रिपोर्टबिहीबार, साउन १, २०७१

गर्भको बच्चाको जानकारी मोबाइलमा

हिमालखबर

-रामजी दाहाल

तस्वीरहरुः राजेन्द्र पौडेल

“तपाईंको गर्भको बच्चा बाह्र हप्ताको भयो अब दोस्रो जाँचका लागि नजिकको स्वास्थ्य संस्थामा जानुहोस्।” चितवनको बछ्यौली–९ की पवित्रा श्रेष्ठ (३०) लाई मोबाइलमा यस्तो सन्देश आउँदा अचम्म लाग्यो। बच्चाको शारीरिक वृद्धि कसरी हुन्छ भन्ने पनि उनले मोबाइलबाटै पहिलो पटक थाहा पाएकी हुन्।

यस्तो जानकारी दिने सफ्टवेयर ‘आमाको माया’ नामक संस्थाको पहलमा निर्माण गरिएको हो। जुन सफ्टवेयर महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा सेट गरेर गर्भवतीको नाम, ठेगाना, अन्तिम महीनावारीको मिति जस्ता डाटा राखिन्छ। त्यसपछि, मोबाइलले गर्भ सम्बन्धी हरेक जानकारी दिन थाल्छ।

सुरुआतको कथा

नेपालका नाम चलेका एक जना डाक्टरले बच्चाको अवस्था राम्रो भएको रिपोर्ट दिएकोमा मृत अवस्थामा शिशु जन्मिएपछि पिता राजेन्द्रप्रसाद पौडेललाई खपिनसक्नु पीडा भयो। तर, ती चिकित्सकले भने सो घटनालाई सामान्य भन्दै वेलावेला त्यस्ता घटना हुने गरेको बताए।

त्यसपछि इन्टरनेट सोसाइटीको एउटा कार्यक्रममा जापान पुग्दा बच्चा जन्मन चार दिन ढिलो भएकाले सो दुर्घटना भएको राजेन्द्रले थाहा पाए। चिकित्सकले पहिले नै अपरेशन गरेको भए नवजात शिशु जीवित जन्मने थियो भन्ने जापानी चिकित्सकको भनाइ थियो। त्यस्तोमा सन् २०११ मा इन्टरनेट सोसाइटीबाट नेपालमा इन्टरनेटको दीगो विकास सम्बन्धी अनुसन्धानमूलक लेखका लागि चार हजार डलरको पुरस्कार पाएपछि राजेन्द्रले त्यसलाई आमा र बच्चाको जीवन बचाउन प्रयोग गर्ने विचार गरे। र, आमालाई गर्भको बच्चाको अवस्थाबारे जानकारी दिंदा मातृशिशु मृत्युदर घटाउन सकिने विश्वासमा उनले ‘आमाको माया’ नामक संस्था गठन गरे।

जापानमा हुँदै उनले बेबी सेन्टर यूकेबाट आमाको गर्भमा रहेको बच्चाको हरेक साता कसरी शारीरिक वृद्धि हुन्छ भन्ने जानकारी रहेको भिडियो डाउनलोड गरेका थिए। त्यही भिडिओको आधारमा सफ्टवेयर बनाइएको ‘आमाको माया’ का टीम लीडर पौडेल बताउँछन्।

बछ्यौली–९ चितवनकी पवित्रा श्रेष्ठ (३०) मोबाइलबाट गर्भमा रहेको बच्चाको शारीरिक वृद्धि हेर्दै।

दुई वर्षअघि म्याग्दी र कास्कीका गाउँमा सो भिडियो देखाउँदा गर्भमा रहेको बच्चाले देख्ने र सुन्ने थाहा पाएर छात्रछात्रा छक्क परेको राजेन्द्र बताउँछन्। त्यसपछि उनले अंग्रेजी भाषाको सो भिडियोलाई केही डाक्टरको सहयोगमा नेपालीमा अनुवाद गरे। अहिले उक्त भिडिओ मोबाइलमा पनि हेर्न सकिने बनाइएको छ।

नेपाल विश्वमै उच्च मातृ मृत्युदर भएको मुलुकमध्ये पर्छ। यस्तोमा सन् २०१५ सम्ममा नेपालमा मातृ मृत्युदर दुईतिहाइ घटाउने सरकारको लक्ष्य छ। २०५३ मा प्रति एक लाखमा ५३९ जना आमाको मृत्यु हुने गरेकोमा २०६६ मा २२९ मा झरेको छ। यसले नेपाल सकारात्मक दिशामा अघि बढेको देखाए पनि दुर्गम, पिछडिएको क्षेत्र र वर्गमा स्थिति धेरै नफेरिएको विज्ञहरू बताउँछन्।

धेरै आमाको मृत्यु हुने मुख्य कारण गर्भावस्थाबारे जानकारी नहुनु देखिएको पनि उनीहरूको भनाइ छ। यो स्थिति हटाउन गठन भएको ‘आमाको माया’ ले एक वर्षअघि इन्फर्मेशन सोसाइटी इन्नोभेसन फण्ड (आईएसआईएफ) एशियाबाट ३० हजार डलरको परियोजना पाएपछि कामलाई अरू विस्तार गरेको छ।

