टिप्पणीशुक्रबार, साउन २, २०७१

नेपालको पहिलो सिपाही विद्रोह

ज्ञानमणि नेपाल

करीब तीन दशकअघि त्रिभुवन विश्वविद्यालय (त्रिवि) का एक जना पीएचडी उप–प्राध्यापकले ‘नेपालमा पनि सिपाही विद्रोह भएको ऐतिहासिक प्रमाण फेला पारें, तपाईंलाई यो कुरा थाहा छ त?’ भनेर सोध्दा म आश्चर्यचकित भएको थिएँ। कहाँबाट पाइयो त यस्तो अमूल्य प्रमाण भनी सोध्दा उनले ‘यहीं अभिलेखालयमा पाएको तर, त्यो बेलायतबाटै आएको हुनुपर्ने’ अड्कल काटे।

यस्तो विदेशमुखी भावना अघिदेखि नै व्याप्त भएकोले मैले २०१२ सालमा ‘विदेशतिर हेरी स्वदेश देखिंदैन’ भन्ने लेख प्रकाशित गरेको थिएँ। त्यसको तीन दशकपछि त्रिविको एक गोष्ठीमा त्यस्तै कार्यपत्र प्रस्तुत गर्दा इतिहासका अर्का ‘डाक्टर’ ले नेपालका प्रमाणले इतिहास प्रमाणित हुँदैन, बेलायतकै प्रमाण चाहिन्छ भनेर टिप्पणी गरेका थिए। यस्तो सोचाइ अहिले पनि यथावत् छ। यस्ता प्रा.डा.हरूले कीर्तिपुरमा कस्तो इतिहास पढाउँदा हुन्!

सिपाही विद्रोहको कुरो देशी–विदेशी विद्वान्हरूले नेपालको इतिहास लेख्न थालेकै वेलादेखि सार्वजनिक गरेका हुन्। नेपाली भाषा वंशावलीमा पनि यसको वर्णन छ। सामान्य विद्यार्थी–पाठकले यो कुरा जानेका छन्। मैले ‘नेपालको महाभारत’ को ‘सन्तानब्बे साल पर्व’ खण्डमा सिपाही विद्रोहको सप्रमाण सविस्तार वर्णन गरेको छु।

विद्रोहको कारण

भीमसेन थापाको अभ्युदय हत्या–हिंसाबाट भएको थियो। उनी सत्तारूढ भएपछि पनि ९३ जना स्त्री–पुरुषको बीभत्स हत्या भयो। भीमसेन थापा शासनको विरोधमा माझ्किरातमा विद्रोह गर्ने १९ जना मारिए। मुडिने–मासिने र सर्वस्व हुनेको संख्या धेरै थियो। यसरी ३४ वर्षसम्म भीमसेनको एकछत्र शासन टिक्यो। राजा साबालक भएपछि सम्वत् १८९४ मा भीमसेनको पतन भयो। त्यसपछि रणजङ्ग पाँडे, रङ्गनाथ पौडेलहरूको उदय भयो। अंग्रेज विरुद्ध ठूलो लहर चलाएका रणजङ्गले सुगौली सन्धिमा गुमेको जमीन फिर्ता ल्याउने हावा पनि चलाए।

भीमसेनले पनि चिनियाँ सहायतामा गुमेको जमीन फिर्ता ल्याउन जीवनभर प्रयत्न गरे, तर केही लागेन। नवोदित शासकहरू त्यही यत्नमा लागेका थिए, परन्तु युद्धमा चाहिने जनबल र धनबल थिएन। त्यसवेला राज्यको आयस्रोत भनेकै मालपोत मुख्य थियो। रणबहादुर शाह र भीमसेनको समयमा राज्यको ढुकुटी बढाउन विर्ता, गुठी, किपट आदि जग्गा हरण गरी रैकर (रैबन्दी) बनाइएको थियो। अबका शासकहरूले पनि सिपाहीले जागीरको रूपमा खाएको जमीनमा आँखा लाउँदै रैबन्दी गरेर सिपाहीलाई नगद तलब दिएर सरकारी आम्दानी बढाउने योजना बनाएकोले वार्षिक पजनी समेत नगरेको बुझेपछि आठ हजार सिपाही विद्रोहमा उत्रिए।

