टिप्पणीबिहीबार, आश्विन ४, २०६९
राजावादी-माओवादी अतिवाद
धौलागिरी र गण्डकी अन्चलमा पर्ने प्रमुख शक्तिपीठमा पुजाआजा गर्ने र विभिन्न धार्मिक गतिविधिमा सरिक हुने भन्दै ठूलो दलबल सहित करिब एक साता लामो पश्चिमान्चल भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहको यात्राको शुरुवात धार्मिक भन्दा बढ्ता राजनीतिक शक्ति प्रदर्शनको शैलीमा देखिएको छ । धौलागिरी र गण्डकीका शक्तिपीठमा पुग्ने भनिएका ज्ञानेन्द्र उपत्यकाबाट बाहिरिन नपाउँदै आफ्ना ‘समर्थक’हरुको स्वागत-सम्मान र जयजयकार ग्रहण गर्न आत्तुर देखिए । ४ असोजमा पोखरातर्फ प्रस्थान गर्ने क्रममा नागढुंगाबाट बाहिरिनासाथ धादिङको मलेखु लगायतका स्थानमा उनको स्वागत र जयजयकार गर्नेको मात्रै हैन उनलाई सकि्रय हुन उक्साउनेहरुको समेत ठूलो भीड जम्मा भयो । त्यहाँबाट क्रमैसँग चितवनको कुरिनटार मुग्लिन तनहुँको आबुखैरेनी दमौली लगायतका स्थानमा समेत तिनै दृष्य दोहोरिए । आफ्नो जयजयकार गर्नेदेखि ‘राजा आऊ देश बचाऊ’ जस्ता नारा लगाउनेहरुको भीडमा ज्ञानेन्द्र पनि तत्कालीन ‘राजा’कै जस्तो ठाँटमा ओर्लिएर तिनको ‘अभिनन्दन’ ग्रहण गरे ।
०६२-०६३ को जनआन्दोलनको बलमा नेपालमा राजतन्त्रको विधिवत अन्त्य भएपछि चार बर्षअघि राजाबाट नागरिक बन्नपुगेका ज्ञानेन्द्रले पूर्वराजाका रुपमा गएको बर्षदेखि यसखाले धार्मिक सकि्रयता शुरु गरेका हुन् भलै हिन्दुधर्मका आडमा उनको राजनीति गर्ने चाहना प्रकट भएको किन नहोस् । प्रत्यक्ष शासनको चाहना बमोजिम १८ असोज २०५९ र १९ माघ २०६१ का कदम चालेपछि धार्मिक गतिविधिको आडमा उनले यसैगरी देशदौडाहा गरेका थिए तर शासनसत्ता खोसिएपछिका तीन बर्ष भने उनी ‘मौन’ रहे । खासगरी संविधानसभाबाट संविधान बन्ने सम्भावना कमजोर बन्दै गएपछि देखिनथालेका उनका ‘धार्मिक गतिविधि’ संविधानसभाको अवसानपछि राजनीतिक अन्योल चुलिएका बेला यो रुपमा प्रकट भएका छन् जसलाई उनले राजनीतिक हतियारका रुपमा प्रयोग गर्नथालेको प्रष्टै देखिन्छ । जति नै शक्तिपीठको शरण परेपनि आफ्नो प्रत्यक्ष शासनसत्ता दुइबर्ष पनि टिकाउन सकेनन् उनले बरु उनकै महत्वाकांक्षाले नेपालमा राजसंस्थाको अन्त्य हुने अबस्था आयो ।
र पनि उनी फेरि त्यही शैली पछ्याउँदैछन् । तर जहिले पनि धार्मिक कार्यक्रममा सरिक हुन पूर्व वा पश्चिमतर्फ जाँदा जहाज चढेर चुपचाप जाने ज्ञानेन्द्र पश्चिमान्चल भ्रमणमा निस्कँदा सडकमार्गबाटै गए त्यो पनि शाही तामझामका साथ । झण्डै एकदर्जन चिल्ला गाडी सयभन्दा बढी मोटरसाइकल पूर्व पन्च र राजावादीहरुको हुल तथा सुरक्षाकर्मीको ठूलो संख्या अघिपछि लगाएर उनले काठमाडौंबाट शुरु गरेको पोखरासम्मको यात्रा कुनै पनि हिसाबले