‘आमाको माया’ लाई आगितेन नामक सफ्टवेयर कम्पनीले पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु.१ लाख ६७ हजार सहयोग गरेको छ। जसलाई मोबाइलमा राख्न मिल्ने ४० एमबीको माइक्रो एसडी कार्ड सहितको सफ्टवेयर निर्माण गर्न प्रयोग गरिएको छ। यो कार्यक्रमलाई माइक्रो म्याक्स मोबाइल कम्पनीले रु.२३ हजार पर्ने मोबाइल रु.१३ हजार ८०० मा उपलब्ध गराएर सघाएको छ।

सञ्जालमा प्रवेश

‘आमाको माया’ ले चितवनसहित काठमाडौंको रामकोट, रसुवाको डाडागाउँ तथा मकवानपुरको सिस्नेरी र बज्रबाराही गाविसमा पनि यो कार्यक्रम शुरू गरेको छ। यी ठाउँमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई दुई–दुई वटा तथा मकवानपुरको हाँडीखोला, टिष्टुङ र चितवनको झुवानी गाविसका स्वयंसेविकालाई चार–चार वटा मोबाइल दिइएको छ।

शिखा गाविस म्याग्दीका महिला मोबाइलमा गर्भको बच्चाको अवस्था हेर्दै।

यस्ता मोबाइल उपयोगी भएको देखेपछि बज्रबाराही गाविसले स्वयंसेविकालाई थप ९ वटा मोबाइल किनिदिएको परियोजनाका टीम लीडर राजेन्द्र बताउँछन्। मकवानपुर जिविसले जिल्ला परिषद्बाट स्वयंसेविकालाई मोबाइल किनिदिने निर्णय गराएको छ भने चितवनको झ्ुवानी गाविसले यसअघि नै पाँच वटा मोबाइल किनिदिएको छ। यो लहरमा रसुवाको डाडागाउँका विनोद पौडेलले रु.६ हजारमा मोबाइल किनेर पत्नीलाई दिएका छन्। यसरी दिइएका मोबाइलमा ‘आमाको माया’ ले इन्टरनेट सेवा उपलब्ध गराएको छ।

स्वयंसेविकासँग भएको मोबाइलमा नाम र पछिल्लो पटक महीनावारी भएको मिति दर्ता गराउने गर्भवतीलाई घरमै पुगेर स्वयंसेविकाले कहिले डाक्टरकहाँ जानुपर्छ भनेर सम्झाउँछन्। मोबाइलमा पहिले नै कुन महिलाले कुन हेल्थपोष्टमा चेक गराएको भन्ने कोड बनाएर राखिन्छ। मोबाइल हुने गर्भवतीलाई चाहिं ‘यूजरनेम’ सम्झ्न सजिलो होस् भनेर उनकै वा आफन्तको टेलिफोन नम्बर राखिन्छ। यस्तो मोबाइल खुल्नासाथ हरेक गर्भवतीले पहिलो तीन महीनादेखि गर्भ जाँचका लागि अस्पताल जानु भन्ने सन्देश आउँछ। अब मोबाइलमा रिङ टोन बज्ने सफ्टवेयर निर्माण गर्ने र ठूलो स्त्रि्कन भएको मोबाइल बाँड्ने योजना रहेको राजेन्द्र बताउँछन्।

राजेन्द्रका अनुसार नेपाली सन्दर्भको भिडिओ अझ् प्रभावकारी हुने भएकाले पाँच वटा भिडियो बनाउन लागिएको छ। यसमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पतालको सामुदायिक स्वास्थ्य संस्थासँग ‘आमाको माया’ को सहकार्य छ। यो भिडिओबाट गर्भमा रहेको बच्चाको हरेक साताको अवस्था आमाले थाहा पाउने छन्। तीनदेखि चार मिनेट लामो सो भिडियोमा गर्भवती महिला र डाक्टरको भनाइ पनि राखिनेछ। तर, यस्तो भिडिओ राख्न २०१३ को एन्ड्रोइड भर्सन ४.२.२ को मोबाइल चाहिन्छ। झुवानी सामुदायिक अध्ययन तथा स्रोतकेन्द्र चितवनका अध्यक्ष केशव आचार्यका अनुसार, ‘आमाको माया’ कार्यक्रम शुरू भएपछि गर्भवतीले स्वास्थ्य संस्थामा नाम दर्ता गर्ने क्रम बढेको छ।

स्रोत केन्द्रले चितवनका ८२४ महिला स्वयंसेविकालाई मोबाइल उपलब्ध गराउन जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेको आचार्यले बताए। केन्द्रले पहिले नै गरेको यो कामका लागि बिल गेट्स फाउन्डेशनबाट पिपुल च्वाइस अवार्ड पनि पाएको थियो। सो फाउन्डेशनले यो कार्यक्रमलाई परीक्षणका रूपमा अमेरिकी र इन्डोनेशियामा लगेको छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>