व्यक्तित्वसोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
रेडियो नाटकमा लक्ष्मीको थेगो ‘हरिशरणम्’ धेरैको जिब्रोमा झुन्डिएको छ । हुन पनि, उनी रेडियो नेपालको कृषि कार्यक्रममा ४८ वर्षदेखि निरन्तर बूढीआमैको भूमिकामा छिन् र निरन्तर आनन्दित भइरहेकी छन् । यो कामप्रतिको रुचि, समर्पण र आनन्दले उनको जाँगर कत्ति पनि घटेको छैन । जीवनको ५५ वर्ष नाटकमा बिताएकी लक्ष्मी भन्छिन्, “यसबीचमा दर्जनौं फिल्म र टेलिफिल्ममा पनि काम गरें, बढी आनन्द चाहिं रेडियो नाटक मार्फत श्रोतालाई सूचनासँगै मनोरञ्जन दिंदा आउँछ ।”
उनले नेपाली चलचित्रहरू सोल्टिनी, लक्ष्मीपूजा र सिलु का साथै तितोसत्य, पल्लोघरको झयाल, मेरी बास्सै, हिजोआजका कुरा लगायत दुई दर्जन भन्दा धेरै टेलिफिल्ममा अभिनय गरेकी छन् ।
२०२३ मंसीरदेखि कृषि कार्यक्रममा बूढीआमै भएर प्रसारण हुन थालेकी लक्ष्मीले आफ्नो रुचिको क्षेत्रमा टिक्न जीवनमा पारिवारक खुशी र घरबार जस्ता पक्षको बलि चढाउनुपरेको छ । २०२८ सालको कुरा, रेडियो नाटक युनिट सिंहदरबारस्थित रेडियो नेपालबाट हरिहर भवन सरेपछि कार्यक्रम रेकर्ड गर्न समस्या प¥यो । मान्छेको आउजाउ भएको वेला रेकर्ड गर्दा आवाज र प्रतिध्वनिले बिगार्ने हुनाले रात कुर्नुपथ्र्यो । सुनसान समयमा कोठाको भित्तामा सुकुल टाँगेर कार्यक्रम रेकर्ड गर्दागर्दै आधारात हुन्थ्यो । यसरी घर–कार्यालय गर्ने क्रममा समाज र परिवारबाट अवगाल स्वीकार्नु उनका लागि दालभात जस्तै बनेको थियो ।
अर्को वर्ष कसैले घरमा ‘तिम्रो छोरी त केटासँग अँगालो मारेर बसेकी थिई’ भनेर कुरा लगाइदिएछ । त्यही समयमा रेडियो नाटकमा ‘ए भुन्टेकी आमा भात पकाइस् ?’ भन्ने सम्वाद आयो । त्यसपछि समाजमा ‘रेडियोमा झुटो कुरा बज्दैन, लक्ष्मी बच्चा जन्माएर पनि माइतैमा बसेकी छे’ भन्ने टीकाटिप्पणी शुरू भयो । “अनि आमा र दाजुले पिटेर घरबाट निकालिदिनुभयो”, लक्ष्मी भन्छिन्, “लामो समय माइतीमा बसी भने सम्पत्ति दिनुपर्छ भन्ने डर पनि थियो ।”
यसरी परिवार र आफन्तप्रति सधैंका लागि उनको मन कुँडियो । २०६६ सालमा वरिष्ठ कृषि सूचना अधिकृतबाट अवकाश पाएकी उनी दर्शकको मायाले गर्दा रेडियो कार्यक्रमबाट बाहिरिन सकेकी छैनन् । नाटककी यी बूढीआमा वास्तविक जीवनमा भने कसैकी आमा वा हजुरआमा बनिनन्– विवाह नगरेकीले ।
खेती सिकाउने आमै
गाउँठाउँको हावापानी र माटो सुहाउँदो खेतीको कुरा रेडियोबाट सिक्ने श्रोताको माया–प्रतिक्रियाले आफूलाई यो क्षेत्रमा बाँच्न सिकाएको लक्ष्मी बताउँछिन् । हुन पनि ४८ वर्षदेखि एउटै फम्र्याटमा कार्यक्रम प्रस्तुत गर्दा पनि उनी उत्तिकै लोकप्रिय र खुशी छिन् । पछिल्लो समय युवा पलायनले खेतीयोग्य जमीन बाँझे भएकोप्रति निकै चिन्तित उनी भन्छिन्, “हिजो स्वच्छ हावापानीमा विषादी रहित तरकारी खाएकाले अझ्ै दर्शकमाझ् मजाले बोल्न सकिरहेकी छु, आजका पिंढीले त कति गर्लान् र !”
रेडियोमा बूढीआमै बनेरै उनले गोरखा दक्षिणबाहु, नवदेवी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार लगायत २५ वटा पुरस्कार–सम्मान पाएकी छन् । मृत्युपछि ती पुरस्कार–सम्मानहरू आफूसँगै सकिने अवस्था रहेकाले तिनलाई संग्रहालयमा राखिदिने व्यवस्था गर्नुपर्ने उनको इच्छा छ ।
मीना शर्मा
साप्ताहिक खबरपत्रिका हिमालबाट