ब्लगशुक्रबार, साउन २, २०७१

आत्मघाती घरको शहर

मिलन बगाले

काठमाडौंको लगन, ब्रह्मटोलको एउटा पुरानो घर भत्काउँदा काइदा नमिलेर आफैं भत्कँदा पोतबहादुर पाण्डे, विष्णु भण्डारी, भूपाल मगर र गणेश बिकले पुरिएर ज्यान गुमाउनुपर्‍यो। घर भत्काउँदा छानाबाट शुरू गरेर जगसम्म पुग्ने हो। भत्काउँदा निस्केको माटो, ईंटा, टायल लगायतका सामग्रीलाई भुइँतल्लातिरै फाल्नुपर्थ्यो, तर त्यो नहुँदा दुर्घटना भयो।

यो घटनाले मलाई चार वर्षअघि ‘शहरी सांस्कृतिक सम्पदाहरूको विपत् जोखिम व्यवस्थापन’ सम्बन्धी अध्ययनको क्रममा जापानको क्योटोबाट आएका भिजिटिङ प्रोफेसर रोहित जिज्ञासुसँग पाटनको झटापोल पुग्दाको सन्दर्भ सम्झायो। त्यसवेला एउटा ज्यादै पुरानो घरबारे जिज्ञासा राख्दा ७० वर्षीया घरबेटी जुलुम श्रेष्ठले ‘९० सालको भुईंचालोमा कत्ति पनि नभत्केको टोलभरिमै यही घर भएको र अबको सय वर्ष केही नहुने’ बताइन् ‘। जबकि, घरको लच्केको गारोमाथि छानो खस्न ठिक्क परेको देखिन्थ्यो। “भूकम्पले खाएको भए, त्यतिवेलै नयाँ घर बन्थ्यो”, वृद्धाको कुरा सुनेपछि जापानी प्राध्यापकले भनेका थिए, “जगदेखि छानासम्म खल्बलिएको घरले भरेभोलि आउने थर्कन खेप्न सक्दैन।”

त्यसपछि उनले मेरो कानैनेर मुख ल्याएर मजाक गरेका थिए, “लौ, नेपालीहरू त जिउँदै चिहानभित्र पो रमाएर बसेका रहेछन्!”

चिहान होइन सम्पदा

नब्बे सालको थर्कन थेगेका र रेट्रोफिटिङ (सुदृढीकरण) को उपचार नपाएका घर काठमाडौं उपत्यकामा कति होलान्? सर्भे गरेर निकालिएको तथ्यांक पाइन्न। अखबार मार्फत आएको काठमाडौं महानगरपालिकाको तथ्यांकले भने, दुई लाख ५४ हजार रहेको बताउँछ। तीमध्ये ७० हजार पुराना घर ठूलो जोखिममा छन् र असन त झ्न् खतरामा छ। काठमाडौं महानगरको २२, २४, २५, २६, २७ र ३० वडाका पुराना वस्ती सबैले देखेकै छौं।

यो परिदृश्यले के भनिरहेको छ भने, पुराना वस्तीहरूमा जोखिम घटाउन घरको रेट्रोफिटिङबारे परामर्श दिने, कमजोर आर्थिक अवस्थाका घरधनीलाई ऋण, सापटी या अनुदान जे दिएर भए पनि रेट्रोफिटिङ गराउने प्रबन्ध मिलाउने काममा सम्बन्धित निकायले अब पटक्कै ढिलो गर्नु हुन्न। अरू नगर र गाविसहरूमा पनि यही नियम लागू हुन्छ। सभासद्हरूले पनि ‘ज्यूँदै चिहानमा रमाइरहेका’ आफ्ना मतदातालाई यो अवस्थाबाट मुक्तिको पहल लिनुपर्छ।

टोनी हागनले ‘नेपालको चिनारी’ मा लेखेका छन्– “सन् १९६१ मा भएको महारानी एलिजावेथको औपचारिक नेपाल भ्रमण त्यस्तो घटना थियो, जसले उपत्यकाको वास्तुकला र सांस्कृतिक मर्म नाश गर्ने प्रक्रियाको थालनी गर्‍यो। त्यसवेला शहर सुन्दर पार्ने बहुलट्ठी योजना अन्तर्गत पुराना घरहरू भत्काएर खर्चिला कङ्क्रिट संरचनाहरू ठड्याइए।”

शहर सुन्दर पार्न सम्पदा भत्काउने काम बहुलट्ठीपूर्ण नै हुन्छ। अहिले त भत्काउने ढंग नपुगेर पनि महानगरमा काल निम्तिन थालेको छ। प्राचीन सभ्यता बोकेका बस्तीमा पुराना घर जोगाउने कामलाई प्रोत्साहन दिने हो भने नगरवासीले पुर्खाको नासो भत्काएर कंक्रिट उमार्ने मूर्खता गर्ने थिएनन्। बरु, पुरानो घरमा नयाँ जमानाको जीवनशैली भित्र्याउने आन्तरिक सजावटतिर लाग्नेथिए।

नसा छिनाइएको शहर

राजधानीको सडक विस्तार अभियान देखेर मक्ख पर्ने धेरै छन्। तर, भोलि भुइँचालो आउँदा डोजरले हानेका, पिलर र बिम काटिएका घरहरू आज राम्रा देखिएका सडकमा थुप्रिनेछन्। सडक विस्तार गरेको कि चिहान विस्तार? भन्ने प्रश्नमा भोलिको भुइँचालोले असाध्यै निर्मम जवाफ दिने अवस्था छ।

सडकले तासेपछि प्लाष्टर र रंगरोगन गरेर राम्रा देखिएका घरहरूका आत्मा नराम्ररी खल्बलिएको छ। तिनलाई बलियो बनाउन काठमाडौं उपत्यका विकास प्राधिकरण र महानगरपालिकाले सिकाएको, सघाएको खबर सुनिएको छैन। ‘कोही सिकाइदे, सघाइदे भन्न आएनन्’ भनेर पन्छन पाउँदैन– राज्य। राज्यले हेरेन भन्दैमा आफूलाई धरापमा राखिराख्नु पनि हुँदैन। आफैं पनि उपचार खोज्नेहरूलाई सघाउने भूकम्प प्रविधि राष्ट्रिय समाज― नेपाल (एनसेट–नेपाल) भन्ने संस्था छ। एनसेटको क्लिनिकमा पुरानो घरको विसन्चो जँचाएर सन्चो पार्ने उपाय मात्र हैन, नयाँ घर बलियो बनाउने विधि पनि पाइन्छ, सित्तैंमा।

सांस्कृतिक शहर काठमाडौंमा पुरानो वैभव बाँच्ने गरी काम हुनुपर्छ। सरकारी योजनाका निर्माण मात्र होइन, निजी स्तरमा नयाँ घर बनाउँदा पनि ‘फिनिसिङ’ को पछि मात्रै नकुदौं। सुन्दर र सुरक्षित नवनिर्माणमा पुरानो वैभवलाई बचाउनेहरूको जय होस्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>