टिप्पणीबिहीबार, साउन १, २०७१

लुतोको लेठो

डा. सुमनराज ताम्राकार

नेपालमा धेरै किसिमका सांस्कृतिक चालचलन छन्। तीमध्ये कतिपय स्वास्थ्य सचेतनासँग प्रत्यक्ष जोडिएका छन्, कतिपय अन्धविश्वाससँग। खास गरेर नेवार समाजमा कान दुख्दा कानदेवता, दाँतमा रोग लाग्दा दाँतका देवता र किशोरीको तल्लो पेट दुख्दा वा महीनावारीमा अधिक रक्तश्राव हुँदा कुमारी भाक्ने चलन छ। घण्टाकर्ण अर्थात् गठेमङ्गलको साँझ् घरघरमा छ्वाली र सिस्नुको मुठा बालेर बुईंगल, कोठा–चोटा डुलाइन्छ। यसो गर्दा लामखुट्टे, उपियाँ, उडुस लगायतका हानिकारक परजीवी र अरू रोगव्याधी भाग्छ भन्ने विश्वास गरिन्छ।

साउने सङ्क्रान्तिको साँझ् लुतो फाल्ने संस्कृति भने लगभग देशभरि नै छ र आगामी बिहीबार त्यो दिन परेको छ। त्यो दिन मुलुकका पहाडी वस्तीहरूमा वनबाट पाती, कुकुरडाइनो, कुरिलो लगायतका वनस्पति ल्याई पूजा गरेर अगुल्टो हान्दै लुतो धपाइन्छ। त्यसरी हानिएको अगुल्टाले बालीनालीको लुतो (रोग) समेत लैजाने जनविश्वास छ। संस्कृतिको कुरा जे जस्तो भए पनि नियमित सरसफाईले यस्ता रोगव्याधीबाट बँच्न सकिन्छ। यस्ता सरुवा रोगहरू गर्मीयामको फोहोरमैला तथा दूषित वातावरणमा धेरै फैलने सम्भावना हुन्छ। गर्मीमा फैलने मुख्य रोगहरूमा झ्ाडापखाला, हैजा, टाइफाइड, मेनेन्जाइटिस, इन्सेफलाइटिस, औलो, कालाज्वर, आँखा पाक्ने, छालाका विभिन्न समस्या र लुतो पनि हो।

लुतो आउनुको मूल कारण व्यक्तिगत सरसफाईको कमी नै हो। र, यो समस्या उहिले कति व्यापक थियो भन्ने कुराको अनुमान साउने सङ्क्रान्तिमा लुतो फाल्ने चलन बस्नुबाट लगाउन सकिन्छ। अहिले पनि सबै नेपाली साबुन लगाएर दैनिक नुहाउने हैसियतमा पुगिनसकेकोले गाउँघरमा लुतो पीडितको संख्या ठूलो छ। सरसफाईमा ध्यान नदिई लुतो कन्याउँदै हिंड्ने मानिस शहरमा पनि भेटिन सक्छ।

सार्काेप्टिस स्क्याबी नामको जीवाणुले लुतो ल्याउँछ। यो जीवाणुले वयस्क भन्दा बालबालिकालाई बढ्ता आक्रमण गरेको पाइन्छ– तुलनात्मक रूपमा कम सरसफाई हुने भएकोले। तर, ननुहाउने, समय समयमा लुगा नफेर्ने, फोहोर बिछ्यौनामा सुत्नेहरूलाई यो सरुवा रोग बढ्ता लाग्छ। सार्काप्टिस स्क्याबी मानव शरीरका न्यानो भाग– जस्तै, औंलाको काप, काखी, काछ, जननेन्द्रिय वरिपरिका छालामुनि डेरा जमाएर तातो रगत चुस्न मन पराउँछ।

यसले राति धेरै रगत चुस्ने हुनाले रातमा बढ्ता कन्याउनुपर्ने हुन्छ। निद्रा वा अर्द्धनिद्रामा बढ्ता कन्याउँदा छाला खुइलिने, रातो हुने र बिमिरा उठ्ने हुन्छ। कन्याउने नङ फोहोर रहेछ भने त्यसबाट अन्य ब्याक्टेरियाको संक्रमण पनि थपिन्छ। लुतोको जीवाणुलाई सूक्ष्मदर्शक यन्त्रले मात्र देख्न सकिन्छ। पोथी सार्काेप्टिस स्क्याबीले छालाको बाह्य सतहमै ३० देखि ४० वटा फूल पार्छ। त्यो फूल छालामुनिको सूक्ष्म प्वालहरूमा एक हप्तामै विकसित भई वयस्क हुन्छन्।

एलर्जी हुँदा, जुम्रा पर्दा वा दाद आउँदा पनि चिलाउने हुनाले धेरै मानिस लुतोसँग झुक्किन्छन्। चिलाउने भाग र बढ्ता चिलाउने समय विचारेर एलर्जी, जुम्रा, दाद वा लुतो छुट्याउन सकिन्छ। त्यसरी लुतो हो भन्ने पत्ता लगाएर सल्फर, बेन्जोएल बेन्जोएट वा गामा बेञ्जिन हेक्जाक्लोराइडयुक्त औषधि प्रयोग गर्दा यसबाट छुटकारा पाउन सकिन्छ। लुतो लागेपछि वा त्यसको शंका मात्र लागे पनि अरूलाई त्यसबाट जोगाउन ओछ्यान छुट्याएर उपचार थाल्नुपर्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>