विद्रोही सिपाहीहरूले १८९७ असारमा टुँडिखेलको बाटो हिंडेका रेजिडेन्टका सिपाहीहरूलाई बन्दूकको कुन्दैकुन्दाले ठटाएर घाइते पारे। रातमा झ्मझ्म पानी पर्न लाग्दा विद्रोही सिपाहीहरू अंग्रेजको कोठी लुटेर रेजिडेन्टलाई खेद्ने, मार्ने भनेर उठे। तर, रेजिडेन्ट भागिसकेकाले उनीहरू फर्केर नारायणहिटीमा चौतरिया पुष्कर शाहको घरमा पसे। त्यहाँ कोठा–चोटा चहारेर सारा मालसामान बर्बाद बनाए। त्यसपछि इन्द्रचोकको रङ्गनाथ गुरुज्यूको घरमा पुगेर ‘तिम्रा रैबन्दी गर्ने पुस्तक, पात्रा यिनै हुन्’ भन्दै बाहिर नालामा बगाइदिए। रणजङ्ग पाँडे, कुलराज पाँडे, कुलवीर पाँडे, प्रसादसिंह बस्नेत लगायतका घरमा पनि उधुम मच्चाए। भारदारहरूले भागेर ज्यान जोगाए। राजा राजेन्द्रले आफैं गएर ‘साविक जागीर–जगा थामिनेछ, तिमीहरूको थमौती भयो’ भनेपछि मात्र त्यो विद्रोह शान्त भयो।

यस सम्बन्धमा नेपालको परराष्ट्र मामिला हेर्ने मुन्सी र अंग्रेज रेजिडेन्टबीचको संवादः

टुंडिखेलमा सैनिकको हडताल र रजिडंटको सिपाहीलाई कुटेको
सम्बत १८९७ साल मिति आषाढ वदि ६
रोज १ का दीन यसै दीन सबै पल्टनका
सिपाहीले हाम्रो यक बन्दोबस्त नगरी
हामी बन्दुक उठाउने छैनौ भनी टुंडीखेलमा
बंदुक सुताई बसी रहयाको
कप्तान करवीर षत्री मुन्सी लक्ष्मीदासले भनेको
– यसै दिन सबै पल्टनका सीपाहीले आषाडको महीना भयो र पनि हामी सीपाहीको थमौती हुदैन पजनी पनि हुँदैन हाम्रा बन्दोबस्त नगरी हामी बंदुक उठाउने छैनौ भनी टुंडीखेलमा बंदुक सुताई बसी रहयाका थीया, उसै वेलामा रजिडंट साहेवका सिपाहीहरू ४।५ जना टुडिखेलका बाटो जान खोज्दा यहाँबाट जानको अैले उर्दी छैन भनि चप्रासीले मनाही गर्दा साहेवका सीपाही येक जनाले हाम्रो मुलुकमा छेकन्या त को होस् भन्दा सिपाहीहरूले सुन्याछन् र जाइलाग्दा भयेछन् र हाम्रा सिपाहीले साहेवका सीपाहीलाई म्यानैसमेत तलबारले हान्दा थोरो काटीयेछ भन्या षबर यांहा बीन्ती गर्न आया, अैले तिनीलाई जाई सबै कुराको विस्तार गरी आउ, सीपाहीको घाउ पनि हेरीआउनु भनि मुन्सी लक्ष्मीदासलाई श्री ५ सर्कारबाट हुकुम हुँदा साह्रै पानी पर्‍याको थीयो र करवीर षत्री मुन्सी लक्ष्मीदास पाउ प्यादा रजिडन्सि कोठीमा नै हुकुम भया बमोजीमको विस्तार गर्दा– १