धार्मिक यात्राको झझल्को दिनेखालको थिएन । कुरिनटारको रिभरसाइड रिसोर्टमा तय गरिएको लन्च बैठक र बाटोभरिका जयजयकार कार्यक्रम अकस्मातका कार्यक्रम थिएनन् पूर्व निर्धारित कार्यक्रम थिए जसका निम्ति नै ज्ञानेन्द्रले सडकयात्रा रोजेका थिए । अनि पोखरा पुगेर उनले पाँच दिनका निम्ति ५ लाख रुपियाँ तिरेर फिस्टेल लज एण्ड रिसोर्टका सातवटा कोठा बुक गरे ।
एमाओवादीले उचालेको जातीयताको नाराले नेपाली समाजमा रोपिएको विभाजनको बीऊ झाँगिदै गएको छ । र पछिल्ला बर्षमा त त्यसका डरलाग्दा असर र प्रभाव देखिन थालिसकेका छन् । संविधानसभा नरहेपछि विभिन्न जातीय समुदायको आकांक्षा प्रकट हुने थलो भेटिएको छैन । र जातीय लगायतका आकांक्षालाई उचाल्न विभिन्न शक्ति र समूहहरु सकि्रय हुँदै आएका छन् । पूर्व राजावादीहरु समाजमा देखापरेका यसखाले थुप्रै किसिमका अन्तरविरोधहरुलाई एकमुष्ठ रुपमा धार्मिक आवरण दिन खोजिरहेका छन् । मुलुक धर्मनिरपेक्ष घोषणा भएपछि देशभित्रका बहुसंख्यक हिन्दुहरु सन्तुष्ट छैनन् र तिनको असन्तुष्टिलाई भजाउने प्रयास पूर्व राजावादीहरुले नै गरिरहेका छन् । पछिल्लो समय विभिन्न जातीय समुदायभित्र समेत धार्मिक संवेदनालाई घुसाउन थालिएको छ । धर्मका नाममा मुलुक विभाजित भयो धार्मिक कलह निम्तियो र त्यसमा खेल्न पाइयो भने आफ्नो गुमेको विरासत फिर्ता गर्न सकिन्छ भन्ने अति महत्वाकांक्षा पूर्वराजा ज्ञानेन्द्रको हुनसक्छ । र उनको पछिल्लो धार्मिक सकि्रयता त्यही मनोविज्ञानबाट निर्देशित देखिन्छ । तर जातीयताको आगोले लपेटिसकेको नेपाली समाजमा धार्मिक आगो सल्काउँदा मुलुक र आफू स्वयम् पनि बाँकी नरहने हेक्का उनलाई भएको देखिन्न ।
यसखाले सपना र अतिवादी अभीष्ट बोकेर हिडेका ज्ञानेन्द्रलाई अनावश्यक चर्चा दिलाउने र उनको अभीष्टमा मलजल थप्ने काम सरकारको नेतृत्वमा रहेको एमाओवादीले गरिरहेको छ । पूर्वराजा ज्ञानेन्द्रको पश्चिमान्चल भ्रमणलाई अनावश्यक महत्व िदंदै एमाओवादीका पर्वत लगायतका जिल्ला कमिटीहरुले भ्रमण कार्यक्रम विथोल्ने घोषणा गरे । त्यस अनुसार केही जिल्लामा विरोध प्रदर्शन गरिए जसमा अन्य पार्टीको समेत उपस्थिति देखियो । तर एमाओवादीका नेता र कार्यकर्ताका यसखाले हर्कतले धर्मका आडमा राजनीति गर्न खोजिरहेका ज्ञानेन्द्रलाई नै उल्टै सहानुभूति दिलाउने काम गरेका छन् । त्यसको एक हदसम्मको संकेत सामाजिक सन्जालहरुमा प्रकट भइरहेको छ । के एमाओवादीले पूर्वराजा ज्ञानेन्द्रकै अभियानमा सहयोग पुर्याउन विरोधका यसखाले कार्यक्रम घोषणा गरेको हो त्यसको उद्धेश्य जेसुकै भएपनि यसमा दुवैको स्वार्थ मिलेको देखिएको छ जुन नेपाली राजनीतिको यो मोडको संयोगमात्रै नहुनसक्छ ।