर्तिमान कायम गर्‍यो ।

सेमिफाइनल खेलमा जर्मनीले विश्वकप आयोजक ब्राजिललाई ७–१ गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलमा सबैभन्दा धेरै गोलको अन्तर गर्ने टोलीको उपाधिसमेत प्राप्त गर्‍यो ।

यस्तै जर्मनीका खेलाडी मिरास्लाभ क्लोजले ब्राजिलविरुद्धको सेमिफाइनल खेलमा एक गोल गर्दै यसअघिसम्म ब्राजिलका स्ट्राइकर रोनाल्डोको नाममा रहेको सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानलाई भङ्ग गर्दै नयाँ कीर्तिमान कायम गरे ।

अब ३६ वर्षीय क्लोज विश्वकप फुटबल प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी भएका छन् । उनले ब्राजिलका रोनाल्डोको नाममा रहेको १५ गोलको कीर्तिमानलाई तोड्दै १६ गोल पुर्‍याए ।

विश्वकप इतिहासमा नै जर्मनी पहिलोपटक दक्षिण अमेरिकी भूमिमा उपाधि जित्ने पहिलो टोलीसमेत बन्यो भने सर्वाधिक विश्वकप जित्ने टोलीअन्तर्गत इटालीसँगै दोस्रो स्थानमा उक्लियो । इटालीले चारपटक विश्वकप जितेको छ भने ब्राजिल पाँचपटक जितेको छ ।

मोन्डागनको नयाँ रेकर्ड
कोलम्बियाका गोल रक्षक फारयड मोन्डागनले उमेरसमूहमा नयाँ कीर्तिमान कायम गरे । उनले ४३ वर्षको उमेरसम्म पनि विश्वकप खेल्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।

यसअघि क्यामरुनका खेलाडी रोजर भिल्लाको नाममा उक्त कीर्तिमान रहेको थियो । सन् १९९४ मा भएको विश्वकपमा खेल्दा उनी ४२ वर्षका थिए ।

ब्राजिलको नकारात्मक रेकर्ड
पाँचपटकको विश्वकप विजेता र यसपटकको आयोजक ब्राजिलको लागि भने यस विश्वकपले नकारात्मक कीर्तिमान दियो ।

सेमिफाइनल खेलमा जर्मनीसँग ७–१ को अकल्पनीय हार बेहोरेपछि ब्राजिलका लाखौं समर्थकमात्र निरास भएनन् नेपालकै एक किशोरीले समेत त्यो गहिरो चोटको आबेग नियन्त्रण गर्न नसकी आत्महत्या गरिन् ।

ब्राजिल विश्वकप इतिहासमा नै पहिलोपटक यति फराकिलो गोलअन्तरले हार्ने पहिलो टिमसमेत बन्यो । यस हारलाई ब्राजिलले विश्वकप इतिहासमा कालो धब्बाका रुपमा समेत लिएको छ भने यसपटकको विश्वकपमा सर्वाधिक चर्चा र आश्चर्यको विषय पनि यही नै हुन पुग्यो ।

सुआरेजको टोकाई
यसैगरी विश्वकप यात्रामा अर्काे एउटा रोचक तथ्य बन्यो इटालीका खेलाडी जर्जियो चेलिनीलाई टोकेको घटना । उरुग्वेका फरवार्ड लुइस सुआरेजले इटालीविरुद्धको खेलमा जर्जियोलाई अचानक कुममा टोक्दै विश्वकप इतिहासमा नै पहिलोपटक सबैभन्दा बढी जरिवानाको भागिदार बन्नपुगे ।

कारबाहीस्वरुप सुआरेजलाई अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले नौ अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाउनुका साथै चार महिनासम्म खेल्न नपाउने सजाय तोक्यो । उसलाई कारबाहीस्वरुप एक लाख बाह्र हजार डलर जरिवानासमेत गरियो ।

यो विश्वकप इतिहासमा नै सबैभन्दा ठूलो कारबाही हो । सो प्रतियोगितामा उरुग्वेले इटालीलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

भानपर्सीको तस्वीर अंकित सिक्का
नेदरल्यान्ड्सको टिमले आशातित सफलता पाउन नसके पनि त्यसका खेलाडी रोबिन भान पर्सी भने निकै चर्चामा आए । पर्सीले स्पेनविरुद्धको खेलमा गरेको एउटा हेड गोलले विश्वभरि नै निकै चर्चा बटुल्यो ।

उनले डिबक्स एरियाबाट डाइभ गरी हेड गोल गरेका थिए । पर्सीको त्यही गोलको सम्मान गर्दै नेदरल्यान्ड्स सरकारले त्यसको चित्रअङ्कित सिक्कासमेत जारी गर्‍यो, जुन हारालुछ भई दुई घण्टाभित्रै सकियो ।

पटकपटक सेमिफाइनलसम्म पुगे पनि विश्वकप चुम्ने सपना साकार पार्न नपाएको निदरल्यान्डस्ले यसपालि पनि त्यो सपना आगामी विश्वकपका लागि थाती राख्न बाध्य हुनुपर्‍यो ।

अर्जेन्टिनासँग १२० मिनेटसम्म प्रतिस्पर्धात्मक खेल खेलेको नेदरल्याण्ड्सले टाई ब्रेकरमा दुईका विरुद्ध चार गोलले पराजित हुनुपरेको विषय विश्वभरका फुटबलप्रेमी दर्शकहरुले धेरै पछिसम्म पनि बिर्सने छैनन् ।

स्पेनको हार
यस्तै गत संस्करणको विश्वकप विजेता स्पेन समूहचरणको खेलमा नेदरल्यान्ड्ससँग १–५ गोलअन्तरले हार्नु आफैँमा एउटा अनौठो घटना भयो । इङ्ल्यान्ड, इटालीजस्ता फुटबलका महारथी राष्ट्रहरु छनोट चरणबाट नै बाहिरिनु पनि कम उदेक लाग्दो थिएन ।

मेसीको गोल्डन बल
अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले सुरुवातका चारै खेलमा ‘म्यान अफ द म्याच’ भएर नयाँ कीर्तिमानसमेत कायम गरेका थिए । उनले बोस्निया हर्जगोभिना, इरान र नाइजेरियाविरुद्धको खेलमा गोल गर्दै ‘म्यान अफ द म्याच’ भएका थिए भने यस विश्वकपमा उनले गोल्डेन बल प्राप्त गरे ।

आगामी एक्काइसौं संस्करणको विश्वकप सन् २०१८ मा रुसमा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...