रजिडंट हाजसन साहेबले बोलेको
सीपाही उस्तो पुराना होइन, नयां सीपाही नादान रहेछ, आठ हज्जार एकठ्ठा मै हंगामा गर्न लाग्याका ठाउंमा क्यान गयो तेसलाई मारी दीयाको भया पनि, आज टुंडीखेलमा हवा खान जान सकीन– २
कप्तान
हजुरबाट तेस्को बिस्तार सुन्नुपर्छ भनि हुकुम भयो– ३
रजि.
रुबकारीको नकल तिनीहरू छेउ पठाइ दिउला तर यस कुराको नालीस् भन्या म हजुरमा गर्‍र्याछैन, याहांका सीपाहीको ठूलो तारीफ छ, भारदारहरू कोही छैन, यस्तो हुकुम वरदान (! ) सीपाहीको ठूलो तारीफ छ, धेरै वर्षभयो, हामीहरू आई याहां बसेको कैल्हे हाम्रा सीपाहीसंग तक्रार गर्‍यानन् यो कुरा बहुतै ताजुबको कुरा पर्न आयाको छ, महाराज साहेव बहुत अकल्मन्द दाना (दार) हुनुहुन्छ, सिपाहीहरूलाई राजी राखन्या बंदोबस्त गर्‍या बढीया होला भन्या कुरा मेरातर्फबाट अरज गरी दिनु भन्या कुरा बडा साहेबले भंदा– ४
कप्तान र मुन्शी
बढिया भनि रुषसत भै घा लाग्याका सीपाहीलाई हेर्न जांदा अंगुल २ लामो नीधार काटीयाको रहेछ। उस्तो भीत्र पसेको रहेनछ, बाटामा आउन्या मानीसहरूले र टुंडीषेलवासीहरूले काजी प्रसादसीं बश्न्यातको घर १ बैठा गुरुज्यूको घर १ कप्तान कुलराज पांडेको घर १ मा थाम काटी झ्याल फोडी लप्या बाटामा जो फेला पर्छ उस्लाई कुटी उस्को लुगा चाटी (च्याती) चीराक बनाउछ भन्या खबर दींदा कप्तान मुन्सी चुपचाप बाती मारी सरासर आई हजुरमा साहेवले वीन्ती गरी पठायाको वीस्तार अरज गर्‍या– ५
—————

मुन्शी लक्ष्मीदासले रेजडंट हाजसनलाई
सिपाही विद्रोह शान्त भएको सन्देश सुनाएको
सम्वत् १८९७ साल मिति आषाढ बदी १०
रोज ५ का दीन ४।५ घडी बाँकी छंदा
हाजसन साहेबको चपरासी यक् मुन्सी
लक्ष्मीदास छेउ आउदा
चपरासीले भनेको

मुन्सीजि सुषरायले तिमीलाई सलाम् भनेको छ, बडा साहेबले तिमीलाई यक् फेरा डाक्न पठाउनु भनि हुकुम भयेछ र मलाई पठाया भन्या कुरा चपरासीले मुन्सी लक्ष्मीदाससित भन्दा– १
लक्ष्मीदासले भनेको
अैले श्री ५ सर्कार टुंडीखेल पल्टनका कवायत्मा पाउ लाग्नु भयाको छ, सवारी फिरेपछि अरज गरी आउला त अैले जा भनि मुन्सीजीलाई मेरा तर्फबाट सलाम भनि दीनु भन्या कुरा गर्दा बढिया भनि चपरासी गयो, साझका वषतमा सवारी फिर्‍यापछि चपरासी आयाको कुरा मुन्सी लक्ष्मीदासले हजुरमा अरज गर्दा अब केही कुराको हंगामा छैन आज सबै पल्टनलाई ली फिरंगी छाउनीको बाटो गरी बालाज्यु पुगी म आयां साहेबलाई अब केही कुराको खौफ छैन सबै रफा भयो, साहेबले दस्तुर माफीक् हवा षान जानु भनि हुकुम् भयोको छ भनि कप्तान मुन्सी पाउ प्यादा लाई रजिडंसी कोठीमा पुगी पहीले श्री ५ सरर्कारका तर्फबाट षैरहफियत सोधन्या काम गरी काजी रणजङ्गबाट पनि बहुत बहुत सलाम भन्याको छ मीजाज सोधेको छ भन्या कुरा गर्दा– ३
रजिडंट साहेबले भनेको
दरबारमा सबै आनन्द हुनुहुन्छ भनि सोधनि गर्दा– ३
कप्तान मुन्सीले भनेको
सबै आरोग्य साथ हुनुहुन्छ भन्या कुरा गरी हुकुम बमोजीम सीपाहीहरूले हंगामा मौकुफ् भयो साहेबले दस्तुर बमोजीम हवा षान जानु केही सदैह छैन भनि सर्कारबाट हुकुम भयाको छ– ४
रजि
जमानी पैगाम् ल्यायौं सीपाहीहरूलाई पनि उर्दी भयाको भनि साहेबले सोधनी गर्दा– ५
कप्तान
हामीलाई त केही मालुम छैन भनि कप्तान मुन्सीले भन्दा– ६
रजि.
सीपाहीहरूलाई पनि उर्दी हवस् इ कुरा सर्कारबाट लेषी आया बढिया होला लाठसाहेबका बेहोरा चिठी लेषेको छ भन्दा– ७
कप्तान
कप्तान मुन्सी रुखसत मै आई हजुरमा हाजीर भै सबै बीस्तार अर्जि गर्‍या– ८
—————

सिपाहीले आफ्नो आफ्नो तानावाना भिरेर जागीर
कबोल गरिसकेका हुनाले साहेबले डुलफिर गर्नुहुन्छ भन्ने कुरा
सम्वत १८९७ साल मिति आषाढ बदी ११
रोज ६ का दीन याददास्त ली कप्तान
मुन्सी रजिडंसीमा गयाको
कप्तान मुन्सीबाट भनेको

काजी रणजङ्ग पांडेले छाप लाई दियाको याददास्त पनि साहेबछेउ पुर्‍याइ दिनु आज गौरखकंपनिले बन्दुक सुताई राख्याछन् भन्या कुरा साहेबछेउ पुरायाको होला साहेबका मन्मा हंगामा मौकुफ् भयाको छैन भन्या पर्न जाला ति पल्टनका सिपाहीमा कोही जागीर कवल गरीकन दर्सन गर्‍याका छन् कोही दर्माहा कबुल गरी दर्सन गर्‍याछन्, अब दर्माहामा कबुल गर्‍या पनि जागीर खोजन लाग्दा जस्तो कबुललाई दि तिमिहरूलाई दर्सन् गरायाको हो सोही बमोजीम् मिल्ला वाहादेषि सीवाये मिल्या छैन चीत्त बुझ्दैन भन्या नाल छोडी जाउ भन्या साफ हुकुम दीयाको छ केही हंगामा छैन भन्या खबर हाजसन साहेबलाई दिनु भन्या कप्तान करवीर षत्री मुन्सी लक्ष्मीदासलाई हुकुम हुँदा श्रीकाजीका तर्फको याददास्त लि घोडामा सवार भै रजिडंसी कोठीमा पुगी हाजसन साहेबसंग मुलाकात गरी पहीले श्री ५ सर्कारका तर्फबाट खैरअफियत सोधन्या र दीवान्बाट बहुतबहुत सलाम भन्याको मिजाज सोध्याको छ भन्या कुरा गर्दा– १
रजि.
दरबारमा सबै आनन्द हुनुहुन्छ भनि सोधनी गर्दा– २
कप्तान
सबै अब आरोग्यसाथ हुनुहुन्छ भन्या कुरा गरी श्रीदीवान् साहेबका तर्फबाटको याददास्त पढि सुनाइ यी कप्तान मुन्सी रुखसत भै आई हजुरमा हाजीर भै सबै विस्तार अरज गर्‍या– ३
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍॒॒॒————

सम्वत १८९७ साल मिति आषाढ वदी ११
रोज ६ का दीन श्रीकाजी रणजङ्ग पाडेका
तर्फबाट श्रीरजिडंट हाजसन साहेबका
निमित्तको याददास्त

उप्रान्त हिजो श्री ५ सर्कारका हुकुमबमोजिम सीपाहीहरूको हंगामा मौकुफ भयो बडा साहेब दस्तुर बमोजिम हवा षानलाई निकलुन् केही कुराको षौफ तकरार छैन भन्या पैगाम कप्तान करवीर षत्री मुन्सी लक्ष्मीदासका जवानी जादा र तिमिहरूले हुकुम् भयाको छ भनि ल्यायाका कुराको हजुरबाट लेखीयर आवस पल्टनका सीपाहीहरूलाई पनि उर्दि मीलोस् भन्या कुरा कप्तान् मुन्सीहरूले बिन्ती गरी पठायाको सबै विस्तार हजुरमा विन्ती गर्दा श्री ५ सर्कारबाट आज मलाई सबै पल्टन कंपनि गैह्रमा बडासाहेब औ बडासाहेवका सिपाही मानिसहरूसँग केही कुराको तकरार नगर्नु भन्या उर्दी दीनु भन्या हुकुम भयो र उर्दी दीन्या काम भयो, अब साहेबहरूले दस्तुर माफिक हवा खान र सैर गर्नलाई निकलनु केही कुराको खौफ संका छैन शुभम्।

(मुन्शीखाना, पोका नं. १४ बाट)

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>